सर्वोच्चको संवैधानिक इजलास डेढ महिनादेखि ठप्प, २४६ मुद्दा सुनुवाइको पर्खाइमा


काठमाडौँ ।

सर्वोच्च अदालतको संवैधानिक इजलास डेढ महिनादेखि गठन हुन नसक्दा २४६ मुद्दा सुनुवाइको पर्खाइमा रहेका छन्। इजलास गठन गर्ने विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच मतभेद देखिएपछि संवैधानिक विवादसँग सम्बन्धित मुद्दाहरू प्रभावित भएका हुन्।प्रधानन्यायाधीश मनोजकुमार शर्माले पछिल्लो पटक गत २१ असोजमा संवैधानिक इजलास गठन गरेका थिए।

तर न्यायाधीश हरिप्रसाद फुयालले इजलासमा बस्न नसक्ने बताएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसयता संवैधानिक इजलास गठन हुन सकेको छैन।इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी १९ सहित विभिन्न प्रकृतिका २४६ मुद्दा विचाराधीन छन्। तीमध्ये ३८ मुद्दा पाँच वर्षभन्दा पुराना छन् भने करिब ३० मुद्दाले पहिलो सुनुवाइकै अवसर पाएका छैनन्।संवैधानिक इजलास गठनका लागि प्रधानन्यायाधीशले न्यायाधीश तोक्ने, वरिष्ठताका आधारमा इजलास गठन गर्ने वा गोलाप्रक्रिया अपनाउने भन्ने विषयमा न्यायाधीशहरूबीच सहमति जुट्न सकेको छैन।

प्रधानन्यायाधीश शर्मा संविधानले आफूलाई इजलास गठन गर्ने अधिकार दिएको भन्दै संवैधानिक व्यवस्थाभित्रैबाट समाधान खोज्नुपर्ने पक्षमा छन्। तर अधिकांश न्यायाधीशले गोलाप्रक्रिया लागू गर्नुपर्ने धारणा राखेका छन् भने केहीले वरिष्ठताका आधारमा न्यायाधीश तोक्नुपर्ने बताएका छन्।सर्वोच्चका पूर्वन्यायाधीश ईश्वर खतिवडाले रोस्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा इजलास गठन गर्नु नै उपयुक्त निकास भएको बताएका छन्।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले पनि प्रधानन्यायाधीशले गोलाप्रक्रियाबाट इजलास गठन गर्ने निर्णय लिनुपर्ने बताएका छन्।संविधानको धारा १३७ मा संवैधानिक इजलासको व्यवस्था छ। यसले संविधानको व्याख्या, राज्य सञ्चालन तथा संवैधानिक विवादसँग सम्बन्धित मुद्दाको सुनुवाइ गर्छ। तर इजलास गठनमै अन्योल कायम रहँदा महत्वपूर्ण संवैधानिक मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ।

एक चोटी हेरौं ? संवैधानिक इजलासमा कति छन् मुद्दा ?

आर्थिक वर्ष- संख्या

२०७५/०७६- ५,२०७६/०७७- ५,२०७७/०७८- १८,२०७८/०७९- २७,२०७९/०८०- १४,२०८०/०८१- १६,२०८१/०८२- २६,२०८२/०८३- ८९,२०८३/०८४- १८

कुन विषयका कति मुद्दा विचाराधीन ? पहिलो सुनुवाइ नै नभएका- ३०

कुन विषयका कति मुद्दा विचाराधीन ?

करसम्बन्धी- १२ , ज्येष्ठ नागरिक- १ , निजामतीसम्बन्धी- ९ , निर्वाचन क्षेत्रसम्बन्धी- १४ , बेपत्ता पारिएका व्यक्ति र संक्रमणकालीन न्याय- ३ , राजनीतिक दलसम्बन्धी विवाद- १० , शिक्षा ऐनसम्बन्धी विवाद- ३९,संसद् पुनःस्थापनासम्बन्धी- १९,समलिंगी विवाह- २ , सुर्तीजन्य पदार्थ बिक्री–वितरण- ३ ,स्तरवृद्धि (समायोजन)- २ ,सम्पत्तिसम्बन्धी (महिला र पुरुष)- २ , स्थानीय तहको कानुन र विवादसम्बन्धी- १३ , अन्य- ११७

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।