कामना प्रकाशनसँग केही सम्झना–बिर्सना



२०५२ सालबाट पत्रकारिता आरम्भ गरेको एक वर्ष नबित्दै संयोगबस् म तत्कालीन आजको समाचारपत्र दैनिकमा जोडिन पुगेँ । नेपालभरि बजार विस्तारका क्रममा आजको समाचारपत्रका तत्कालीन महाप्रवन्धक विष्णुविक्रम गोंगजु र लेखा प्रमुख सरोज श्रेष्ठ उदयपुर जानुभएको थियो । त्यसबेला समाचारपत्रका तत्कालीन जिल्ला संवाददाता निष्क्रिय बसेका कारण मलाई जिल्लाबाट प्रतिनिधित्व गर्न अनुरोध गर्नुभयो ।

उदयपुरको गाईघाटबाट आजको समाचारपत्रमा जोडिने क्रममा म विकास पत्रकारितामा बढी सक्रिय थिएँ । नेपाल प्रेस इन्स्टिच्युटअन्तर्गतको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटगरबाट विभिन्न आवधिक प्रशिक्षण लिई पत्रकारितामा सक्रिय भइरहेको थिएँ । यसै क्रममा २०५४ सालमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र र युनिसेफ नेपालको संयोजकत्वमा सुरक्षित मातृत्व र पोलियो खोपका दुई फेलोसिपहरूमा म छनौट भएको । पूर्वाञ्चलका १९ जना पत्रकारहरूले पोलियो थोपाका विषयमा आम नागरिकहरूमाझ सचेतना अभिवृद्धिदेखि लिएर त्यसबारे आमनागरिकमा रहेको जानकारीका विषयमा रिर्पोटिङ गर्नुपर्ने थियो ।

उक्त फेलोसिपमा छानिएका मध्येबाट म र धरानका पत्रकार राजकुमार दिक्पालको ९६.५-९६.५ अंक आई दुवैलाई प्रथम पुरस्कार बाँडेर दिने निर्णय नेपाल प्रेस काउन्सिलले गरेको थियो । संयोगबस्, कामना प्रकाशन समूहका संस्थापक एवं प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ नेपाल प्रेस इन्स्टिच्युटको कोषाध्यक्षका हैसियतले पुरस्कार वितरण समारोहको प्रमुख अतिथि हुनुहुन्थो । पुरस्कार वितरणपछि बेलुकाको भेटघाटमा समाचारपत्रका तत्कालीन विराटनगर संवाददाता यज्ञ शर्मा र मलाई काठमाडौंमा ‘विकास संवाददाताहरू’को आवश्यकता रहेकाले काठमाडौं आउन अनुरोध गर्नुभयो । आईकमको पढाइ भर्खर सकिएका कारण बीकम पढ्नका लागि मैले विराटनगर या राजविराज जानुपर्ने अवस्था थियो ।

पुष्कर सरको अनुरोध मेरालागि अवसरको ढोकाजस्तो भयो । कामना प्रकाशन समूहअन्तर्गतको कामना पत्रिकामा उपसम्पादकका लागि विज्ञापन खोलियो । त्यसमा म ‘वैकल्पिक उम्मेदवार’का रूपमा छानिएँ । यसलाई मैले भाग्यको खेलका रूपमा लिएको छ, किनकि, यदि म कामनाकै लागि छानिएको भए,फिल्मी पत्रकार (पछि ८ महिना त्यस विधामा पनि रिर्पोटिङ एवं ब्युरो संयोजन पनि गरेँ, त्यो बेग्लै कुरा हो)कै रूपमा कता हराउँथे होला ।

‘कामना’ वैकल्पिक उम्मेदवारका रूपमा नाम निस्केसँगै नेपाल समाचारपत्रका तत्कालीन बिजनेस ब्युरो चिफ विमल नेपालले बिजनेस ब्युरोमा रिपोर्टर चाहिएकाले मलाई राख्न सिफारिस गर्नुभयो भने ‘विकास पत्रकार’मा मेरो प्रोफाइल बनिसकेकाले सम्पादक कपिल काफ्लेले सोही दिनबाटै रिपोर्टिङमा खटाउने व्यवस्था गर्नुभयो । म काठमाडौं आएर ‘बिजनेस रिर्पोटर’का रूपमा सक्रिय हुन थालेको लामो समय नबित्दै ब्युरो प्रमुख विमल नेपाल अमेरिका जानुभयो । बिजनेस ब्युरोमा विदुर लामिछाने र ममात्र रह्यौं । विदुर लामिछाने दाइले पनि नेपाल उद्योग वाणिज्य महासंघ ज्वाइन गर्नु भएपछि २०५६ सालमा बिजनेस ब्युरोको नेतृत्व मेरो जिम्मेवारीमा आइपुग्यो ।

एक्लैले बिजनेस ब्युरो सञ्चालन गर्न गाह्रो हुने र सँगसँगै त्यसबेलाको नम्बर भनिएको अर्को दैनिक पत्रिकाले २ पेज ‘अर्थ–वाणिज्य’ पेज बनाएसँगै आजको समाचारपत्रले पनि सोहीअनुसार पृष्ठ बढाउनुपर्ने भयो । र, यसका लागि थप जनशक्तिका रूपमा विष्णु शितल, रामचन्द्र भट्ट र भीमसेन सापकोटा क्रमसः थपिँदै जानुभयो । डेक्समा, राजु शाक्य दाइले केही समय हेरिदिनु भए पनि उहाँले लामो समयसम्म त्यसलाई निरन्तरता दिनु भएन । पछि राजेश बज्राचार्य दाइले डेक्सको जिम्मेवारी लिनुभयो ।

२०५८ सालमा आजको समाचारपत्रबाट पत्रिकाको नाम परिवर्तन भई ‘नेपाल समाचारपत्र’ बनाइयो । नयाँ लगानीकर्ता भित्रिएसँगै आएका ‘मार्केटिङ म्यानेजर’ले अतिरिक्त सप्लिमेन्टको अवधारणा ल्याएपछि त्यसको संयोजनको दायित्व आइलाग्यो । यसका लागि साथी जयराम सुवेदीको महत्वपूर्ण साथ रह्यो ।

नेपाल समारपत्र नै दैनिक अतिरिक्त विषयका परिशिष्टांक (सात दिन, सात वटै विषय) छुट्ट्याउने पहिलो दैनिकका रूपमा रह्यो । आजको समाचारपत्रको सुरुवातबाटै शनिबासरीय परिशिष्टांक ‘उपहार’ प्रकाशित हुन्थ्यो, पछि ‘बुकलेट’ आकारमा ‘सौगात’ पनि थपियो । केही समयपछि उपहारलाई बन्द गरि सौगातमात्र निकाल्ने निर्णय भएपछि केही समय मैले त्यसको पनि जिम्मेवारी लिएँ ।

पहिलो अन्तर्राष्ट्रिय पुरस्कार

एसियन डिभलमेन्ट बैंक इन्स्टिच्युट (एडीबीआई) जापानले सन् २००४ देखि एसियाभरिकै पत्रकारहरूलाई पुरस्कृत गर्ने गरि ‘डिभलपिङ एसिया जर्नालिजम अवार्ड’को स्थापना गरेको थियो । नेपाल समाचारपत्रमा प्रकाशित ‘खोस्रँदै, गाडी गुडाउँदै’ शीर्षकको फिचर समाचारले मलाई निजी क्षेत्रको भूमिकातर्फको प्रथम पुरस्कार जितायो । पत्रकारिता विधाको यस्तो अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने म नेपालको पहिलो युवा पत्रकारका रूपमा इतिहास बनाउन पाउँदा जतिको गर्व महसुस गर्दछु, उत्ति नै तत्कालीन मेरो कार्यथलो नेपाल समाचारपत्र, प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, सम्पादक कपिल काफ्ले र मेरा तत्कालीन सबै सहकर्मीहरूप्रति आभार पनि व्यक्त गर्दछु ।

सम्पादन स्वतन्त्रता
प्रायःजसो मिडियामा मुख्य लगानीकर्ता सञ्चार क्षेत्रभन्दा बाहिरका हुँदा सम्पादकीय स्वतन्त्रता खोसिएको सुनिने गरिन्छ । नेपाल समाचारपत्रका हकमा त्यो अवस्था थिएन, प्रधान सम्पादक पुष्कर सर आफैं पत्रकार भएका नाताले हरेक समाचार, त्यसमाथि पनि आर्थिक समाचारलाई शिरदेखि पुछारसम्म आफै पढ्नु हुन्थ्यो । अरू लगानीकर्ता थपिएपछिका दुई घटनालाई छाडेर मेरो १३ वर्षको समाचारपत्रसँगको कार्यानुभवमा न कहिल्यै प्रधान सम्पादक पुष्कर सर, न त सम्पादकहरू कपिल सर, बद्री तिवारी सरले कुनै पनि समाचार रोकेको, झिकेको अनुभव गर्नु परेन ।
उच्च विद्यालय-कलेज

जसरी मानिसको जीवनमा प्रारम्भिक शिक्षा (प्राथमिक विद्यालय, निमावि र माध्यमिक विद्यालय)पछि विश्वविद्यालयमा जानुपूर्व हालको व्यवस्थाअनुसारको प्लस टु (उच्च माध्यमिक विद्यालय) वा कलेजहरूमा अध्ययन गर्नुपर्ने हुन्छ, त्यस्तै मेरो लगभग तीन दशकको पत्रकारितामा नेपाल समाचारपत्र वा कामना प्रकाशन समूह ‘प्लस टु कलेज’ सरह हो ।

काठमाडौंमै २०५४ साल फागुन ६ गतेदेखि २०६४ जेष्ठ ३१ गतेसम्म शुरूमा संवाददाता, त्यसपछि उपसम्पादक, सहायक सम्पादक हुँदै वरिष्ठ सहायक सम्पादकसम्म, जिम्मेवारीको हिसाबले रिर्पोर्टरबाट बिजनेस ब्युरोको प्रमुखसम्म कार्यरत रहँदा धेरै कुरा सिक्ने अवसर पाएँ । मानिसको जीवनमा एकैपटक जिम्मेवारी आइलागेपछि उसले त्यसका लागि आफूलाई जसरी पनि ढाल्दो रहेछ । शुरूका केही वर्षसम्म केही अल्लारेपन, अपरिपक्वता भए पनि उमेरसँगै जिम्मेवारीले धेरै कुरा सिकाउने रहेछ । नेपाल समाचारपत्रमा सिकेका ती ज्ञानकै सहायताबाट दुई दैनिक पत्रिकाको सम्पादन नेतृत्वदेखि अनलाइनहरू हुँदै स्वायत्त आर्थिक म्यागजिनको सम्पादन नेतृत्वसमेत गर्दा पछाडि फर्केर हेर्दा कामना प्रकाशन मेरालागि प्लस टु कलेजजस्तै लाग्दछ ।

लेखकीय पहिचान
आजको समाचारपत्रमा तत्कालीन फिचर संयोजक चंकी श्रेष्ठ (अभय श्रेष्ठ)को अनुरोधमा लगभग तीन वर्ष ‘देहातका कुरा’ नामक व्यंग्य स्तम्भ लेखेँ । त्यसले मलाई एकखालको लेखकीय पहिचान दिलाएको थियो नै, पछि अर्थवाणिज्य पेजमा मात्रै प्रकाशित हुँदै आएको मेरो स्तम्भ ‘अर्थचक्र’लाई फिचर पेजमा नै सार्न तत्कालीन फिचर सम्पादक स्व. राजेन्द्र पराजुलीको अनुरोधले थप अर्को योगदान ग¥यो ।

पारिवारिक वातावरण
नेपाल समाचारपत्रमा काम गर्न काठमाडौं आउँदा म जम्मा २१ वर्षको युवा थिएँ । त्यसबेलाका सहकर्मीहरू दिपक रिजाल, लोकेन्द्र अधिकारी, चंकी श्रेष्ठ, प्रकाश अविनास, कृष्णहरि नेपाल, सनेन्द्र श्रेष्ठ, शुभेच्छा बिन्दु, टंक पन्तदेखि पछिपछि थपिएका किशोर सापकोटासहित महानगर टिममा रहेका हुन् वा कामना, साधना टिममा । सबैबिच पारिवारिक सम्बन्धजस्तो थियो । चाहे सम्पादन विभाग होस् वा मार्केटिङ, रेभिन्यु विभाग होस् वा एकाउन्टस्, वितरण विभाग होस् वा कम्प्युटर वा प्रेस । सबै विभागका पत्रकार र कर्मचारीबिच नजिकको मित्र, दाजुभाइ, दिदीबहिनीकै सम्बन्ध थियो । हरेक वर्ष आयोजना हुने वार्षिकोत्सवले पारिवारिक भावको अनुभूति गराउँथ्यो ।

बाआमाबाट ४०० किलोमिटर टाढा आएको म भुरे केटाले कहिल्यै ‘होम सिक’ महसुस गर्नु परेन । प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, उहाँका बुबा भरतलाल श्रेष्ठ, काका श्रीकृष्ण श्रेष्ठ, सम्पादकहरू कपिल काफ्ले, बद्री तिवारी, कुशल गौतम, लक्ष्मण अधिकारीदेखि डेक्समा रहनुहुने महेन्द्र विष्ट, स्व. जनार्दन घिमिरे, राजेश गौतम, भेषराज घिमिरे, विनोद ढुंगेललगायतका अग्रजहरूले अभिभावककै भूमिका निभाउनुभएको थियो । तत्कालीन सल्लाहकार सम्पादक आदरणीय रामकृष्ण रेग्मीबाट पत्रकारिताका धेरै आयामबारे सिक्ने अवसर प्राप्त भएका थिए ।

सुरक्षा
प्रधान सम्पादक पुष्कर सरमा आफ्ना पत्रकार र कर्मचारीहरूको सुरक्षाको पनि उत्तिकै चासो थियो । २०६० सालमा मैले लेखेको एक लेख ‘सुदूरपश्चिमको पीडा र राजाको हुम्म बुझेँ’बाट राजदरबार असन्तुष्ट रहेको र पक्राउ गर्नका लागि सेना खटाएको कुरा थाह पाएपछि पुष्कर सरले आफ्नै खल्तीबाट ५ हजार रुपियाँ दिएर रातारात मलाई ‘घुम्न’ पठाउनुभयो । लगभग १० दिनपछि फकिँदा उहाँले ‘कन्भिन्स’ गरिसक्नुभएको रहेछ ।

जसरी स्कुलको अध्ययन सकेपछि कलेज, कलेजको अध्ययन सकेपछि विश्वविद्यालय, त्यहाँको अध्ययन सकेपछि जीवनको शिक्षालयमा जानुपर्ने हुन्छ । जीवनमा आएका अवसरहरूका कारण वा अन्य कारणले १३ वर्षको संलग्नतापछि २०६४ सालमा नेपाल समाचारपत्र छाडे पनि त्यस प्रकाशनप्रतिको सम्मान अझै उत्तिकै रहेको छ । विशेषगरी आफ्ना गुरू र अभिभावकसरहका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र अन्य सम्पादक दाजुहरूप्रति यसै आलेखमार्फत् सम्मान व्यक्त गर्न चाहन्छु । आज म जहाँ उभिएर पत्रकारिता गरिरहेको छु, यसको आधारभूत जग नेपाल समाचारपत्रमार्फत् नै बनेको हो भन्नमा मलाई कुनै हिचकिचाहट छैन । मानिस जहाँ पुगे पनि आफू उभिएको धरातललाई बिर्सन हुँदैन ।

मिडिया उद्योगका नयाँ चुनौती
पत्रकारिताको करिब तीन दशकको मेरो अनुभवमा मैले थुप्रै उतारचढावहरू देख्ने मौका पाएँ । लोकपत्र दैनिकबाट व्यावसायिक पत्रकारिता आरम्भ गर्दाताका नेपालमा ब्रोडसिट दैनिकहरूको व्यापक उदय भएको थियो । त्यो लहर लामो समय टिकेन । लोकपत्र, श्रीसगरमाथा, स्पेस टाइम, श्रीदेउराली, नयाँ सडकजस्ता दैनिक पत्रिकाहरू क्रमैसँग बन्द भए । त्यसपछिको अर्को चरणमा एफएम रेडियोहरूको उदय भयो । व्यावसायिक र सामुदायिक रेडियोहरूको उदयले साँच्चिकै सञ्चार क्रान्ति नै ल्याएका थिए । तेस्रो चरणमा टेलिभिजन स्टेसनहरू खुल्न थाले । यी दुवै प्रशारण मिडियाहरूको उदयले नयाँ आशाको सञ्चार ग¥यो । तर, केही टिभी बन्द भए भने आजको मितिमा सञ्चालनमा रहेका टिभी र रेडियोहरू पनि आर्थिक रूपमा समस्यामा छन् ।

चौथो चरणमा अनलाइन समाचार माध्यमहरूको उदय भयो । यति धेरै संख्यामा अहिले अनलाइन सञ्चारमाध्यम सञ्चालनमा छन् कि तिनीहरू कसरी टिकेका छन् भन्ने प्रश्न उब्जन थालेको छ । सामाजिक सञ्जालहरूको अधिकतम प्रयोग, हरेक नागरिकको हातमा मोबाइल फोन, प्रत्येक फोनमा क्यामेरा र इन्टरनेटले परम्परागत सञ्चारकर्ममा नयाँ चुनौती सिर्जना गरेको छ । कतिपय आलोचकहरू यसले छापामाध्यम वा प्रिन्ट जर्नालिजमको भविष्य नै संकटमा पारेको तर्क गर्छन् । अझ आर्टिफिसियल इन्टेलिजेन्स वा एआईको बढ्दो उदयले सञ्चारकर्म नै संकटमा परेको छ पनि भन्न थालिएको छ । तर, वास्तविकता के हो भने पत्रकारिता कहिल्यै मर्दैन, त्यसको रूप र स्वरूप फेरिएला, माध्यम फेरिएला पत्रकारिता भने जिउँदै रहन्छ । हिजो लेटरप्रेसमा शिशाका अक्षरहरू एकएक गरेर कम्पोज गरिन्थ्यो भने त्यसपछि कम्प्युटरको युग आयो । अफसेट प्रेस आयो । प्लेट बनाउने प्रणालीबाट डाइरेक्ट पब्लिसिङ प्रविधि आयो ।

रिर्पोटिङमा म्यानुअल क्यामेराबाट डिजिटल प्रविधि आयो । विशाल टेपरेकर्डबाट, साना रेकर्डर हुँदै डिजिटल रेकर्डिङ र डिकोडिङको विधि आयो । ड्रोनबाट तस्वीर खिच्न थालियो । विशाल आईबीएम कम्प्युटरबाट हलुका पर्सनल कम्प्युटर (पीसी) हुँदै साना, पातला धेरै क्षमताका ल्यापटप हुँदै अहिले मोबाइलमै टाइप, रेकर्डसम्म गर्न सकिने प्रविधि आयो । यसका बाबजुद पंक्तिकारलाई लाग्ने एउटा कुरा के हो भने तत्कालै छापा सञ्चार माध्यम वा प्रिन्ट माध्यमको पत्रकारिता मर्ने अवस्था छैन, किनभने छापा माध्यम भनेको अभिलेखित हुने इतिहास नै हो । प्रविधिको विकासले छापाका ग्राहक कम होलान् तर नेपाललगायतका अल्पविकसित मुलुकमा अभिलेखकै रूपमा अझै केही समय छापामाध्यम रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्