विश्वसनीयताको कसीमा नेपाली मिडिया

0
Shares

एकराज पाठक

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा विजयी हुन्छन् भनेर लेख्ने मिडिया अमेरिकामा लगभग कुनै पनि थिएन । कुनै एउटा पत्रिकाले उनको पक्षमा वकालत त गथ्र्याे तर त्यो त्यति चल्तिको थिएन । सबैले हिलारी क्लिन्टनले निर्वाचन जित्ने आँकलन गरेको सन्देश मात्र प्रवाह गरिरहेका थिए । चुनावका बेलाका यी कन्टेन्टहरू हेर्दा लाग्थ्यो ती सबै ट्रम्प विरोधी मात्र थिए ।

तर, उता ट्रम्प भने आफूले निर्वाचन जित्ने नै दाबी गरिरहेका थिए । हुन त चुनावका बेलामा आफूले निर्वाचन हार्छु भनेर सार्वजनिक रूपमा कुनै उम्मेदवारले भन्दैन । तर, पनि अमेरिका जस्तो देशका र त्यहाँका पनि मूलधारका मिडियाले ट्रम्पले कुनै पनि हालतमा निर्वाचन नजित्ने भनिरहेकाले हामीजस्तो तेस्रो विश्वका मानिसलाई त सोच्न बाध्य बनायो भने अमेरिकी या अर्काे कुनै

भूगोलका मानिसले यसबारेमा चासो नलिने कुरै भएन । विश्वास मान्नु पनि प¥यो, माने । तर, परिणाम त्यस्तो आएन । जनमतले ट्रम्पलाई नै जिताइदिए । यहाँका मिडियाको अनुमान फेल खायो । त्यसपछि भन्न थालेका हुन् ट्रम्पले ‘फेक मिडिया’ भनेर । अमेरिकी मिडियाप्रति उनको तर्क हुने गर्दथ्यो ‘अमेरिकी मिडिया सबै फेक हुन् । यिनले गरेका कुनै पनि अनुमान मिल्दैनन् । किनभने यिनीहरू मलाई कुनै पनि हालतमा जित्दैन भन्थे तर अमेरिकी नागरिकले भने मलाई भोट दिने निर्णय शुरूमै गरिसकेका थिए ।’

ट्रम्पले अमेरिकी मिडिया अमेरिकी नागरिकको मनमुटुसम्म पुग्नै नसकेको आरोप सदा लगाउने गर्दथे । उनले आफ्नो कार्यकालभर अमेरिकी मिडियालाई ‘फेक मिडिया’ भनेरै बिताए । उनी कुनै सार्वजनिक सभा सम्मेलनमा उपस्थित भयो कि मिडियालाई सम्बोधन गर्दा फेक मिडिया भन्ने गर्दथे । उनको एकमात्र तर्क थियो– अमेरिकी जनताको मनसम्म यी मिडिया पुग्नै सकेका छैनन् ।

‘फेक मिडिया’ उनको थेगो नै बन्यो र प्रायः संसारका अरू देशतिर पनि चल्न थाल्यो । अन्यत्रका शासकहरूले पनि आफूअनुकूल समाचार नलेख्ने मिडियालाई फेक मिडिया भनेरै गाली गर्न सिके । अमेरिकी राष्ट्रपतिले नै भनेपछि अरूलाई झन् के चाहियो ? नेपालमा हुन लागेको पहिलो संविधानसभाको निर्वाचनको परिणामका विषयमा पनि निकै अनुमान र अनुसन्धान भए । कसले ल्याउँछ बहुमत ? यो प्रश्न त सबै निर्वाचनमा आउँछ नै ।त्यसबेला पनि भयो ।

सशस्त्र द्वन्द्व त्यागेर शान्ति प्रक्रियामा आएका माओवादी पहिलो पटक निर्वाचनमा भाग लिँदै थिए, त्यसैले पनि धेरैको चासो उसको परिणाममा थियो । धेरैको अनुमान थियो– माओवादीले द्वन्द्वका समयमा धेरै नेपालीलाई दुःख दिएका छन् त्यसैले जनताले भोट दिँदैनन् । त्यसैले स्वदेशी या विदेशी सबैको अनुमान थियो– पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी । नेपाली मिडिया पनि यही अनुमानकै पछिपछि थियो र माओवादी पार्टी तेस्रो हुने आँकलनको समाचार दिन्थ्यो ।

तर, परिणाम उल्टो आयो, पहिलो पार्टी माओवादी नै भयो । ऊ पहिलो मात्र भएन दोस्रो र तेस्रो हुनेलाई ठूलो अन्तर नै पा¥यो । पछि अनपेक्षित परिणाम भनेर अनेक अड्कलबाजीहरू गर्न थाले ‘विश्लेषक’ हरू । धेरैले त पुराना राजनीतिक दलहरूसँग जनता वाक्क भएकाले नेपालको विकासमा माओवादीले केही गर्लान् भनेर माओवादी पार्टी रोजेका अनुमान गरे ।

यो आलेखको आशय नेपाली मिडिया कसरी चुक्यो भन्ने विषय खोज्नु हो । फेरि माथिका यी दुई दृष्टान्त पेस गरेर अमेरिकी र नेपाली मिडियामाथिका दुई ठूला घटनामा चुकेका कारण सधैँलाई चुक्न पुगे भन्ने पनि होइन । पार्टी या शासकका भन्दा पनि जनताका मनमुटुसम्म मिडिया पुग्न सकेका छन् कि छैनन् भन्ने विषयमा चाहिँ यी दृष्टान्तले सोच्न बाध्य बनाउँछ । माओवादीले जसरी नेपाली जनताले आफूहरूलाई छान्ने निधो गरिसकेका थिए तर पनि नेपाली मिडिया भने जनताको मनसम्मै पुगेर उनीहरूको धारणा बुझ्न सकेनन् भनेर आफूहरूप्रति ‘बायस’ भएको भन्थे पछि त्यही भने डोनाल्ड ट्रम्पले पनि । हुन पनि यी दुवै परिस्थितिमा त्यस्तै भएको थियो– जनता एकातिर मिडिया अर्कैतिर ।

मिडियाः कर्मको विश्वास

मिडियाको विश्वास उसको कर्मको हो । हामीले तय गरेका, छापेर पठाइदिएका या प्रसारण गरिरहेका सामग्रीमै पाठक श्रोताले विश्वास गर्नुपर्ने हुन्छ । हामीले पस्किएका सामग्री थप पुष्टि गर्न कुनै पनि नागरिक घटनास्थल या व्यक्तिकहाँ पुग्न सक्दैनन् । जस्तो कि कोरोना महामारीका समयमा हामी आफैँले कति थरि औषधि सिफारिस ग¥यौँ ? जनताका साथ र हातमा मिडियाबाहेक केही थिएन, उनीहरू लकडाउनमा घरघरमै थुनिएका थिए ।

त्यस्तो बेलामा विश्वास गर्ने मिडियाबाहेक अरू के थियो ? हामीले समाचारमा लेखिदिएका औषधि जनताले खाए पनि । जसका कारण कति त बिरामी नै परे । तर, यसको अनुसन्धान कसले गर्ने ? हामीले सम्प्रेषण गर्ने हरेक सूचना संवेदनशील छ र त्यसको प्रभाव तत्कालै पर्छ भनेर सोच्नुपर्छ । समाचारका हरेक शब्दले जनताको विश्वसनीयताको कसीमा जाँच दिइरहेका हुन्छन् । हामीले एकजनाले लेख्ने समाचार बाहिर लाखौँ, करोडौँले हेरिरहेका हुन्छन् ।

मिडियाका कर्मले विश्वमै कुनै व्यक्ति, स्थान, विषय या देशप्रतिको ‘इमेज’ निर्माण हुने हो । तर, त्यसलाई पनि विश्वसनीयताको कसीमा राखेर पाठक, श्रोताले त हेर्छन् नै । उनीहरूले त्यो जाँच गर्दासम्म उता इमेज भने बनिसकेको हुन्छ । इराक बारेको इमेज, अफगानिस्तान बारेको इमेज या युरोपबारेको इमेज हामीले घरैमा बसेर बनाएका छौँ । यी देशमा कमै मात्र मानिस जान्छ र आफ्नै आँखाले देख्छ । बाँकीले देश मिडियाको झ्यालबाटै हेर्छ, चिन्छ र धारणा बनाउँछ ।

सद्दाम हुसेनलाई कति नेपालीले भेटे ? तर, उनलाई धेरै नेपालीले चिन्छन् । चिन्ने माध्यम मिडिया नै हो । उनका कर्मको रिपोर्टिङबाट नै नागरिकले सूचना लिए । धेरै भन्छन् उनी इराकी तानाशाहा थिए । के उनी तानाशाहा नै थिए ? उनका विरोधी समाचार पोे विदेशी मिडियाले प्रचार गरिदिए कि ? उनले गरेका देशभक्तिका कुरै ल्याइदिएनन् कि ?

मिडियाले बनाइदिएको इमेज नै उनीहरूका राजनीतिक सामाजिक जीवनमा बिक्री हुने हुन् । त्यस्तै, केही पात्र नेपालमा पनि छन् जसको इमेज मिडियाले नै बनाइदिएका हुन् । उनका काममा ‘म्याग्निफाइङ ग्लास’को प्रयोग गरेको छ कि नेपाली मिडियाले ? कामले भन्दा पनि त्यतिले मात्र उनको इमेज बनेको हो कि ? तर, यी सब दिगो हुँदैनन् किनभने कुनै दिन मेकअप झरेपछि जनताले थाहा पाएका हुन्छन् । यही हो मिडियाको विश्वसनीयता । मिडियाको एबिसी भनेको पनि यही हो र जहाँ सत्य डगाएर फूलबुट्टा भरिएको हुन्छ त्यहीँनेर लगाइन्छ विश्वसनीयताको कसी ।

माथि भनिएजस्तै मिडियाले इमेज निर्माणमा आफ्ना प्रयासहरू खर्चिन थालेका देखिन्छ नेपालमा । जसलाई पछि जनताले कसी लाएर फेला पारेका छन् । अनि उनीहरू नाक खुम्च्याइहाल्छन् र मिडियाका हर्कतबारे प्रश्न गर्न थाल्छन् । जब जनताले मिडियाको सत्य डगाउनुपर्ने अवस्था र बाध्यता बुझ्छन्, त्यसपछि उनीहरूबाट मिडियाले आफ्नो विश्वसनियता गुमाउँदै जान थाल्छन् ।

अनि त्यहीँबाट मिडियाको अस्तित्वको दिनगन्ती पनि शुरू हुन थाल्छ । जस्तो कि मिडिया सबैभन्दा विश्वसनीय हुनुपर्ने व्यवसायको कर्म हो । किनभने मिडियाकर्मीले आफ्ना मिडियामा भनेका, लेखेका कुरा जनताले पत्याउनुपर्ने हुन्छ । तर जब समाचारमाथि विश्वसनीयता गुम्छ तब ती मिडियाका सामग्री नागरिकले उपयोग उपभोग गर्न छोडिदिन्छन् । जब कुनै नागरिकले रेडियो टिभी नै खोल्दैन, अनलाइन क्लिक गर्दैन या पत्रिका किन्दैन अनि त्यो मिडियामा अक्सिजन सञ्चारित छैन भनेर बुझ्दा हुन्छ ?

कहाँ चुक्दैछ मिडिया ?

पत्रकारिता सूचना मात्र होइन शिक्षा, ज्ञान र मनोरञ्जन दिने सशक्त र प्रभावकारी माध्यम पनि हो । यसले बोक्ने सूचना अथवा ज्ञान सत्य, तथ्य, तटस्थ वा निष्पक्ष र सन्तुलित हुनुपर्छ । पत्रकारिताको सिद्धान्त मानिने यो दिग्दर्शनभित्र पत्रकारिता कति अटाउँछ वा यसले पत्रकारितालाई समग्रतामा कति समेट्छ भनेर अब कसी लाउनुपर्ने अवस्था आएको छ । भनिन्छ, अकबरी सुनलाई कसी लाउनु पर्दैन । पत्रकारिताको कर्म र धर्म अनुसार उसलाई अर्थात् उसका काम करबाहीलाई पनि कुनै कसीले जाँच्नुपर्ने होइन ।

पत्रकारिता अविश्वसनीय हुन्छ भने त्यो आफ्नै कर्मले हुने हो । जसको जे मूल सम्पत्ति हो त्यो नै हरायो भनेजस्तै व्यक्ति या वस्तुको पनि कुनै अस्तित्व रहँदैन । पत्रकारिताको सबैभन्दा ठूलो सम्पत्ति नै विश्वसनीयता हो । विश्वसनीय नै नभए किन पढ्थे र कसैले पत्रिका ? राम्रा डाक्टर नै नभए अस्पताल को जाला ? अस्पतालको सम्पत्ति चिकित्सक रहेजस्तै हो पत्रकारितामा विश्वसनीय भनेको ।

अहिले आएर सूचना पनि कमजोर बन्दै गएको छ । जसका कारण मिडिया सतही बन्दैछ र यसले उसलाई कमजोर बनाउँदैछ ।
मिडिया कमजोर हुनु भनेको उसका सामग्री फितलो, सतही र कमजोर हुनु हो । त्यस्तै, भइरहेको छ अहिले । पछिल्ला दिनमा समाचार सूचनाको स्रोतसम्म पुग्न नसकेको देखिएको छ ।

स्रोत हराएपछि समाचार बेवारिसे हुने नै भयो । अब बेवारिसे समाचारलाई कसले उपभोग गर्ला ? समाचार समितिका समाचार पनि मिडियाले स्रोतको नामै काटेर छाप्ने, दिने गरेका छन् । सबै मन्त्री, अधिकारी पदाधिकारीका प्रेस संयोजक छन् तिनैका विज्ञप्ति समाचारका मूल स्रोत बनिरहेका छन् । स्रोतसम्म रिपोर्टर पुग्दैन, तिनै संयोजकको भर पर्दछ । त्यसैले समाचारले आफ्नै स्रोत हराउँदै जान थालेको छ ।

माथिका सबै दृष्टान्त तथा आशयको मूलमर्म के हो भने सके त मिडिया जनताकै मनमस्तिष्कमा पुग्नुपर्छ र उनीहरूकै स्रोतबाट उनीहरूकै समाचार लेख्नुपर्छ भन्ने हो । सबै सधैँ त्यसो हुन नसक्दा पनि समाचार स्रोतको नजिक भने पुग्नुपर्छ । यी दुवै नभएर स्रोतबिनै समाचार बनेर अखबारका पेज भरिने र अरू मिडियाका समय लिने मात्र काम भएपछि अबका दिनमा समाचारको विश्वसनीयता पनि घट्दै जानेछ ।

होइन भने नागरिकका हात हातमा उपलब्ध सोसल मिडियाले नै हाम्रा समाचार र स्रोतको स्थान लिन थाले भने मिडियाको औचित्यमा प्रश्न त उठ्ने नै भयो । फेरि पनि सबै सोसिलय मिडियालाई ‘एन्टी सोसल’ हुनबाट रोक्न पनि पत्रकारिता नै विश्वसनीय हुनु जरुरी छ ।
( लेखक राससका प्रधान सम्पादक हुनुहुन्छ )