तेक्वान्दो संघद्वारा पलेशा सम्मानित



काठमाडौं ।

नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद तीन लाखसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । लामालाई ७५ हजारसहित प्रशंसा पत्र तथा श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । उक्त कार्यक्रममा पलेशाका बुवा प्रदीप र आमा मनीता पनि सम्मानित भए ।

सोही कार्यक्रममा एभरेष्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेशा र लामालाई नगदसहित सम्मान गरेको थियो । फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेशालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गरे । गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् ।

पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो । पलेशाले करियरमा जितेको यो तेश्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि पलेशाले १ स्वर्ण र २ कांस्य रजत जितेकी थिइन् । पलेशाले टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास पनि रचेकी थिइन् । पलेशा ओलम्पिकमा दुई खेल जित्ने एक्ली नेपाली खेलाडी हुन् । कांस्य पदक भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।

प्रशिक्षकका रुपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको नवौं पदक हो । अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ । पलेशाले १ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान एक–एक कांस्य जितेका छन् । टोकियो पारा ओलम्पिकमा पनि लामा नै पलेशाका प्रशिक्षक थिए ।

प्रतिक्रिया दिनुहोस्