पत्रकारिताको बिँडो धान्ला त डिजिटल मिडियाले ?

0
Shares

प्रतीक प्रधान

सत्य युगमा कुनै पनि स्थानमा भएका घटनाको जानकारी भगवानहरूले ध्यान दृष्टिले हेरेर आफै‌ँ थाहा पाउन सक्थे । तर, त्यसबेला पनि भगवानहरूलाई सूचना उपलब्ध गराउने पेसा अपनाएर आफूलाई स्थापित गरेका थिए नारदमुनिले । सायद, यो सृष्टिको पहिलो पत्रकार नारदमुनि नै थिए ।

सत्य युगपछि त्रेता र द्वापर युगमा समाचारदाताको महत्व बढेर गयो । किनभने ध्यान दृष्टिले हेर्ने क्षमता क्रमशः थोरै मानिसमा सीमित भएर गयो । जस्तो द्वापर युगमा कुरुक्षेत्रमा भएको महाभारतको लडाईं हस्तिनापुरमा राजा धृतराष्ट्रलाई सञ्जयले सुनाएका थिए । आँखाले नभ्याउने स्थानमा भएको घटना देख्न सक्ने क्षमता उनमा मात्र थियो ।

तर, कलियुगको करिब पाँच हजार वर्ष नबित्दै प्रविधिको विकासले सूचना प्राप्तिमा सत्य युगको अवस्था ल्याएको छ । कुनै पनि विषयमा जान्नका लागि मानिसले आफ्नो मोबाइल फोनमा एकैछिन खोज गरे पुग्छ ।

अर्थात्, सम्पर्क, सूचना, जानकारी र समाचारका लागि सत्य युगकै हाराहारीमा मानिस पुगिसकेको छ । तथापि, यस युगमा पनि नारदमुनिको भूमिकाको महत्व छ भनेर पत्रकारितालाई पेसाका रूपमा अपनाउनेहरूको संख्या उल्लेख्य छ । यस लेखमा तिनै कलियुगी नारदहरूलाई किन जोगाउनु पर्दछ भनेर केही तर्क अघि सारिएको छ ।

दुःखपूर्वक भन्नुपर्छ सूचना र समाचारको भेद नबुझ्ने अनि तथ्यपरक समाचार र मनगढन्ते कथालाई एउटै ढंगले ग्रहण गर्ने र आफूले थाहा पाएको सामग्री मनन पनि नगरी हतार हतार प्रतिक्रिया दिने । पुनः संप्रेषण गर्ने पाठकका कारण पत्रकारिता पेसा धरापमा परेर गएको छ । जिम्मेवार पत्रकारितामा आफैंलाई समर्पित गरेका व्यक्ति र संस्थाको सबैभन्दा ठूलो समस्या नै पत्रकारिताको पवित्रतालाई जोगाउनु र यो पेसाको मर्यादालाई कायम राख्नुपर्ने भएको छ ।

सूचना प्रविधिको नवयुगमा पत्रकारिताको पेसालाई अब कुन माध्यमको पत्रकार भनेर छुट्याउनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । समाचार जुनसुकै माध्यमका लागि तयार गरे तापनि उपभोक्ताको आँखा वा कानसम्म पुग्दा सबै समाचार मूलतः डिजिटल माध्यमबाट नै सम्प्रेषित हुन्छन् । अहिलेका सबै रेडियो डिजिटल एपबाटै धेरै सुनिन्छन् भने टेलिभिजनका कार्यक्रम युट्युबमा अपलोड नहुन्जेल धेरैले थाहै पाउँदैनन् । छापामा छापिएका समाचार जबसम्म वेबपेजमा आउँदैनन् र सबैखाले समाचार, विचार, सूचना जबसम्म फेसबुक, टुइटरजस्ता सामाजिक सञ्जालका एपमा सेयर हुन्नन्, तबसम्म करिब अस्तित्वविहीन हुन्छन् ।

त्यसैले अहिलेका सबै माध्यम डिजिटल पत्रकारिताका एक रूप नै हुन् । तथापि, केवल इन्टरनेटमा मात्र उपलब्ध हुने लेखन सामग्री तथा श्रब्य–दृश्य सामग्री उत्पादन गर्ने एउटा ठूलो समूह विगत डेढ दशकदेखि पत्रकारिता पेसामा आएको छ, जसलाई हामी डिजिटल मिडिया भनेर चिन्दै आएका छौँ । यही डिजिटल मिडियाले अब पत्रकारिता पेसाको व्यावसायिकताको बिँडो थाम्नुपर्ने अवस्था आएको छ ।

यति भन्दै गर्दा डिजिटल माध्यम पनि अब विस्तारै आर्थिक संकटमा परेको छ भने यसले अझै विश्वशनीयता कमाउन सकेको छैन । त्यसैले जिम्मेवार, निष्पक्ष र व्यावसायिक पत्रकारिता नै संकटमा पर्दै गएको वर्तमान अवस्थामा समाज कसरी अघि बढ्छ भन्ने विषयमा सचेत नागरिक र लोकतन्त्रमा विश्वास गर्ने समूह सबैले ध्यान दिनु अत्यावश्यक भइसकेको छ ।

नेपालका मात्र होइन संसारभरकै डिजिटल पत्रकारिताको हकमा आर्थिक श्रोत कसरी जुटाउने भन्ने समस्या विकराल रूपमा अगाडि आएको छ । पत्र–पत्रिका, टेलिभिजन र रेडियोबाट विस्थापित हुँदै गएका विज्ञापनले विस्तारै डिजिटल मिडियालाई आफ्नो गन्तव्य बनाउने परिस्थिति बन्दै गएको अवस्था अचानक परिवर्तन हुँदै यस्ता विज्ञापनका बाढी सामाजिक सञ्जालतिर मोडिएको कारणले गर्दा पनि अहिले डिजिटल मिडिया संकटमा परेका हुन् ।

नेपाली उत्पादनहरूले सामाजिक सञ्जालमा दिने विज्ञापनलाई सरकारले यहीँ कम्पनी खोलेर विज्ञापन बाहिर लग्न सक्ने अवस्था सिर्जना गरेकाले पनि स्थानीय डिजिटल मिडियाको भाग खोसिएको छ । तर, सरकार यो विषयमा थाहै नपाए झैं मौन बसेर देशको विदेशी मुद्रा बाहिर पठाउने काममा सहयोगी बनेको देखिन्छ ।

गुगल, फेसबुक, टुइटर तथा अन्य सामाजिक सञ्जालमा विज्ञापन गर्ने कम्पनीहरूले १५ प्रतिशत कर र १५ प्रतिशत अतिरिक्त शुल्क तिरेको भरमा देशले कमाएको विदेशी मुद्रा सहजै बाहिरिन दिनु आफैंमा तर्कसंगत छैन । नेपाली मिडियालाई सिध्याउने र विदेशी मिडियालाई केवल १५ प्रतिशत थप शुल्क तिरेको भरमा विदेशी मुद्रा बुझाउने यस कार्यलाई सरकारले नियन्त्रण नगर्ने हो भने अबका केही महिनामा नै डिजिटल मिडियाहरू क्रमशः बन्द हुँदै जाने अवस्थामा पुग्दैछन् ।

देशभित्रका मिडियालाई सक्षम, जिम्मेवार र व्यावसायिक बनाउनुपर्नेमा मार्क जुकरबर्गको मेटा, इलन मस्कको एक्स (टुइटर) तथा गुगलको मूल कम्पनी अल्फाबेटलाई धनी बनाएर यो सरकारले कस्तो प्रकारको सन्देश दिन खोजेको हो सो पनि केलाउनु पर्ने भएको छ ।

कुनै पनि समयमा देशको हक हितका सम्बन्धमा विश्वसनीय आवाज उठाउनुपर्ने अवस्था आउँदा सामाजिक सञ्जालको गञ्जागोलमा आएका आवाजले देशलाई सहयोग गर्ला ? उदाहरणका लागि, नेपालले भारतमा बिजुली बेच्नु पाउनु पर्छ, कतार र साउदीमा नेपाली कामदारको हकहित सुरक्षित हुनुपर्छ, इजरायलबाट हमासको अपहरणमा परेका विपिन जोशीलाई सुरक्षित रिहा गरिनुपर्छ, देशमा लोकतन्त्र जोगाउनुपर्छ भन्नेजस्ता आवाज विश्वसनीय ढंगले कसले प्रसार गर्छ ? यदी मूलधारका मिडिया सकिएर जाने हो भने नेपालको आवाज, नेपाली पत्रकारिताको आवाज, मूलधारका पत्रकारका माग यी हुन् भनेर जनताले, देशले र अन्तर्राष्ट्रिय समुदायले कसरी बुझ्ने ?

प्रेस काउन्सिल नेपाल, सूचना विभाग, जिल्ला प्रशासन कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सरकारलाई कर बुझाउने र पत्रकार तथा कर्मचारीलाई न्यूनतम तलब दिँदै आएका डिजिटल मिडियालाई सरकारले अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने सूचना आदी सम्प्रेषण गर्न पाउने अधिकार नदिएर पनि अहिलेसम्म सौतेनी व्यवहार गर्दै आएको छ । यही विज्ञापन पनि धेरैका लागि बाँच्ने आधार हुनसक्थ्यो ।

अहिलेको अवस्था आउनका लागि डिजिटल मिडियाको भूमिका अवश्य पनि जिम्मेवार छ । थोरै लगानीमा डिजिटल मिडिया सञ्चालन गर्न सकिनाले गर्दा धेरै मिडियाकर्मी र लगानीकर्तामा मिडिया मालिक बन्ने सपना चुलिएर गयो, जसले समस्या निम्त्यायो । मिडिया खोल्नु ठूलो कुरा होइन तर त्यसलाई सञ्चालन गर्न सक्नु महत्वपूर्ण कुरा हो । तर, हतारमा मिडिया खोल्ने र कर्मचारीलाई तलब दिन नसकेपछि कर्पोरेट हाउसलाई निरन्तर कचकच गर्ने, उनले जे भनेपनि प्रकाशित गर्न लालायित हुने, विज्ञापन नपाए तर्साउने, धम्क्याउने जस्ता काम गरेर पनि डिजिटल मिडिया सशक्त हुन नपाइकनै अस्तित्व संकटको अवस्थामा पुग्न लागेको हो ।

स्वरोजगारको नाममा प्रेस काउन्सिलले पत्रकारको पास जारी गरिदिन्छ भनेर पनि धेरै गलत व्यक्तिले मिडिया दर्ता गराए । यसरी दर्ता भएका कतिपय मिडियाले स्वरोजगारको सोचअनुरूप स्वतन्त्र पत्रकारलाई घरेलु उद्योगको रूपमा पत्रिका सञ्चालन गर्न सहज बनाए तापनि धेरैले यसलाई गलत तरिकाले शक्तिको दुरुपयोग गर्ने औजारको रूपमा प्रयोग गरे । यस विषयमा पुनः समीक्षा जरुरी देखिन्छ ।

आफूलाई मूलधारको व्यावसायिक पत्रकार भनेर दावा गर्ने संस्थाहरूले पनि केवल क्लिकबेटको आधारमा आफूलाई पहिलो देखाउन प्रयत्न गरे । यस प्रयोजनका लागि जे जस्तो समाचार पाइन्छ, त्यसको सत्य तथ्य जाँचै नगरिकन पहिलो बन्ने र धेरै क्लिबेट वा पाठकको ध्यान आकृष्ट गर्ने धुनमा हतार–हतार पोस्ट गर्ने जुन होड चलेको छ, त्यसले पनि हाम्रो विश्वसनीयता माथि प्रश्न उठाएको छ ।

अन्तमा, पाठकले मनन गर्नुपर्ने कुरो के हो भने सामाजिक सञ्जालमा आएका सबै प्रकारका बेकामे सूचना समाचार होइनन् । समाचारको श्रोत के हो र कसले समाचार सम्प्रेषण गर्दैछ, त्यसका आधारमा मात्र आफ्नो धारणा बनाउनु पर्दछ ।

सरकारले पनि देशमा जिम्मेवार, निष्पक्ष र देशहितका लागि कलम चलाउने लोकतान्त्रिक मिडियालाई जोगाउनु पर्छ भन्ने विषयमा गहन सोच राख्नु पर्दछ । र, आफूलाई मूलधारको पत्रकारिताको वारेस बनाउन अघि बढेको डिजिटल मिडियाले पनि स्वनियमन, जिम्मेवारी बोध र विश्वसनीयता सम्बद्र्धन गर्न अघि बढनु अति आवश्यक देखिएको छ ।