क्विन्टनको विश्वकपमा चौथो शतक



नयाँ दिल्ली, (एजेन्सी) । 

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डिककले जारी क्रिकेट विश्वकपमा चौथो शतक प्रहार गरेका छन् । भारतमा चलिरहेको विश्वकपमा यो एकै खेलाडीले गरेको सर्वाधिक शतक पनि हो । क्विन्टनले बुधबार उपाधिको दावेदारीमध्ये एक टोली न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए । उनले १ सय १४ रन बनाएका थिए ।

क्विन्टनले यसअघि श्रीलंकाविरुद्ध जारी प्रतियोगितामा पहिलो शतक प्रहार गरेका थिए । यसपछि उनले अस्टे«लियाविरुद्ध १ सय ९ रनको शतकीय इनिङ खेले । बंगलादेशविरुद्ध भने उनले विस्फोटक ब्याटिङ गर्दै १ सय ७४ रन बनाए । यो जारी प्रतियोगितामा अहिलेसम्मको व्यक्तिगत उच्चतम रन समेत हो । उनले यसपछि बंगलादेशविरुद्ध शतक प्रहार गरे ।

यसैगरी क्विन्टन क्रिकेट विश्वकपको एकै संस्करणमा चार शतक प्रहार गर्ने तेस्रो ब्याटर बनेका छन् । यसअघि सन् २०१५ मा अस्टे«लिया र न्युजिल्यान्डमा भएको विश्वकपमा श्रीलंकाका कुमार सांगकाराले चार शतक प्रहार गरेका थिए । त्यस्तै इंग्ल्यान्डमा भएको क्रिकेट विश्वकप २०१९ मा भारतका रोहित शर्माले पाँच शतक प्रहार गरेका थिए ।

रोहितको कीर्तिमानसँग बराबरी गर्न क्विन्टनलाई एक शतकको आवश्यक त छ । तर, रोहित आफै पनि यस प्रतियोगितामा राम्रो लयमा रहेका छन् । उनले दुई शतक प्रहार गरिसकेका छन् । साथै रोहित क्रिकेट विश्वकपका सर्वाधिक शतक प्रहार गर्ने सूचीमा पहिलो स्थानमा छन् । उनले कूल ७ शतक प्रहार गरेका छन् ।

यस्तै क्विन्टन जारी प्रतियोगितामा ५ सय रन कटाउने पहिलो ब्याटर पनि हुन् । उनी एकै संस्करणमा सर्वाधिक रन बनाउनेमा दक्षिण अफ्रिकाका शीर्ष ब्याटर पनि बने । उनले हिजोको खेलसम्म ५ सय ३ रन बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका लागि एकै संस्करणमा सर्वाधिक रन बनाउने ब्याटर ज्याकस कालिस थिए । उनले २००७ को विश्वकपमा ४ सय ८५ रन बटुलेका थिए ।

२२ औं शतक
क्विन्टनले यो समेत गरी वानडे करियरमा २२ शतक प्रहार गरेका छन् । उनी वानडेमा शतक प्रहार गर्ने सूचीमा दक्षिण अफ्रिकाको लागि तेस्रो स्थानमा छन् । उनी भन्दा अगाडि हासिस अमला र एबी डिभिलियर्स छन् । उनीहरुले क्रमशः २७ र २५ शतक प्रहार गरेका छन् । तर, यो विश्वकपपछि संन्यास लिने भएकाले क्विन्टनले उनीहरुलाई पछि पार्न भने सक्ने छैनन् ।

अहिलेसम्म २५ शतक
भारतमा जारी विश्वकपमा अहिलेसम्म २५ शतक प्रहार भएका छन् । जसमा सबैभन्दा बढी दक्षिण अफ्रिकाबाट ८ शतक प्रहार भए । दक्षिण अफ्रिकाका लागि क्विन्टन डिककले ४, रोसी भानडर डुसेनले २, एडेन माक्रम र हेन्रिच क्लासेनले १÷१ शतक बनाए ।

यसैगरी पाँच पटकको विश्व विजेता टोली अस्टे«लियाका लागि ५ शतक बन्यो । डेविड वार्नरले २, ग्लेन मेक्सवेल, मिचेल मार्श र ट्राभिस हेडले १-१ शतक प्रहार गरेका हुन् । यस्तै न्युजिल्यान्डबाट ४ शतक आएकोे छ । जसमा रचिन रविन्द्रले २ तथा डेभन कोनवे र डेरिल मिचेलले १÷१ शतक प्रहार गरेका छन् । आयोजक टोली भारतबाट केवल ३ शतक आएको छ । एक विराट कोहली र दुई रोहित शर्माको नाममा छ ।

श्रीलंका र पाकिस्तानका लागि २-२ शतक प्रहार भएका छन् । श्रीलका लागि कुशल मेन्डिस र सदिरा समाराविक्रमाले शतक प्रहार गरे भने पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले शतक प्रहार गरेका छन् । अन्यमा गत संस्करणको विजेता टोली इंग्ल्यान्ड र बंगलादेशबाट अहिलेसम्म १-१ शतक मात्रै बनेको छ । इंग्ल्यान्डका लागि शतक डेभिड मलानले गरेका हुन् । बंगलादेशका लागि मोहम्मद मोहमुदुल्लाहले शतक प्रहार गरेका हुन् ।

न्युजिल्यान्डको लगातार तेस्रो हार
न्युजिल्यान्डले शुरुवातमा लगातार चार जित निकालेर विश्वकप उपाधि दावेदारी प्रस्तुत गरेको थियो । तर, पछिल्ला तीन खेलमा पराजित भएपछि न्युजिल्यान्डको लागि उपाधि दावेदारी कमजोर बनेको छ । बुधबार पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १ सय ९० रनले हराएको थियो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३ सय ५७ रन बनायो भने जवाफमा न्युजिल्यान्डको सबै खेलाडी १ सय ६७ रनमा पभेलियन फर्केका थिए । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन जोडे । दक्षिण अफ्रिकाको भने यो ७ खेलमा छैटो जित थियो । दक्षिण अफ्रिकाका लागि रासी भानडेर डुसेनले सर्वाधिक १ सय ३३ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्