अक्षय र रविना २० वर्षपछि फेरि सँगै



बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री रविना टन्डनका फ्यानका लागि सुखद खबर छ। उनीहरूलाई २० वर्षपछि दर्शकले फेरि सँगै देख्न पाउने भएका छन्।

सन् २०२४ को क्रिसमसको अवसरमा रिलिज हुने भनिएको फिल्म वेलकम टु जंगलमा उनीहरू एकसाथ देखिने भएका हुन्। जसको सुुटिङ केही दिनमा सुरु हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्। रोचक कुरा त के छ भने अक्षय र रविना पूर्वप्रेमी–प्रेमीका हुन्। ९० को दशकमा गहिरो प्रेम सम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपपछि लामो समय बोलचालसमेत बन्द थियो। हालैको एक अन्तर्वार्तामा अक्षयले रविनास“ग लामो समयपछि काम गर्नको लागि आफू उत्साहित रहेको बताए।

बलिउडमा खेलाडीको उपनामले चिनिने अक्षय प्रेमको मामलामा समेत खेलाडी मानिन्छन्। अक्षय र रवीनाको भेट सन् १९९४ मा आएको फिल्म मोहरामा भएको थियो। उनीहरूले मे खिलाडी तु अनाडीजस्ता फिल्ममा सँगै काम गरेका थिए। उनीहरूको टिप टिप वर्षा पानी, तु चिज बडी हे मस्त मस्तजस्ता गीतका भिडियो सर्वाधिक चर्चामा रह्यो भने प्रेम सम्बन्धमा रहेका उनीहरूको प्रेम सम्बन्ध पनि बलिउडमा चर्चाको विषय बन्न पुग्यो।

त्यो बेला रविना र अक्षयले गोप्य रूपमा इन्गेजमेन्ट गरेको खबर सञ्चार माध्यममा चर्चाको विषय बनेको थियो। जुन विषयमा रविनाले पनि आफू र अक्षयले एक मन्दिरमा गएर इन्गेजमेन्ट गरेको बताएकी थिइन्। तर, पछि उनीहरूको इन्गेजमेन्ट टुटेर दुवैको बाटो अलग भएको थियो। अक्षयले सन् २००१ मा अभिनेता राजेश खन्नाकी छोरी तथा अभिनेत्री ट्विंकल खन्नाका साथ विवाह गरेका थिए भने रविनाले त्यसको तीन वर्षपछि व्यवसायी अनिल थडानीका साथ विवाह गरेकी थिइन्। रियल जोडी हुन नसके पनि करिब दुई दशकपछि उनीहरू रिल जोडीको रूपमा पर्दामा देखिनु उनीहरूको फ्यानका लागि रमाइलो विषय भएको छ।

प्रतिक्रिया दिनुहोस्