भारतमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डको लाचारी



 काठमाडौं । 

इंग्ल्यान्ड गत संस्करणको आईसीसी क्रिकेट विश्वकपमा शानदार खेल देखाउँदै विश्व विजेता बन्न सफल भएको थियो । चार वर्षपछि यही इंग्ल्यान्डको टोली लाचारी बन्छ भनेर कसैले पनि कल्पना पनि गरेको छैन होला । तर, इंग्ल्यान्ड पुरानो लय समात्न कोशिस गर्दा गर्दै भारतमा जारी प्रतियोगिताबाट बाहिरिनु प¥यो । इंग्ल्यान्डले ६ खेल खेलिसक्दा १ मा जित र ५ मा हार बेहोरेको छ ।

इंग्ल्यान्डले बंगलादेशलाई हराउनु नै एक मात्र जित भएको छ । अन्यमा न्युजिल्यान्ड, अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र भारतसँग इंग्ल्यान्ड नराम्रोसँग हारेको छ । इंग्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले, दक्षिण अफ्रिकासँग २ सय २९ रनले, अफगानिस्तानसँग ६९ रनले, श्रीलंकासँग ८ विकेटले र भारतसँग १ सय रनले पराजित भएको हो ।

इंग्ल्यान्डको २ अंक रहेको छ भने बाँकी खेल्नुपर्ने तीन खेलमा पनि प्रतिद्वन्द्वी टोलीहरु शसक्त नै छन् । इंग्ल्यान्डले साख बचाउन अस्टे«लिया, नेदरल्यान्डस् र पाकिस्तानसँग जित्नु आवश्यक छ । तर, चुनौती निकै कठिन छ । यहाँ पनि जित्ने संभावना कमै देखिएको छ । किनभने इंग्ल्यान्डका शीर्ष खेलाडीहरु ३० ओभरसम्म टिकेर खेल्न पनि सकिरहेका छैनन् ।
प्रतियोगिताको पहिलो खेलदेखि नै इंग्ल्यान्डको कमजोरी देखिसकेको थियो । २ सय ८३ रनको लक्ष्य दिए पनि न्युजिल्यान्डसँग ३६.२ ओभरमै इंग्लिस टोलीले आत्मसमर्पण गरेको थियो । जसमा इंग्ल्यान्डले एक विकेट मात्रै लिन सकेको थियो ।

इंग्ल्यान्डलाई हराउन न्युजिल्यान्डका दुई खेलाडी नै पर्याप्त भए । डेभन कोन्वे र रचिन रविन्द्रले जताबाट पनि रन बटुलेका थिए । उनीहरु अन्तसम्म आउट नभई दुबैले शतक प्रहार गरेर इंग्लिस बलरलाई हैरान बनाएका थिए ।
दोस्रो खेलमा इंग्ल्यान्डले बंगलादेशलाई हराएर प्रतियोगितामा पहिलो जित निकाल्यो । यो खेलमा डेविड मलानले १ सय ४० रन बनाए भने जोए रुटले ७२ रन र जोनी बेयरस्टोले ५२ रनको योगदान दिएका थिए । यो जितले इंग्ल्यान्डका खेलाडीको मनोबल बढ्नुपर्ने थियो । तर, भएन । तेस्रो खेलमा अफगानिस्तानसँग इंग्ल्यान्ड स्तब्ध बन्नुपरेको थियो । अफगानिस्तानले २ सय ८४ रन बनायो । यसको जवाफमा इंग्ल्यान्ड २ सय १५ रनमै समेटियो ।

अफगानिस्तानले विश्व विजेता इंग्ल्यान्डलाई हराएको नतिजा जारी प्रतियोगिताकै सबैभन्दा स्तब्ध नतिजा समेत बनेको छ । अफगानिस्तानले त्यसो त अर्को खेलमा पाकिस्तानलाई पनि हराएर सनसनी मच्चायो । तर, इंग्ल्यान्डलाई हराउनु क्रिकेट इतिहासमा ठूलो उपलब्धि भएको अफगानिस्तानका बलर राशिद खानले बताएका थिए । तीन खेलमा एक जित र २ हारपछि इंग्ल्यान्डको २ अंक मात्रै रह्यो । यसले टोलीमाथि निकै दवाव पनि भयो । यसको असर चौथो खेलमा राम्ररी नै उजागर भयो । यो खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध निकै आक्रमक ब्याटिङ गरेको थियो ।

अफ्रिकाले ३ सय ९९ रन बनायो जसमा हेन्रिक क्लासेनले १ सय १९ रन बनाएका थिए । यो खेलमा इंग्ल्यान्ड २२ ओभरमै १ सय ७० रन बनाएर अलआउट भएको थियो । विश्व विजेता टोलीले २५ ओभरसम्म पनि खेल्न सकेन । पाँचौ खेलमा श्रीलंकाविरुद्ध पनि इंग्ल्यान्डको प्रदर्शनमा सुधार भएन । इंग्ल्यान्डको पुरै टोली ३३.२ ओभरसम्म खेल्दै १ सय ५६ रनमै पभेलियन फर्केको थियो । यो समेत इंग्ल्यान्डले लगातार दोस्रो खेलमा २ सय रन कटाउन सकेन । श्रीलंकाविरुद्धको यो खेल इंग्ल्यान्डले ८ विकेटले हार बेहोरेको थियो ।

भारतलाई हराउन मौका गुमायो

छैटो खेल हिजो आयोजक टोली भारतसँग भएको थियो । इंग्ल्यान्डका बलरले भारतलाई निकै दवावमा राखेर २ सय २९ रनमा रोकेका थिए । लक्ष्य २ सय ३० रनको मात्रै थियो । यो सानो लक्ष्य थियो तर, इंग्ल्यान्डले यो सानो लक्ष्य पनि पाउने अवसर गुमायो ।

शुरुमै भारतका बलर जसप्रित बुमराह र मोहम्मद शामीले इंग्ल्यान्डको ब्याटिङको जग नै हल्लाइदिए । जोनी बेयरस्टो, बेन स्टोक्स, जोए रुट, डेविड मलान, लायम लिभिङस्टोन, मोइन अली, जोस बटलर जस्ता अनुभवी ब्याटर पनि विद्यालयका ब्याटर जस्तै बनेका थिए । कोही पनि क्रिजमा टिक्न सकेनन् ।

यी सात महारथी ब्याटरहरुको रन जोड्ने हो भने पनि ८२ रन मात्रै हुन्छ । इंग्ल्यान्ड ३४.५ ओभरमा १ सय २९ रनमा समेटिएको थियो । यो विश्वकप इतिहासमा इंग्ल्यान्डको अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन स्थापित भयो र टोलीको पुरै इंग्ल्यान्डमा आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्