नेपाललाई विश्वकप पुग्न आजको खेल जित्नैपर्ने



काठमाडौं ।

आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउनै पर्ने भएको छ ।

आजको खेल जित्ने टोली सिधै आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । घरेलु टोली नेपाल युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ । आज ११ बजे मूलपानी क्रिकेट मैदानमा हुने उक्त सेमिफाइनलमा नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि २० विश्वकप खेल्ने तयारीका साथ मैदानमा उत्रने छ ।

नेपाल र युएईबीच टि २० आईमा आठ खेल भएका छन् । नेपाल चार खेलमा विजयी हुँदा चार खेलमा नै पराजित पनि भएका छन् । पछिल्ला पाँच टि २० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ । त्यसैले नेपाललाई आजको खेल त्यति सहज भने नहुन सक्छ । तर, घरेलु मैदानका कारण भने नेपाली खेलाडीको उच्च मनोबलले नतिजा आफ्नो पक्षमा पार्न ठूलो भूमिका खेल्नेछ ।

आजको खेलमा रोहित पौडेलले नेपालको कप्तानी गर्नेछन् । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यसअघि नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट बञ्चित भएको थियो । यसपटक भने नेपाललाई त्यो हारको बदला लिँदै विश्वकपमा छनोट हुने मौका मिलेको छ । नेपालको कुशल मल्लको प्रदर्शनले टोलीको योगफल वा नतिजा निर्भर हुनसक्ने छ ।

त्यस्तै, नेपालका सन्दीप लामिछानेको स्पिन बलिङ पनि युएईलाई घातक हुन सक्नेछ । नेपालका तीब्र बलरहरु सोमपाल कामी र करण केसीले नयाँ बलका साथ राम्रो गर्दै आएकाले उनीहरुबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । त्यस्तै, डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ । नेपालका कुशल भुर्तेल, विवेक यादव र रोहित पौडेलले आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई जिताउन सक्ने खुबी राख्छन् ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग भने पाँच रनले हारेको थियो । अर्कोतिर समूहमा अपराजित रहँदै सेमिफाइनल पुगेको युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराउँदा हङकङलाई भने २२ रनले हराएको थियो ।

प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलमा नखेलेका घाइते दीपेन्द्र सिंह ऐरी मैदान फर्कन सक्ने बताएका छन् । ओमानविरुद्ध घाइते हुँदा उनी मैदानमा उत्रिएका थिएनन् । आज ११ बजे सुरु हुने उक्त खेल मुलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा ओमान र बहराइनले कीर्तिपुरमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्