काठमाडौं ।
नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास–सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।



नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले उक्त संयुक्त सैनिक अभ्यासको शुभारम्भ गरेका हुन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी रहेको उक्त अभ्यास आगामी मंसिर २२ गतेसम्म सञ्चालन हुनेछ।
विपद् व्यवस्थापन र युद्धकलामा विशेष जोड संयुक्त सैनिक अभ्यासमा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयलाई प्राथमिकता दिइनेछ। अभ्यासका क्रममा दुवै देशका सैनिकहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै विशेष अनुभवहरूको आदानप्रदान गर्नेछन्।
सन्निहित सैन्य सम्बन्ध थप सुदृढ हुने विश्वास विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।
यस प्रकारको संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकहरूको व्यावसायिक ज्ञान, दक्षता तथा आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।








तपाईंको विचार लेख्नुहोस्