विविध कार्यक्रम गरी मनाइयो युएनडे



काठमाडौँ। 

संयुक्त राष्ट्रसंघ स्थापना दिवस  (युएनडे) २०२३  विविध कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । राष्ट्रसंघको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोवर २४ मा हरेक वर्ष मनाइदै आएको  युएनडे यस पटक उक्त दिन वडादशैं परेको हुँदा आज कार्तिक १ गते  मनाइएको हो ।

दुई भागमा सञ्चालन भएको  उक्त कार्यक्रमको पहिलो भागमा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा शान्ति र्‍यालीको  आयोजना गरिएको थियो।   जङ्गी अड्डाको खेल मैदानबाट सुरु भएको पाँचकिलोमिटर दुरीमा सञ्चालित उक्त र्यालीमा  नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अधिकृत, विभिन्‍न युएनमिसनका  पूर्व फोर्स कमाण्डरहरु, विभिन्‍न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरु, सञ्चारकर्मी, लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरु सहभागी थिए ।

उप प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा सञ्चालन भएको दोस्रो भागको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको टोलीहरुद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै सैनिक ब्याण्डको प्रस्तुतीकरण समावेश गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै  परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्व शान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको कुरालाई दर्साउने बताए । नेपाली शान्ति सैनिकहरूले परराष्ट्र नीतिलाई सहयोग पुर्‍याउने कार्यका साथै द्वन्द्वग्रस्त समुदायहरूलाई द्वन्द्वको चपेटाबाट बाहिर निस्किन मद्दत गरी नेपालको छविसमेत उच्च राख्न सहयोग पुर्‍याएको बताउँदै यस्ता महान् कार्यहरूको सराहना गर्दै आफ्नो तर्फबाट दक्ष शान्ति सैनिकहरू खटाउन पूर्ण रूपमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि  उपप्रधान तथा रक्षा मन्त्रीले नेपाल संयुक्त राष्ट्रसंघको पहिचान र विश्व शान्तिको महान् कार्य प्रति समर्पित रहेको र संयुक्त राष्ट्रसंघको महासचिवको लैङ्गिक समानताको रणनीतिलाई अङ्गीकार गर्दै दक्ष महिला शान्तिकर्मीहरू तैनाथ गरिरहेको बताएका थिए  ।उनले  बदलिँदो शान्ति चुनौतीसँगै साधारण जनताको सुरक्षा संवेदनशीलता वृद्धि भएकोले उक्त चुनौतीको समाधानका लागि नवीन तवरले शान्ति कार्य सम्पादन गर्नु पर्ने र संयुक्त राष्ट्रसंघले माग गरेको अवस्थामा नेपाल सरकार दश हजार तालिम प्राप्त शान्ति सैनिकहरू पठाउन तयार रहेको जानकारी गराउँदै संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हन्ना गायक-हाम्डीले ५ जना सैनिक पर्यवेक्षकबाट सुरु भएको नेपालको शान्ति स्थापना यात्रामा हाल ६ हजार भन्दा बढी शान्ति सैनिक खटिनुले नेपाल संयुक्त राष्ट्रसंघको भरपर्दो सदस्य राष्ट्र भएको कुरा बताउँदै युएनडेको उपलक्ष्यमा  शुभकामना व्यक्त गरेका थिए।

समारोहमा समापन मन्तव्य राख्दै  प्रधान सेनापति प्रभुराम शर्माले बदलिँदो परिस्थितिहरु बिच शान्ति सैनिकहरूलाई समेत खतरा बढ्दै गएकोले शान्ति सैनिकहरू आधुनिक उपकरण र उच्च पेसागत दक्षताले सुसज्जित हुनुपर्ने बताए । नेपाल सरकारले संयुक्त राष्ट्रसंघलाई १०,००० शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धताको तयारी नेपाली सेनाले पूर्ण रूपमा गरिरहेको बताउनुका साथै फौजको दक्षता वृद्धि गरी सशक्त कार्य गर्ने क्षमता वृद्धि गर्न योजना गरी कार्यान्वयन भइरहेको उनले बताए । सोको लागि शान्ति सैनिकहरूको गतिशीलता र खबर सङ्कलनको क्षमता अभिवृद्धि गर्न प्रयास भइरहेको र उक्त कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको योगदानलाई समेत सराहना गरे ।

उक्त समारोहमा नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुख तथा पदाधिकारीहरु, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्