इजरायल र कतारको दूतावास अगाडि शान्ति समाजको प्रदर्शन



काठमाडौँ। 

मानव अधिकार तथा शान्ति समाजले आतङ्कवाद र युद्धविरुद्ध आज  एकसाथ नेपालस्थित इजरायली दूतावास र कतारी दूतावास अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन  गरेको छ ।

युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न इजरायललाई आग्रहसहित “युद्धविरामका लागि विश्वव्यापी आह्वानलाई स्विकार गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र मानवता विरुद्धको अपराधलाई रोक्न” आह्वान गर्दै नेपालस्थित इजरायली राजदूतावास अगाडि प्रदर्शन गरिएको हो ।

यसैगरी शान्ति समाजका तर्फबाट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र नेपालस्थित इजरायली दूतावासले बुझ्न नमानेको हुँदा इमेलबाट पठाइएको छ ।

पत्रमा शीघ्र युद्ध विरामका लागि संयुक्त राष्ट्रसंघ लगायत विश्वव्यापी आह्वानलाई स्वीकार गर्न इजरायललाई आग्रह गरिएको छ भने इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै मानवता विरुद्ध अपराध ठहरिने कार्य बन्द गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

यसैगरी आतंकवादविरुद्ध बलियोसँग उभिन कतारलाई आह्वान गर्दै सन् २०२३ को अक्टोवर ७ का दिन हमासद्वारा इजरायलमा भएको आतंकी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना सर्त शीघ्र रिहाइका लागि जोड दिइएको छ ।

 हमासका मुखिया इस्माइल हानीयेह कतारमा रहेको र खुला गतिविधि गरिरहेको हुँदा कतार सरकारमार्फत जोशी लगायत सबै बन्धकहरुको रिहाइका लागि सार्थक पहल गर्न आग्रह गरिएको हो ।

 कतारी दूतावास अगाडि चुन्नीखेल ललितपुरमा भएको प्रदर्शन पछि  शान्ति समाजका तर्फबाट कतारका प्रधानमन्त्री शेख मोहम्मत विन अब्दुलरहमान विन जसिम अल थानीलाई लेखिएको ज्ञापनपत्र कतारी दूतावासमा बुझाइएको थियो । ज्ञापनपत्रमा आतङ्कवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको अवगत गराउँदै कतारलाई आतङ्कवाद विरुद्ध बलियोसँग उभिन आह्वान गर्नुका साथै हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना सर्त शीघ्र रिहाइका लागि सार्थक पहल गर्न आग्रह गरिएको छ ।

काठमाडौँ  चण्डोलस्थित इजरायली दूतावास अगाडि भएको प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल, सचिवत्रय रामप्रसाद जोशी, लक्ष्मीनारायण मिश्र र प्रकाश शाही, केन्द्रीय सदस्यहरु नम्रता खरेल, देवराज भट्टराई, अरुण ज्ञवाली, जानुका अधिकारी, ज्योति बाल्मिकी, नुवाकोट शाखा सभापति नारायणमान डंगोल, सदस्यहरु सम्झना बुढा, रमेश बराल, मणिराम दाहाल, केदार दाहाल लगायत शान्तिवादीहरुको सहभागिता थियो भने ललितपुर चुन्नीखेलस्थित कतारी दूतावास अगाडि सम्पन्न प्रदर्शनमा समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्व सचिव बलबहादुर गाहा मगर, पूर्व कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, काठमाडौँ शाखा सभापति भगवान् पुडासैनी, काठमाडौँ शाखा उपसभापति विकास थापा सदस्यहरु ईश्वर पुडासैनी, नानीकाजी गिरी, रेजिना राई, गंगा खत्री, मन्दिर अमात्य, सुकदेव अधिकारी, शान्ता थापा लगायत शान्तिवादीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्