काठमाडौं ।
सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नतिमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले ठेक्का सम्झौता अन्त्य गर्ने चेतावनी दिएको छ।कार्यालयले ठेक्का पाएको निर्माण कम्पनी ‘कन्टेक–जयी–जय शम्भु जेभी’, नयाँ बानेश्वर काठमाडौँलाई १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको हो।
वि.सं. २०७९ जेठ १७ गते सम्झौता भएको उक्त सडकको चेनेज १८.३२० देखि २७.३६० सम्मको स्तरोन्नति कार्य दुई पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। थपिएको समय र पूर्वनिर्धारित क्षतिपूर्तिको २०० दिनको अवधिमा समेत काम पूरा नभएको कार्यालयले जनाएको छ।
पटक–पटक ताकेता गर्दा पनि निर्माणमा अपेक्षित प्रगति नभएको र यसअघि माग गरिएको स्पष्टीकरणको समेत चित्तबुझ्दो जवाफ नआएको कार्यालयको भनाइ छ।
तोकिएको १५ दिनभित्र आधिकारिक प्रतिनिधि कुशलकुमार शर्मा उपस्थित भई चित्तबुझ्दो जवाफ नदिए सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कानुनी कारबाही अघि बढाइने कार्यालयले चेतावनी दिएको छ।









तपाईंको विचार लेख्नुहोस्