दुबईमा छोरालाई मृत्युदण्ड,बुबा जीवन बचाउन सहयोग माग्दै


सुर्खेत ।

सुर्खेतको सिम्ता गाउँपालिका–३, का २७ वर्षीय पृथ्वीचन्द्र टकुरीलाई दुबईमा साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। एकैठाउँमा बस्ने पाँच जनामध्ये सर्खुवासका सुमन विश्वकर्माको हत्याको आरोपमा दुबईमा टकुरीलाई एक महिनाअघि मृत्युदण्डको सजाय सुनाइएको हो।


छोरालाई मृत्युदण्डको सजाय भएको कुरा टकुरीका बुबाले पहिलो पटक भने सुर्खेतमा रहेका उनका परिवारले थाहा पाए। खबर थाहा पाएपछि निम्न वर्गका टकुरीको परिवार यतिबेला चिन्तामा छ। परिवार ब्लड मनी (मृत्युपछि क्षतिपूर्ति रकम) जुटाउनका लागि मेहनत गरिरहेको छ।

पृथ्वीचन्द्र टकुरीका बुबा टकुरी अहिले वीरेन्द्रनगरमा सहयोग संकलनमा जुटेका छन्। आफ्नो जायजेथा बेचेर करिब १६/१७ लाख रकम जम्मा गरिसकेका छन्। मृत्युदण्डबाट जोगाउनका लागि दुई करोड तीन लाख रुपैयाँ आवश्यक रहेको बताइएको छ। उनले बाँकी रकम जुटाइदिनका लागि सहयोगी निकायमा आग्रह गरेका छन्।

घरको आर्थिक अवस्था कमजोर भएपछि पृथ्वीचन्द्र टकुरी रोजगारीका लागि २०७७ माघ ५ गते दुबई पुगेका थिए। परिवारले जानकारी गराए अनुसार सँगै काम गर्ने पाँच जना साथीमध्ये सर्खुवासका सुमन विश्वकर्मीसँग झगडा भएपछि उनी घाइते भएका थिए तर पछि सुमनको मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानका क्रममा दोषी ठहर गर्दै अदालतले गत जेठको पहिलो साता मृत्युदण्ड सजायको फैसला सुनाएको बुबा टकुरीले बताएका छन्।

मृतक सर्खुवासका सुमन विश्वकर्माका परिवारसँग आग्रह गरेपछि ब्लड मनी बुझाएपछि सजाय माफी हुन सक्ने अनुसार अहिले पैसा जुटाउन परिवार लागि परेको छ।

फैसलाको ९० दिनभित्र ब्लड मनी रकम बुझाएर छुटकारा पाउनुपर्ने छ। करिब एक महिनाको समय बितिसकेको र अबको दुई महिनाभित्र करिब ८० लाख जुटाउनुपर्ने अवस्था रहेको बताइएको छ।

मजदुरीका लागि विदेश गएका आफ्ना छोराको जीवन बचाइदिन सबैसँग सहयोगको अपिल गर्दै बुबा टकुरी सहयोग मागिरहेका छन्।