नेपाली मिडियामा

पुस्कर सर रोनाल्डो दिरेक मेसी



समय । यो मात्र यस्तो चिज हो जो सँगै हुन्छ तर सँगै बस्दैन, निक्लिहाल्छ । स्वाट्टै जान्छ समय । २० वर्ष भयो म कामना प्रकाशनमा गएको । यी वर्षमा कति सूर्य उदाए कति अस्ताए र ग्रहणमा पनि परे । समाचारपत्रसँगै उदाएका कति पत्रिका अस्ताए तर समाचारपत्र अविरल चलिरहेको छ ।

यही नै जीवन हो समाचारपत्रको । कामना प्रकाशनको । समय नै यही हो । आज उदाउने दिनभर बस्ने र भोलि अस्ताउने । एक सूर्य जस्तै । परिवर्तन समय हो । समयको वशमा स्वयं भगवान् पनि कैद छन् । समयले कसैलाई कुर्दैन । हामी समयलाई कुर्दछाैं । हिजो, आज पनि समय हो । भोलि पनि समय नै हो । मानव जाति समयको दास भइरहेको छ । समयको चक्रले सबैलाई सकाउँछ । शुरूमा पृथ्वीमा डायनोसरको राज थियो । त्यो सकियो । मानव आयो । सभ्यताको उदय र अन्त भयो । रोमको शान थियो । त्यो सकियो । युनानको विशाल शक्ति थियो । त्यो सकियो । मुगलको शासन थियो । त्यो सकियो । ब्रिटिस साम्राज्य थियो । कहिल्यै नअस्ताउने सूर्य भनिने ब्रिटिस पनि समयको अगाडि आफ्नै सूर्य डुबेको आफैँ हेर्ने भए । सारा घटनाको साक्षी समय नै हो । समयले पक्षपात गर्दैन । रोम र युनान, मुगल वा ब्रिटिसको शासन किन रहेन भन्दा उनीहरूले समयको महत्व बुझेनन् । अर्थात् परिवर्नत बुझेनन् । समयसँगै जो बदलिँदैन । समयले उसलाई बदल्छ ।

समयको यो चक्रका अगाडि कति मान्छे कहाँ कहाँ पुगे । कति आउँदै छन् । कत्ति जाँदै छन् । सबै त्यही चक्रमा घुमिरहेका छन्, जसरी समयको मापन गर्ने सूर्य घुमिरहेको छ । मान्छेको समय कति हो ? यो समयको रहस्य र रोमाञ्चकता हो । त्यहाँ काम गर्ने धेरै साथीको समय सकियो । पत्रिका नै महानगर सकियो । साधना अर्कै भयो । स्वयं पुष्करलाल नै यो धर्ती छाडेर अर्काे धर्तीमा पुगिसक्नुभयो । तर कामना प्रकाशन र समाचारपत्र चलिरहेछ । यो नै समाचारपत्रको समय हो । परिवर्तनको नियम बुझेपछि त्यसको जीवन चलिरहन्छ । जीवन रहनुभनेको समय रहनु हो । समाचारपत्रको जीवन रहन पनि यसका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठले बुझेको परिवर्तनको नियम हो । समाचारपत्रको राप, ताप र प्रकाशमा धेरै साथीहरु आए गए । तर समाचारपत्रको समय चलिरहेको छ ।

समाचारपत्रको अविरलतामा दिरेकलाल श्रेष्ठ बिर्सनै नहुने नाम हो । त्यसैले समाचारपत्र चलाइरहने दिरेकलाल श्रेष्ठ मलाई पुष्करलाल श्रेष्ठ जस्तै लाग्छ । बाबुको गुण छोरामा वंशाणुगत नै सर्दछ । पुष्कर सरको हँसाउने शैली, व्यापार र पत्रकारिता अनि पत्रकारिताका कुरा दिरेकलाल श्रेष्ठमा सरेको छ । कति कुरा सर्दैन । पुष्कर सरको जस्तो इमोसन, भइहाल्यो नि त भन्ने कुरा दिरेकलाल श्रेष्ठमा छैन । हिजो पुष्कर सर हँुदा महिनैपिच्छे तलब पाइएन भन्नु पर्ने साथीहरूलाई आज दिरेकलालले यो प्रकाशन हेरिरहँदा त्यो पनि भन्नुपरेको छैन । महिनैपिच्छे तलब नपाउँदा काम गरिरहनु र तलब पाएर काम गर्नुको ऊर्जा फरक हुन्छ ।

आफूले कुनै समय काम गरेको, जनजीविका र करिअरको दुवैको लागि गएको संस्था अविरल बग्दछ इन्द्रावतीझैँ हुनु सुन्दर समय हो । समाचारपत्रको सुन्दर समय चलिरहनुमा दिरेकलाल श्रेष्ठको गुणगान जति गाए पनि हुन्छ । यो चाकरी हैन । यो सत्य कुरा हो । आफैँमा मान्छे दुई धारमा बाँडिन्छ कहिलेकाहीँ । परिवार, साथीभाइ, पुस्तकका कुराले मात्र होइन । आफैँमा यो गरौँ कि नगरौँ हुन्छ मान्छेलाई । धेरैपल्ट यो नचलाए भइहाल्यो भन्ने दिमागमा आए पनि दिरेकलाल श्रेष्ठको निरन्तरताले मात्रै यो संस्था चलिरहेको छ । यसको लागि उहाँलाई धन्यवाद छ ।

समाचारपत्रको समय सुन्दर र असुन्दर आयो होला । केही नयाँ केही पुराना कुराले समाचारपत्र चलिरहेको छ । जस्तो समय आए पनि हामी छौँ नि भनेर लाग्ने पुराना कर्मचारी साथी र पत्रकार पनि यसको उत्तिकै भागिदार हुनुुहुन्छ । तीन पुस्तामा चलिरहेको समाचारपत्र कामना प्रकाशन पुस्ताँैपुस्ता जाओस् । जसरी नदी बग्दछ, जसरी हिमाल उभिन्छ, जसरी पहाडहरू ठडिन्छन्, यसको पनि यस्तै आयु दीर्घायु होस् शुभकामना सुन्दर समयको ।

सम्बन्ध
नाता, साइनो र सम्बन्धले नै यो संसारमा मान्छे टिकिरहेको छ ।
धेरै मान्छे जोडिने जुइनो हो समाचारपत्र अर्थात् कामना प्रकाशन ।
एक क्षण मेरो मोबाइलमा फोन बज्यो । उहाँको र गजेन्द्र बुढाथोकीको नम्बर कण्ठै छ मलाई । नम्बर आउनेबित्तिकै भनेँ ‘हेलो दिपकजी के छ खबर ?’
भन्नुभयो ‘भान्दाइ (उहाँ मलाई यसै भन्नुहुन्छ) समाचारपत्रले पुराना मान्छेलाई समाचारपत्रका बारेमा लेखाउन लागेको छ, तपाईंको आर्टिकल चाहियो ।’
मैले भनेँ, ‘अत्युत्तम, डेटलाइन कहिलेसम्म हो ?’
उहाँले भन्नुभयो, ‘शुक्रबार ’
एकछिन दिपकजीकै धुँवा उड्यो दिमागमा । समाचारपत्रका भरतबादेखि तीन पुस्ता अझै चार पुस्तै भयो कि सबैलाई सहयोग गर्नुभएको छ । अनि धेरैलाई पत्रकारिताकै माध्यमबाट गुन लगाउनुभएको छ । उहाँसँगको सम्बन्धको कथा लेख्दा त्यही नै एक पुस्तक बन्न सक्छ । उहाँ पनि आफैँमा समाचारपत्र जस्तै पुरानो र नयाँ भइसक्नुभयो । त्यो संस्थासँग उहाँका सम्बन्धका कथा मेरा भन्दा कति हो कति छन् । जसलाई पनि सहयोग गर्ने र जस नपाउने र फेरि पनि सहयोग गर्ने उहाँको बानी मसँग छैन । उदात्त हृदयका धनी दिपकजीको वर्णन कत्ति गर्नु ।

समाचारपत्रले सम्बन्ध बनायो कि सम्बन्धले समाचारपत्र बनायो । धेरै साथीहरूलाई समाचारपत्रले बनाएको छ । समाचारपत्रको सम्बन्धले काम गरिरहेको छ । त्यहीँ कति साथी चिनिए । कति न्युज सोर्सहरू साथी बने । कत्ति साथी जस्तो लाग्नेको दुश्मन पनि बने होला ।
यो पनि एक सम्बन्धको चक्र हो । आफ्नो लाग्ने टाढा हुने । टाढाको आफन्त हुने । सहयोग गरेकाले असहयोग गर्ने र असहयोग गरेकाले सहयोग गर्ने । यो सम्बन्धको चक्रमा सबैको आआफ्नो कथा हुन्छ । यसरी नै सम्बन्ध चलिरहेको हुन्छ । कोही आउँछ जान्छ, त्यो जीवन हो । जाँदा पनि हृदयमा सम्झिरहन्छ त्यो प्रेम हो । कति प्रेमिल मान्छे कामना प्रकाशनकै कारण बनेका छन् । म त राजधानी दैनिकमा काम गरिरहेको समयमा महानगरमा छिरेको त्यो बन्द भएपछि समाचारपत्रको सौगातमा आएको थिएँ ।
पत्रकारिताले पैसा दिने रहेनछ ।

बाइलाइनले गोलभेँडा किन्न नसकिने रहेछ । गोलभेँडा किन्नु पनि जीवन रहेछ भन्ने जानेपछि त्यहाँबाट छाडेर आफैँ काम गर्न थालेँ । व्यवसाय गरे पनि अक्षरको सम्मोहनले मलाई छाडेन । अक्षरकै कारण आज फेरि घोस्ट राइटिङ नेपाल, क्रियटिभ राइटिङ नेपाल, थियटर राइटिङ, फिल्म राइटिङ चलाउँदै लेखनकुञ्ज चलाइरहेको छु । यी सबै काममा मेरो पहिलो ध्यान समाचारपत्रकै साथीमा जान्छ । उहाँहरूले लेखे हुन्थ्यो भन्ने भावना पहिले जाग्छ । किताब त्यहीँका धेरै साथीले लेखिसके । प्रुफ हेर्न प¥यो भने रोहिणी घिमिरे दाइ, सुमन कट्टेलकै नाम अगाडि आइहाल्छ । अनि लेखनमा पनि त्यहीँको सम्बन्धका धेरै साथीले किताब लेखिरहनुभएकै छ ।

आदरणीय टंक पन्त दाइ मसँगै हुनुुहुन्छ । नगेन्द्र लामा दाइले त किताबै छाप्दिनँ भन्ने मान्छेलाई अहिले किताब मात्रै छाप्ने बनाएर हामी १० वर्षदेखि सँगै छाँै । समाचारपत्रकै साथीको कारण एन्जा बन्यो त्यसमा पनि समाचारपत्रकै साथी भेटिन्छन् । शुभेच्छा विन्दु पनि अब किताब लेखनमा अगाडि बढिरहनुभएको छ । म खुसी छु मेरो अक्षरको सम्बन्धको जग, इँटा र घर कामना प्रकाशन बन्यो । त्यो सम्बन्धले अझै सुसम्बन्ध थप्दै अगाडि बढिरहेको छ ।
०००

थुप्रै मान्छेका किताब लेखेपछि आजकल मलाई मान्छे केमिकलझैं लाग्न थालेको छ । किन मान्छे मान्छे जस्तो नभएको होला ? धेरै मान्छे मान्छे नभई मर्ने रहेछ भन्ने भित्रैदेखि परिरहेको छ । म मान्छे बन्ने प्रयासमा अक्षरको संसारमा रमाइरहेको छु । हुनत मैले पनि धेरै मान्छेलाई हार्दिकता, कृतज्ञता, माया, प्रेम, दया, क्षमा देखाउन सकेको छैन होला । मानव हृदयको यो विशाल गुणले नै मान्छे बन्ने हो भन्ने मलाई भने भित्रैदेखि परिरहेको छ ।

यो सुन्दरताभन्दा मान्छे काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यको झारमा पुरिएर मृत्यु भएको देखेको छु । यसले मेरो मन एकदमै बिथोलिन्छ, चिथोरिन्छ । म भने सचेततापूर्वक त्यो झार फालेर मानव हृदयको बिरुवा रोप्न खोजिरहेछु आफैँभित्र । आफैँभित्र भएको बिरुवा हुर्कंदै जाँदा त्यसले आनन्दित पारिरहेछ ।

अघि भने मान्छे केमिकल हो । वा ! भन्यो मख्ख, छ्या ! भन्यो दिक्क । तपाईं त भन्यो हो त नि भन्ने । तपाईंको त के कुरा गर्नु खत्तमै भने कहाँ म त्यस्तो भनिहाल्ने । ‘राम्रो म’को यो कथा मृत्युपछि मात्रै सकिने रहेछ । त्यो सुन्दरता पनि हो मान्छेको । आफैँलाई राम्रो बनाउने कुरा पनि हो ।

केमिकल जस्तै प्रायः मान्छेले मरेपछि मात्र बैगुन बिर्सन्छ र गुन सम्झन्छ । बाँचुन्जेल आलोचना र आक्षेपहरू आइरहन्छन् । त्यस्तै भयो होला पुष्करलाल श्रेष्ठमा पनि । त्यस्तै भइरहेछ होला दिरेकलाल श्रेष्ठमा पनि र धेरै समाचारपत्रका साथीहरूलाई पनि । सबैले आफ्नो प्रशंसा गरोस्, मान्छे सोच्दछ । तर साथीहरू त्यो दिन भनेको अन्तिम संस्कारसँगै शुरू हुन्छ । समस्या नभएको मान्छे त्यही हो जो आर्यघाटमा जल्दै गरेको हुन्छ । समस्याको सदुपयोग गरेर दिरेकलालले अर्काे ढङ्गमा समाचारपत्रलाई पु¥याउनुभयो ।

तपाईंहरूले पनि समस्याको सदुपयोगले आफू बनिरहनुभएको होला । समस्याको सदुपयोगले समाचारपत्रको हिजोका इतिहास थियो । आज इतिहास छ । यो इतिहासका साक्षी यी लेखिरहेका अक्षरहरू पनि हुन् । समाचारपत्रको अर्काे विशेषता हो, असल साथी । एक दिन लेखनकुञ्जमा कान्तिपुरको एक साथी आए । उनले भने, ‘समाचारपत्रको जस्तो साथीबीच मित्रता मैले कहीँ देखेको छैन ।’ साथी त्यो हो जसले उज्यालो हैन जीवनमा अँध्यारो आउँदा सहयोग गर्दछ र उज्यालो देखाउँछ । समाचारपत्रको त्यस्तो कथा धेरै छ । गजेन्द्र बुढाथोकी बिमारी पर्दा त्यो सक्रियता मैले देखेथेँ । कमल पौडेल बिमारी पर्दा त लेखनकुञ्जमै बसेर पटकपटक मिटिङ गरेको उदाहरण मसँगै छ । समाचारपत्रकै कारण लाग्छ मलाई एन्जा जन्मेको । अरू धेरै समाचारपत्रकै साथीहरू मिलेर धेरै काम गरेको उदाहरण पाएको छु ।
०००
नकारात्मकता सबैसँग हुन्छ तर सकरात्मकताले जितेमा नकारात्मकता स्वतः ओझेल पर्दछ । चन्द्रमामा दागभन्दा शीतलता हेरिन्छ । देवकोटामा चेन स्मोकर हेरिँदैन, महाकवि हेरिन्छ । हेमिग्वेलाई कति रक्सी खाने मान्छे भनिँदैन विश्वप्रसिद्ध साहित्यकार भनिन्छ । समाचारपत्रले पनि आफ्नो नकारात्मकता जितेर निरन्तरता दिइरहेछ । आफूसँगैका उसका धेरै साथी हराए, ऊ चलिरहेछ । यसकारण समाचारपत्र समाचारपत्र बनेको छ । स्कुप न्युजको कारण मात्रै पत्रिका बन्ने हैन रहेछ । इतिहास त निरन्तरतामा पनि रहने रहेछ, जुन समाचारपत्रको छ ।

पत्रकारिता गणितको शून्य जस्तै हो । आफैँमा केही हैन तर अरूसँग जोडिएर आफू बन्दछ । समाचारपत्रकै कारण धेरै साथीको नाम बनेको छ । गणितको शून्य जस्तै साथीहरू आज जुनजुन क्षेत्रमा जहाँजहाँ लाग्नुभएको छ, त्यसमा अगाडि अङ्क र पछाडि शून्य थपिँदाको आनन्दानुभूति गरिहरनुभएको छ ।

समाचारपत्र र कामना प्रकाशन एक नाम हो । ब्रान्ड नेम हो । यसको ‘सुगन्धिम् पुष्टिवर्धनम्’ भइरहेको छ । यसको ‘गोत्रन्नोवर्धताम्’ भइरहेको छ । हामी त्यसको ‘सुगन्धिम् पुष्टिवर्धनम्’ हौँ र समाचारपत्र हामी धेरै मान्छेको लागि गोत्र हो । चन्द्र, सूर्य, पृथ्वी र मान्छे रहुन्जेल यो चलिरहोस् । अमर अजर समाचारपत्रको शुभकामना !

प्रतिक्रिया दिनुहोस्