क्वालिटी र मेलौली अन्तिम आठमा



बैतडी ।

टिम क्वालिटी कैलपाल र मेलौली नगरपालिकाको टोली जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल ) क्रिकेटको अन्तिम आठमा प्रवेश गरेका छन् ।

लिग चरणको अन्तिम खेलमा मंगलबार ग्वाल्लेक क्रिकेट क्लबलाई पराजित गर्दै कैलपाल समूह ए को विजेता बन्दै अन्तिम ८ मा प्रवेश गरेको हो । कैलपालले दिएको १ सय ७२ रनको लक्ष्यको जवाफमा ग्वाल्लेकले १ सय १५ रन मात्रै बनाउन सक्यो । ग्वाल्लेकका पंकज जोशीले ५३ रनको अर्धसतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि श्रीकृष्ण मावि पाटनको मैदानमा कैलपालले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो । जसमा प्रकाश पाण्डेयले ३५, राहुल चन्दले ३१ र प्रदिप चन्दले २७ रनको योगदान गरे । ग्वाल्लेकका हरि पन्तले २ विकेट लिए । ग्वाल्लेकका जोशी प्लेयर अफ द म्याच चुनिएका थिए ।

यस्तै अर्काे खेलमा दरशथचन्द स्मृति प्रतिष्ठानलाई १ सय ९१ को फराकिलो रनअन्तरले पराजित गर्दै समूह ए को उपविजेताको रूपमा मेलौली अन्तिम आठमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मेलौलीले निर्धारित १५ ओभरमै २ सय ५७ रनको विशाल योगफल तयार गरेको थियो । मेलौलीका लागि बसन्त सिंह कार्कीले ७६ र अशोक पालले ६८ रनको अर्धसतकिय पारी खेलेका थिए ।

जवाफि ब्याटिङमा उत्रेको प्रतिष्ठानको टिम ११.२ ओभरमा ६६ रन बनाएर अलआउट भयो । मेलौलीका सचिन भट्टले ४ विकेट लिए । मेलौलीका बसन्त सिंह कार्की प्लेयर अफ द म्याच चुनिए । हारसंगै समूह ए मै रहेका ग्वाल्लेक र प्रतिष्ठान प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्