कामना न्युज पब्लिकेसन्स्को आफ्नै इतिहांस छ



प्रा.डा. सुरेशराज शर्मा संस्थापक काठमाडौं विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष र काठमाडौ विश्व विद्यालयमा २१ वर्ष अनवरत रूपमा सेवा प्रदान गरी स्वदेशमा मात्र नभई विदेशमा समेत मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउने काममा सफलता हासिल गर्नुभएका प्राडा. सुरेशराज शर्मासँग नेपाल समाचारपत्रका सह–सम्पादक भगवती तिमल्सिनाले कामना न्युज पब्लिकेसन्स् प्रालिको ४०औं वार्षिकोत्सवका अवसरमा पत्रकारिताको विकास र गुणस्तरीयतामा केन्द्रित भई गरेको कुराकानीको सार संक्षेप:

नेपालको प्रिन्ट मिडिया अर्थात् पत्रकारिताको अवस्था कस्तो देख्नुहुन्छ ?
सञ्चार माध्यम त नेपालमा बलियो हुँदै गएको पाइन्छ । तर, सञ्चार माध्यमकै पनि आफ्नै कठिनाइ पनि छ । मिडिया चल्ने प्रमुख माध्यम विज्ञापन नै हो । सञ्चार माध्यम चलाउन धेरै खर्चिलो छ । त्यसको खर्च धान्ने प्रमुख स्रोत भनेकै विज्ञापन हो । पत्रिका बिक्रीले मात्र खर्च धान्दैन । नियमितताका लागि मात्र नभई निरन्तर सफलताका लागि निकै कठिन छ ।

पत्रकारितामा कामना पब्लिकेसन्स्को भूमिका कस्तो पाउनुभएको छ ?
कामना न्यूज पब्लिकेसन्स् प्रालिले पत्रकारिताको इतिहासमा हिजो जुन किसिमको सघंर्ष गरेर आजको दिनसम्म टिकाइराख्यो यो निकै महत्वपूर्ण विषय हो । पत्रिकामा दिने सामग्री रिपोर्टरको समाचारले मात्र हुन्न । विज्ञहरूको खोज, अनुसन्धानमा आधारित लेख, रचना, प्रस्तुतिले उत्तिकै महत्व राख्छ । यस्ता सामग्री लिन लेखलाई समय सापेक्ष पारिश्रमिक पनि दिनुपर्ने हुन्छ । आर्थिक रूपमा सबल बनाउनका लागि समय सान्र्दभिक समाचार, लेख, रचना, विज्ञापन सबैको तालमेल मिल्नुपर्छ र अहिलेसम्म मिलाएको देखिन्छ । विगतमा एकैपटक धेरै राष्ट्रिय दैनिक पत्रिका निस्किए । विज्ञापन बजार सानो भएका कारण धेरै टिक्न सकेनन् । आज पनि बजार घट्दो छ सञ्चार माध्यमको संख्या बढ्दोछ । त्यसैले, पनि मिडियालाई टिकाइराख्न निकै कठिन अवस्था सिर्जना भएको देखिन्छ । पत्रिकाबाट आएको आम्दानीले खर्च धान्दैन । खर्च बढ्दै गयो आम्दानी घट्दै गयो भने पत्रिकालाई टिकाई राख्न निकै चुनौती हुन्छ । त्यसैले, प्रतिस्पर्धा बजारमा सधैं नयाँ नयाँ विषय वस्तुलाई हरेक व्यक्तिको जीवनोपयोगी बनाएर प्रस्तुति गरी पाठकलाई सुरक्षित राख्नुपर्छ ।

अहिले पत्रिकाको आकर्षण कस्तो पाउनुभएको छ ?
पछिल्लो समय मानिसले पत्रपत्रिका किनेर पढ्ने बानी घट्दै गएको छ । बोर्डकाष्टमा सुन्ने, सामाजिक सञ्जालमा हेर्ने प्रचलन बढ्दैछ । यसले पत्रपत्रिकालाई बोझिलो पार्दै गएको छ । यो अर्थतन्त्रसँग जोडियो, अब यसलाई कसरी धान्ने भनेर विचार गर्ने बेला आएको छ ।

सञ्चारको प्रभावले नेपालीले के–कस्ता परिवर्तन गरेका छन् ?
विगतमा विदेशमा छात्रबृत्तिमा पढ्न जाने नेपालीहरू अहिले विदेशको आम्दानीको स्रोत बन्दैछन् । नेपालको अर्थतन्त्र कमजोर बन्दैछ । अस्ट्रेलिया शिक्षाबाट आम्दानी गर्ने तेस्रो मुलुक भएको छ । पहिला नेपालीहरू विदेशमा छात्रवृत्तिमा पढन जान्थ्यौं, तर अहिले विदेशमा पैसा तिरेर पढ्न जाने नेपालीको लहर चलेको छ । हामी छात्रव्ृत्ति खोज्थ्यौं अहिले विश्वले पैसा तिर्ने विद्यार्थी नेपालमा नै खोज्न थालिसके ।

नेपालमा पछिल्लो समय इलेक्ट्रोनिक डिभाइसले प्रिन्टलाई कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?
पत्रिकाले गुणस्तरीय र विश्वसनीय सामग्री पस्किन सक्नुपर्छ । पाठकले खोजी खोजी पढ्ने पत्रिका बनाउन सक्नुपर्छ । समय सापेक्ष बजारको स्वस्थ प्रतिस्पर्धामा जान सक्नुपर्छ । नेपालमा पत्रकारिताको व्किास र विश्वसनीय बनाउन समयसापेक्ष चल्न सक्नुपर्छ । नेपालको मेडिकल शिक्षा राम्रो छ भनेर अमेरिका लगायत विश्वका मुलुकले पत्याएका छन् । त्यसरी नै नेपालको पत्रकारिता त्यसमा पनि प्रिन्ट मिडियाले दिने सामग्री विश्वसनीय छ भन्ने विश्वास दिलाउने गर िकाम गर्नु जरुरी छ । जसरी मेडिकल शिक्षालाई विश्वास गरेर नेपालीलाई अमेरिकाले जागिर दिएको छ त्यसरी नै नेपालको पत्रकारिताको क्षेत्रमा पनि बाहिरको उदाहरण लिएर बाहिरी मुलुकले कुनै उपाय निकालेका छन् भने नेपालले पनि अपनाउनुपर्छ ।

नेपालमा पत्रकारिताको विकास कस्तो छ र भोलिका दिनमा कुन बाटो लेला ?

मैले बेलायतमा मेडिकल शिक्षा पढ्दा पत्रिकाले छापेका समाचार विश्वसनीय हुनुपर्छ भन्ने बुझेको थिए । पत्रकारले स्वतन्त्र रूपमा लेख्न पाउने भनेको सम्पादकीय मात्र हो । अन्य समाचारको प्रमाण र स्रोत खुलेको हुनुपर्छ । आधिकारिकता नपाएका विषयलाई पत्रिकामा छाप्नै पाइन्न ।

बेलायतको पत्रिकामा कसैको चरित्र हत्या भएको छ भने समाचारमा प्रमाण नपुगेको अवस्था छ भने अदालतले पत्रिका नै बन्द गरिदिन्छ । नेपालमा जे लेखे पनि भएको छ, तर सत्य कुरा छैन भने विस्तारै पाठकको विश्वास गुम्छ । कामना न्युज पब्लिकेसन्स प्रालिले जुन पत्रकारिता गरिरहेको छ विश्वसनीय र भरपर्दो छ । यसलाई अझ आकर्षक बनाउँदै, खोजमूलक विश्वसनीय समाचार दिनुपर्छ । हालसम्म कमाएको विश्वासलाई बचाउँदै फस्टाउन दिनुपर्छ ।

नेपाल समाचारपत्रको रिभ्यू गर्ने बेलाचाहिँ भयो । नेपालका सबै सञ्चार माध्यमले रिभ्यू गर्ने बेला भयो । पहिलाको जस्तो प्रिन्ट, बोर्डकास्ट गरेर पाएको मार्केटलाई गुमाउनुहुन्न अझ मजबुत बनाउनुपर्छ । स्विटजरल्यान्ड र नेपाल भूमिको आधारमा पनि उस्तै देखिन्छ । स्विटजरल्यान्ड पनि नेपाल जस्तै तीनवटा मुलुकको बीचमा ल्यान्डलक मुलुक हो ।त्यहाँको सरकारले सूचना निकाल्नुप¥यो भने फ्रेन्च, जर्मनी र इटालियन भाषामा निकाल्छ । यो बजारको माग अनुसारको कार्य हो । स्विटजरल्यान्ड ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्ने मुलुक हो । स्विजरल्यान्डको सबैभन्दा नामुद भएको बंैक हो । अहिले पनि उदाहरणका लागि बजारमा सुनको मूल्य कति छ भन्दा स्विसको बैंकले विश्वको मार्केटको निर्धारण गरेको छ । तर, स्वीजरल्यान्डमा सुनको खानी त छैन तर, पनि विश्वास आर्जन ग¥यो । स्विसले बंैकिङ सिस्टम, समयका लागि असाध्य बलिया घडी बनाउने, स्विस चकलेटलाई अन्तको चकलेटले जित्न सकेको छैन ।

एउटा चक्कु निकालेको छ सबै कुरा ग्राहकलाई ध्यानमा राखेर बनाएकोछ । त्यसरी नै नेपालको पत्रपत्रिकाले पनि ग्राहकलाई खुसी पार्ने गरी सामग्री विश्वसनीय दिन सक्नुपर्छ । कुनै नयाँ कुरा थपिँदा खुसीले स्वीकार्ने गरी थप्नुपर्छ । अमेरिकाले जिनको मार्केट लियो । गुणस्तरीयतामा ध्यान दिनुपर्छ । अर्कोलाई सधैं जित्छु भन्नु पनि हुन्न । कुनै कुरामा आफूले, कुनैमा अर्कोले गर्नेमा समझदारी पनि हुनुपर्छ । डेनमार्कमा दुईवटा बियर कम्पनीको धेरै राम्रो बजार छ र यी दुवै कम्पनीका बीच ठूलो प्रतिस्पर्धा छ । अचम्मको कुरा यी दुवै कम्पनीको मालिक एउटै हो । तर पनि बियर बनाउने विषयमा प्रतिस्पर्धा छ । जर्मनमा गाडी राम्रो बनाउने विषयमा विश्वास गरिन्छ ।

कामना पब्लिकेसन्सको राम्रो पक्ष विश्वसनीय समाचार पाठक माझ पु¥याएको छ यसलाई निरन्तरता दिँदै सधैं बेस्ट बन्न सक्नुपर्छ । अरूसँग गुणस्तरीय सर्भिसलाई माया गरोस् भन्ने विश्वास गरेर काम गर्दै अघि बढ्न सकोस् । विश्व अहिले राम्रो सर्भिस दिएर ग्लोबल भिलेजको चिनारी दिन सक्नुपर्छ । मार्केटिङलाई बलियो बनाउन सक्नुपर्छ । केही समय पहिला पोखराले धुलिखेललाई चिन्दैन थियो तर एकाएक काठमाडौ विश्व विद्यालय, धुलिखेल अस्पताल, धुलिखेल खानेपानीजस्ता दिगो विकासका सेवा सँगै पर्यटकीय नगरको विकासले पोखराले मात्र हैन देश र विश्वले नै धुलिखेलबाट सिक्नुपर्ने अवस्था सिर्जना ग¥यो ।

त्यसैले, वार्षिक कार्ययोजना बनाएर बारम्बार समीक्षा गर्ने, पाठकलाई मनपर्ने सामग्री थप गर्ने गर्नुपर्छ । पत्रिका किनेर पढ्ने क्रम घटदो छ यसलाई परिमार्जन गर्दै गएन भने बजार र विश्वास जित्न धेरै खट्नुपर्ने हुन्छ । जसरी टोयटा कारले आफ्नो गुणस्तरलाई टिकाइराख्न सफल भएको छ त्यसरी नै नेपाल समाचारपत्रले पनि पाठकको माया बचाइराख्नुपर्छ । मार्केटको नेचर परिवर्तित हुन्छ । केही वर्षअघि त्रिविमा मात्र मेडिकल पढाइ हुन्थ्यो । वर्षमा ३२ जना भर्ना हुन पाउँथे त्रिविमा २६ वर्ष र केयूमा २१ वर्ष पढाइ भयो । सबैले १ नं हुन खोज्नुपर्छ, तर २ नम्बर हुँदा पनि आत्तिनुहुन्न । सकारात्मक पक्षलाई बचाइराखौँ । प्रिन्ट मिडियालाई बचाइराख्न समीक्षा गरौं ।

प्रतिक्रिया दिनुहोस्