नेपालको शुरुवात जितबाट



 काठमाडौं । 
नेपालले आइसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा जितबाट शुरुवात गरेको छ । सोमबार घरेलु मैदानमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएर जित हासिल गरेको हो । १ सय ४६ रनको विजयी लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेलले सर्वाधिक ७४ रन जोडे । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

२६ बलमै ५० रन पुरा गरेका कुशलको टी २० आई करिअरमा यो सातौं अर्धशतक हो । कुशलले दुई अर्धशतकीय साझेदारी गरेर नेपालको जित संभव पारेका थिए । उनले पहिलो विकेटका लागि आसिफ शेखसँग ९.१ ओभरमा ८४ रनको साझेदारी गरेका थिए । यसमा आसिफको योगदान २७ रन थियो । तर, उनले २६ बलको सामना गरेका थिए ।
यस्तै कुशलले दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५७ रनको साझेदारी गरेका थिए । रोहितले २४ बलको सामना गर्दै ३५ रन बनाए । उनको इनिङमा २ चौका र २ छक्का सामेल थियो । सिंगापुरका बलरमा अनन्त कृष्ण र अक्षय पुरीले १–१ विकेट सफलता हासिल भएको थियो ।

त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको पाहुना टोली सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो । टोलीका लागि ओपनर रोहन रंगराजनले ९ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाएका थिए । यस्तै डेब्यू गरेका आर्यवीर चौधरीले २६ बलमै ३७ रन जोडे ।

करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा पभेलियन फर्काएर नेपालको शुरुवात गतिलो गराएका थिए । तर, दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरे । सन्दीप लामिछानेले चन्द्रमोहनलाई ६ रनमा आउट गरेर उक्त जोडीको अन्त्य गरेका थिए । राम्रो सुरुवात गरेको सिंगापुरले यसपछि दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को दयनीय स्थितिमा पुगेको थियो । सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लूको धरापमा पारे । १०.२ ओभरमा ७०–५ को अवस्थामा रहेको सिंगापुरको ब्याटिङ छैटो विकेटको साझेदारीले बलियो बन्यो ।

मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । करणले खतरनाक देखिएको सो साझेदारी तोडेर नेपाललाई राहत दिलाए । उनले मनप्रितको विकेट लिएका थिए । मनप्रितले २६ बलमा २४ रन बनाएका थिए । नेपालको बलिङमा गुलशन झा, सन्दीप र करणले २÷२ विकेट बाँडेका थिए । अभिनाश बोहराले भने ४४ रन खर्चेर ३ विकेट लिएका थिए ।

ओमान विजयी

प्रतियोगिताअन्तर्गत नेपालकै समूहमा रहेको ओमानले पनि जित हासिल गरेको छ । ओमानले मलेसियालाई ३२ रनले हराएको थियो । ओमानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो ।

टोलीका लागि कप्तान जीशान मकसूद अर्धशतक प्रहार गरेका थिए । उनले ५६ रनको योगदान दिँदा ओपनर कश्यप प्रजापतिले २५ रन बनाए । अन्यले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । मलेसियाको बलिङमा विरानदीप सिंहले सर्वाधिक ३ विकेट लिएका थिए ।

जवाफमा मलेसिया १ सय २१ रनमै समेटियो । बलिङमा जमेका विरानदीपले ५७ रन बनाएपनि मलेसियाले जित हासिल गर्न सकेन । अन्य खेलाडीले उनलाई राम्ररी साथ दिन नसक्दा ओमानको लागि जित संभव भएको थियो । ओमानको बलिङमा जीशान र बिलाल खानले २-२ विकेट हासिल गरेका थिए ।

फाइनल पुग्ने टोली छनोट हुने

नेपाल प्रतियोगिताअन्तर्गत समूह ए मा रहेको छ । यो समूहमा नेपालसहित मलेसिया, सिंगापुर र ओमानको सहभागिता छन् । यसैगरी समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी २० विश्वकपमा खेल्न पाउनेछन् ।

दीपेन्द्रले प्रतियोगिता गुमाउन संभावना
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटका बाँकी खेल पनि गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरविरुद्ध खेल्न अघि अभ्यास गर्ने क्रममा दीपेन्द्रको बायाँ खुट्टामा चोट लागेको थियो । सिंगापुरविरुद्धको खेलमा खेल्न नसकेपछि उनको स्थानमा विवेक यादवलाई सहभागि गराएको थियो ।

प्रतियोगिताको यही साता नै सकिने हुँदा दीपेन्द्रले खेल्न संभावना न्यून भएको हो । दीपेन्द्र नेपालका लागि अलराउन्ड प्रदर्शन गर्न सक्ने एक मात्र खेलाडी हुन् । आक्रमक ब्याटिङ गर्न मन पराउने दीपेन्द्र नखेलेमा नेपालको लागि उनको कमी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्