टी-२० विश्वकप छनोट क्रिकेट: पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं ।

आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेल सोमबार नेपाल र सिंगापुरबीच हुँदैछ। सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो।

छनोट प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। कीर्तिपुर मैदानमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार, बिहान ९ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ।

यस्तै सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ। त्यो खेल नेपाली समयअनुसार, दिउँसो सवा १ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङकङ र कुवेतबिच चौथो खेल खेलाइनेछ।

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो। यो प्रतियोगिताबाट दुई वटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन्। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ। प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्। समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र यूएई छन्।

प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चार वटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्ने छन्। त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्