मध्यपुर थिमिका टोल बस्तीको परम्परागत र मौलिक नामाकरण सुरु



भक्तपुर। 

मध्यपुर थिमि नगरपालिकामा टोल बस्तीहरुको परम्परागत र मौलिक नामलाई पुनः प्रयोगमा ल्याउने कार्य सुरु भएको छ । नेपाल संवत ११४४  न्हुँ दँको अवसरमा मंगलवार मध्यपुर थिमिको शंखधरचोकमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपुर थिमि नगरका टोल बस्तीहरुको परम्परागत र मौलिक नामलाई पुनः प्रयोगमा ल्याउने कार्यको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मध्यपुर थिमि आफैँ ऐतिहासिक स्थान भएको चर्चा गर्दै यसको महत्त्व स्थानीय मौलिक र परम्परागत नामको प्रतिष्ठापन एवम् पुनः प्रयोगले अझ बढाएको बताए ।

“स्थानीय स्तरमा रहेका मौलिक नामहरुलाई नै खोजी गरी स्थापित गर्ने र पुनः प्रयोगमा ल्याउने जुन पहल गर्नुभएको छ, यसले यस ऐतिहासिक नगरी मध्यपुर थिमिको महत्त्व अझ बढाएको छ । यसका लागि मध्यपुर थिमि नगरपालिका र यहाँका जनप्रतिनिधिहरुलाई धन्यवाद भन्न चाहन्छु,” उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मौलिक नामको संरक्षणले स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नगरपालिकाले यहाँको मौलिक नामको खोजी गर्ने अभियान सञ्चालन गरेर मध्यपुर थिमिको मौलिक पहिचानको संरक्षण गरेको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले परम्परागत र मौलिक नामहरु स्थानीय टोलबस्तीहरुको पहिचान भएकोले त्यस्ता पहिचानलाई जिवित राख्ने कार्य मध्यपुर थिमि नगरपालिकाले सुरुवात गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले स्थानीय ठाउँका नामहरु मौलिकरुपमा राख्ने कार्यलाई ईतिहासको सम्मान भएको बताए । “आजभोली के भएको छ भने जसलाई देख्यो उसैको नाममा चोक, उसैको नाममा बाटो, उसैको नाममा गल्ली नामाकरण भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, हाम्रो ऐतिहासिक मूल्य र मान्यता केही शक्तिवान र शक्तिशाली मान्छेहरुको हातमा परेको छ, उनले भने, “ईतिहासलाई जोगाउनु पर्छ, ईतिहास जस्तो सकुै भएपनि ईतिहासको मूल्य हुन्छ । ईतिहासको सम्मान गर्न नसक्ने समाजको भविष्य उज्यालो हुन सक्दैन । मध्यपुर थिमि नगरपालिकाले ईतिहासको सम्मान गरेको छ ।”

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बढ्दो शहरीकरण र तिब्ररुपमा बढेको बस्ती विकासले स्थानीय पहिचान नै मेटिने गरी टोल बस्तीहरुको नामाकरण हुन थालेपछि नगरपालिकाले स्थानीय स्तरमा रहेको मौलिक र परम्परागत एवम् ऐतिहासिक नामहरुको खोज तथा अनुसन्धान गरी सङ्कलन गर्ने र ती नामहरुलाई प्रतिष्ठापन गरी पुनः प्रयोगमा ल्याउने अभियान स्वरुप समिति नै गठन गरी कार्य अगाडि बढाएको जानकारी दिए।

उनले समितिको प्रतिवेदन अनुसार अहिले स्थानीय टोल बस्तीहरुको मौलिक नामलाई प्रतिष्ठापन गरी पुनः प्रयोगमा ल्याउने चरणमा प्रवेश गरेको बताए । उनले यस कार्यले यहाँको मौलिकता संरक्षण गर्न थप सहयोग पुग्ने र यसले मध्यपुर थिमिमा पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको बताए ।

मध्यपुर थिमि नगरपालिकाले मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति गठन गरी नगरभित्रका टोल बस्तीहरुको परम्परागत र मौलिक नाम सङ्कलन गरी ती नामलाई प्रतिष्ठापन गर्ने जिम्मेवारी दिएको थियो ।

सो समितिले करिब एक वर्षको अवधिमा नगरका वडा वडा, टोलबस्तीमा स्थलगत अवलोकन, भेला र छलफल तथा विभिन्न ऐतिहासिक दस्तावेज, अभिलेख, शिलालेख, ताडपत्र इत्यादिको अध्ययनबाट ४५० भन्दा बढी परम्परागत र मौलिक नाम सङ्कलन गरेको थियो । सोही समितिको सिफारिसमा मध्यपुर थिमि नगरपालिकाको नगरसभा र कार्यपालिका बैठकबाट समेत पारित गरी नगरका टोल बस्तीको मौलिक नामलाई पुनः प्रयोगमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्