संचारमाध्यममा पत्रकार महिलाको अवस्था



नेपाली पत्रकारिताको इतिहासमा पहिलो महिला पत्रकारको रुपमा स्व.साधना प्रधान र महिला सम्पादक कुमारी कामाक्ष्यादेबी रहनुभएको देखिन्छ । उहाँहरुले महिला नामक मासिक पत्रिका बि.स.२००८ सालमा प्रकाशन गर्नुभएको थियो ।

पत्रकार महासंघमा महिला नेतृत्व

विस २०१२ सालमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा पत्रकार संघ स्थापना भयो र २०१९ साल असोजमा पशुपतिदेव पाण्डेको सभापतित्वमा गठीत सात सदस्यीय कार्यसमितिमा शशिकला शर्मा पहिलो महिला सदस्य बन्नुभयो । त्यसपछि लामो समय महिला सदस्य बनेको देखिन्न ।

एकैपटक २०४३ सालमा मणिराज उपाध्यायको सभापतित्वमा गठित कार्यकारी समितिमा चन्द्रकला आँचल’ महिला सदस्य मनोनित गरिनुले नेतृत्व तहमा महिलाको स्थान निकै दुर्लभ पाईन्छ । त्यस्तो अवस्थामा पनि पत्रकार आँचलले पत्रकारको हितका लागि पत्रकार कल्याण कोष स्थापना गरि १० हजार १० रुपैयाँ योगदान गर्नुभएको देखिन्छ ।
पत्रकारिताको इतिहासमा महिला पत्रकारलाई फाट्फुट रुपमा महासंघमा मनोनित गरिने क्रम २०४६ मा गठित १५ सदस्यीय कार्यसमितिमा पनि एकजना प्रेमकुमारी पन्त तेस्रो महिला पत्रकारका रुपमा मनोनित भएको र हरिकला अधिकारी सदस्यमा निर्वाचित हुनुभएको देखिन्छ ।

त्यस्तै २०४९ मा २१ सदस्यीय कार्यकारी समितिमा महिला पत्रकारलाई स्थान नै दिईएन । २०५२ मा हरिहर विरहीको सभापतित्वमा राधा बुढाथोकी उपसभपातिमा निर्वाचित हुनुभयो । १८ सदस्यीय सोही कार्यसमितिले महिला पत्रकार बबिता बस्नेत र जसुदा प्रधानसमेतलाई योजना तथा कार्यक्रम समितिमा मनोनयन गरेको पाइन्छ ।

नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारहरुको संख्या १३ हजार ७७ मध्ये १० हजार ६ सय ६९ पुरुष र २ हजार ४ सय ८ जना महिला पत्रकार भएको पाइन्छ । तर महासंघको सदस्यता नलिएका पत्रकारहरु पनि थुप्रै संख्यामा हुनुहुन्छ र महिला पत्रकार ४ हजारको हाराहारीमा भएको आकलन गरिएकोछ । यसमा पनि सदस्यता सुद्धिकरणका नाममा धेरै कृयाशिल पत्रकारहरु कटौति हुने क्रममा महिला पत्रकार धेरै रहेका छन् ।

अन्तमा महिला पत्रकार पुरुष पत्रकारको दाँजोमा स्रोतमा पुग्न कठीन हुने, घर व्यवहारको जिम्मेवारी र पत्रकारिता पेसाको जिम्मेवारी दुबै सँगसँगै गर्नुपर्ने र साँझ विहान पुरुष सरह खुल्ला भएर समाचारको खोजीमा स्रोतसँग समय बिताउँने, चिया, कफी खाने र आन्तरिक बिषयमा गहिराईमा पुग्न कठीनछ । यसका बाबजुद् पत्रकार महिलालाई सूचना दिन हिचकिचाउँने परम्परा अझै कायमै छ । सूचना दिने निकायले पुरुष पत्रकारलाई एकछिन भेटेरै चिया, कफी खाँदै कुरा गरौं न भन्दा सबै पत्रकार महिलाले भेट्न बोलाएको ठाउँमा जानसक्ने अवस्था नहुन पनि सक्ने चुनौति उत्तिकै छ ।

समग्रमा सूचनाको पँहुच पत्रकार महिलामा भन्दा पुरुषमा बढी हुनु सामाजिक, आर्थिक र कानूनी व्यवधान पनि हुन् । कतिपय अवस्थामा पत्रकार महिलाले बच्चा जन्माउँदा पाउँने बिदामा समेत समस्या हुने र पेशा छोड्नुपर्ने बाध्यता छन् यस्ता बिषयमा महासंघले सहजीकरणका लागि पहल गर्नुपर्ने देखिन्छ ।

राधा बुढाथोकीकै नेतृत्वमा धनकुटामा महिला पत्रकारको तालिम सञ्चालन गरियो भने नेपाल पत्रकार संघको इतिहासमा पहिलोपल्ट महिला सम्मेलन गर्नु महिला पत्रकारका लागि निकै ठूलो र महत्वपूर्ण थियो । यसरीनै विसं. २०५४ सालमा किशोर नेपालको सभापतित्वमा गठित समितिमा दुई महिला पत्रकार जसुदा प्रधान र शोभा गौतम मनोनित हुनुभयो । त्यतिबेलै अमृता बास्कोटा, रमिता लामालाई आचार संहिता अनुगमन र भोजन उपसमितिका सदस्यमा मनोनयन गरेको थियो ।

विसं २०५६ मा सुरेश आचार्यको नेतृत्वमा चयन भएको कार्यसमितिमा महिला पत्रकार रमा सिंहलाई मनोनित गरियो । २०५९ सालमा तारानाथ दाहालको कार्यसमितिमा महिला पत्रकार निर्मला शर्मा खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित हुनुभयो । शर्माको पालानमा महिला समिति बनाउने परम्पराको थालनी भयो ।

जसमा निर्मला आचार्य, यशोदा तिम्सिना, गंगा बराल, कोमल वली, शुभेक्षा विन्दु, हरिकला अधिकारी, तारा रावल, अनुराधा पौडेल लगायतलाई समितिमा मनोनयन गरियो । दोश्रो महिला पत्रकार सम्मेलन पनि गर्यो । समितिमा विद्युतीय सञ्चार माध्ययम प्रवर्द्धन तर्फ रमा सिंह र स्थानीय पत्रकारिता प्रवर्द्धन उपसमितिमा पार्वती श्रेष्ठलाई मनोनयन ग¥यो । त्यसैगरि विसं. २०६२ दुर्गा कार्की २०६५ मा महिला आरक्षणबाट यशोदा तिम्सिना निर्वाचित हुनुभयो भने गौरी कठायत मनोनित हुनुभयो ।

पत्रकार महासंघमा महिला सदस्य कोटाबाट आएपछि ३ जना महिला पत्रकारका लागि आरक्षण लगायतका समावेशी अभियानले पूर्णता पाएको देखिन्छ । यसकै प्रतिफल विसं. २०६८ सालमा कार्यसमितिमा खुल्ला प्रतिस्पर्धाबाट महिला पत्रकार यशोदा तिम्सिना उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । दुर्गा भण्डारी, संगीता खड्का, शान्ता बस्नेतलगायत महिला कोटामा महिला पत्रकार सदस्यहरु निर्वाचित हुनुभयो । दलित कोटाबाट निशा विश्वकर्मा निर्वाचित हुनुभयो र महिला पत्रकारहरुको निर्वाचित संख्या ५ पुग्यो । यो कार्य समिति नेपाल पत्रकार महासंघमा महिला पत्रकारहरु उल्लेख्य संख्यामा निर्वाचित भएको पहिलो थियो भने महिला कोटाको शुरुवात पनि यतिबेलैबाट भएको हो ।

२०७१ सालमा यहि क्रमअनुसार उपाध्यक्षमा अनिता विन्दु निर्वाचित हुनुभयो भने महिला सचिवमा संगीता खड्का, महिला कोटामा पवन वर्षा शाह, सरिता ढकाल तथा निलिफा सुब्बा निर्वाचित हुनुभयोे । त्यस्तै पहिलोपल्ट लेखा समितिमा रञ्जना पौडेल निर्वाचित हुनुभयो । खुल्ला प्रतिस्पर्धाबाट सुस्मा पौडेल निर्वाचत हुनुभयो र समितिमा महिला पत्रकारको संख्या ६ पुग्यो ।

अहिले हरेक जिल्ला र प्रदेशमा अनिवार्य महिला उपाध्यक्ष र महिला सदस्यहरुको प्रावधान राखेकोछ । अब बन्ने हरेक समिति नीतिगत रुपमै सम्बोधन भएकाले महिला पत्रकारको स्थान थप सुरक्षित भएको महसुस गर्न सकिन्छ ।समग्रमा नेपाल पत्रकार महासंघको गरिमामय इतिहासका शुरुवाती दिनहरुमा महिला पत्रकारहरुको उपस्थिति झिनो भएता पनि विगतको तुलनामा अहिले महिला पत्रकारको उपस्थितिमा सुधार आएकोछ । अझै सुधार गरि हरेक क्षेत्रमा महिलाको भूमिका समान बनाउँने तर्फ नीतिगत रुपमै अघि बढ्नुपर्ने चुनौति कायमैछ ।

महिला पत्रकारका हित र व्यवसायिक सुरक्षा आदिका लागि पत्रकार महासंघमा आकर्षण बढेको छ भन्ने उदाहरणका रुपमा यस्ता कार्यक्रमले पनि प्रष्ट पार्छ । अझैपनि महिला पत्रकारको नेतृत्वमा राज्यले दिएको ३३ प्रतिशतको अनिवार्य उपस्थितिलाई नेपाल पत्रकार महासंघले आत्मसात गर्न सकेको छैन भन्दा अतियुक्ति नहोला । महासंघको कुल नेतृत्वमा महिला पत्रकारकारको नेतृत्व १२ प्रतिशत रहनुले खासै उदार हुन नसकेको प्रमाणित हुन्छ । आशा गरौं भोलीका दिनमा विधान संशोधन गरि केन्द्र तहमानै अनिवार्य महिला उपाध्यक्ष लगायत दलित, आदिवासी जनजाति तथा मधेसी एवं सीमान्तकृत वर्ग समुदायका महिलासमेतलाई समेट्ने छ ।

नेपालमा महिला पत्रकारहरुको आधिकारीक संस्था संचारिका समूहमा हाल बिमला तुम्खेवाको अध्यक्षतामा सातै प्रदेशमा गरि १ हजार ५ सय को हाराहारीमा सदस्य आवद्ध छन् । डब्लु लब्लु जे मा पनि पत्रकार महिलाहरुको आवद्धता त्यतिकै छ ।नेपाल सरकारले पहिलोपट न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पत्रकार महिला संगिता खड्कालाई अध्यक्ष नियुक्त गरेकोछ । सरकारको ध्यान यस्ता निकायमा पुग्छ र पुग्नुपर्छ भन्ने आशा यस्ता कार्यले जगाएकैछ । संंचार माध्यमको अनुगमन गर्ने निकाय नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पनि पत्रकार महिलालाई स्थान दिनुपर्छ । त्यस्तै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पनि पत्रकार महिलालाई अध्यक्ष स्वीकार्ने अवस्था सृजना हुनुपर्छ । परिवर्तन अरुबाट होईन आफैबाट खोजौ भन्ने सिद्धान्तलाई पत्रकार स्वयमले अपनाउँनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्