राहत सामग्री समयमै पाउन सकेनौं

जाजरकोटबासीको राष्ट्रपतिसँग गुनासो



जाजरकोट । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको छ । प्रभावित क्षेत्र जाजरकोट आएका राष्ट्रपति पौडेलले सरकारका सम्पूर्ण जनशक्ति भूकम्पपीडितको राहत वितरणमा केन्द्रित भएको बताउनुभएको छ । पीडितसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । सो क्रममा भूकम्प प्रभावितले आफूहरुले समयमै राहत सामग्री पाउन नसकेको गुनासो गरेका थिए ।

मंगलबार जाजरकोट अस्पतालमा उपचार गरिरहेको घाइतेको अवस्थाका बारेका जानकारी लिनुको साथै स्वास्थ्य लाभको काम गर्नुभएको छ । करिब २ सय वर्ष पुराना घरहरू भग्नावशेष भएको भेरी नगरपालिका–३ माथिल्लो थाप्लेमा क्षतिग्रस्त घरको अवलोकन गरेका राष्ट्रपति पौडेलले सरकार भूकम्पबाट प्रभावित पीडितलाई राहत तथा पुनःनिर्माणमा गम्भीरताका साथ लागेको बताउनुभयो । उहाँले दैवी प्रकोपको समयमा नआत्तिएर बस्न पीडितहरूलाई आग्रह गर्नुभयो ।

प्रभावित क्षेत्रका पीडितले राष्ट्रपति पौडेलसँग छिटोछरितो आधारभूत समस्या समाधन गरिदिन आग्रह गरेका थिए । सरकारको सबै जनशक्ति भूकम्प प्रभावित क्षेत्रका पीडितलाई राहत उपचारमा दौडाएको बताउनुभयो । पीडितका आधारभूत आवश्कतामा कमी हुन नदिन सरकार प्रभावित क्षेत्रमा केन्द्रित भएको बताउनुभयो । उहाँले नागरिकको पहिलो समस्या गाँस बास भएको बताउँदै सरकार व्यवस्थापनमा लागिपरेको बताउनुभयो ।

प्रभावित क्षेत्रका नागरिकले राहत सामग्री पाउन नसकेको बताएका छन् । भेरी नगरपालिका–१३ का लालबहादुर रोकायले भन्नुभयो– ‘राहत सामग्री वितरण हुन्छ भन्छन् गाउँमा आएको छैन कहाँ वितरण हुन्छ हामी खुला आकाशमुनि बस्नुपरेको छ ।’ विनाशकारी भूकम्प गएको पाँच दिन बितिसक्दासमेत त्रिपाल पाउन नसेकोपछि चिसो मौसमा रात बिताउनुपरेको हो । ग्रामीण बस्तीका नागरिकले राहत सामग्री पर्खेर बसेका छन् । छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जिल्लाबाट लिएको राहत सामग्री पालिकामा जम्मा गरेको र सबै घरघुरीमा पुग्ने भएपछि वितरण गर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जिल्ला दैवी प्रकोप समितिमा पुगेको राहत सामग्री वितरण गरिएको छ । ‘राहत सामग्री आउने क्रम जारी छ नपुगेको वस्तीमा व्यवस्थापन गर्छौं’ –उहाँले भन्नुभयो । सहयोग गर्दै हिँड्ने नागरिकले विनाशकारी भूकम्पले घरसहित सबै आर्थिक सम्पत्ति ध्वस्त पारेपछि बिचल्लीमा परेका छन् । हिजोका दिनमा दिन दुःखीलाई सहयोग गर्दै आएको केही आम्दानी हुने व्यक्तिहरू त्रिपालमुनि बसेर राहतको आश गर्नुपरेको छ । भूकम्पले घरसहित घरमा भएको सम्पत्ति पुरिएपछि राहत माग्न बाध्य भएका छन् ।

भेरी नगरपालिका–३ का कृष्णाजङ्ग शाहले घरमा सबै वस्तु भए पनि भूकम्पले क्षति पु¥याएपछि राहत माग्नुपरेको बताउनुभयो । पीपलडाँडा, माथिल्लो थाप्लेमा पुराना घर भत्किएपछि नागरिकहरू बिचल्लीमा परेका छन् । शाहले सरकारलाई राहत तथा पुनः स्थापनाको कामलाई तत्काल अगाडि बढाउन आग्रह गर्नुभएको छ । रक्षामन्त्री पूर्णबहादुर खड्काले बुधबारसम्म भूकम्पपीडितको हातमा सरकारले राहत सामग्री पु¥याउने बताउनुभयो ।

भेरी नगरपालिका–१३ का ऋषिराम आचार्यले भन्नुभयो– ‘भूकम्पले घर बस्न मिल्ने बनाएको छैन भित्र जाने हो भने भत्किन्छ कि भन्ने त्रास लाग्छ राहत सामग्री पनि गाउँमा पुगेको छैन खुला आकाशमुनि रात बिताउन बाध्य भएका छौं ।’ सूचना अधिकारी शर्माले बाहिरबाट आएको राहत सामग्री प्रभावित क्षेत्रमा पठाइराखेका तथा सदरमुकाममा नथन्किएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सहयोगीबाट प्राप्त भएको राहत सामग्री बुझेर सम्बन्धित स्थानमा उहाँहरूलाई नै लिन लगाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्