पूर्वराजा र सरकारको टीकाको साईत फरक

पुर्वराजाको १०ः५५ मा सरकारको ११ः २ मा



पूर्व राजा र पञ्चाङ निर्णायक समितिको साईत ७ मिनेटको फरक,महेन्द्र मञ्जिलमा १२ बजे, सर्वसाधारणलाई ४ बजे टिका

काठमाडौं, । पूर्वराजा र सरकारको टीकाको साईत ७ मिनेट फरक भएको छ । पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवारले दरबार छाडेपछि फरक साइतमा टिका लगाउने गर्दै आएको छ ।

यो वर्ष कार्तिक ७ गते टिकाको दिनमा १० बजेर ५५ मिनेट जाँदा पुर्वराजा र उहाँको परिवारले टिका लगाउने साइत तय भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । हरेक वर्ष पञ्चाङ निर्णायक समितिले राज्य प्रमुख, सरकार प्रमुख र अन्यकालागि विजया दशमीको साईत सार्बजनिक गर्ने गरेको छ । सरकारले यो वर्षको टीकाको साईत ११ बजेर २ मिनेट रहेको बताएको छ ।

तर निर्मल निवासले हरेक वर्ष फरक साईतमा टीकाको साइत तयगर्ने गरेको छ । स्रोतका अनुसार पूर्वराजाका मुल पुरोहित नगेन्द्रराज पाण्डे र ज्योतिषले तय गरेको साईतको आधारमा टीका लगाइदिने कार्यक्रम तय हुने गरेको छ ।
पञ्चाङ निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले शास्त्र अनुसार विश्वभरकालागि साइत तय गर्ने गरेको बताउनुभयो ।

तर धर्म, संस्कार र संस्कृतिमा विसंगति ल्याउनेहरुले फरक साइत निकाल्ने गरेको आरोप लगाउनुभयो । उहांले भन्नुभयो–राम्रो काम गरेपनि नगरेपनि प्रसिद्धी कमाउन आफ्नो किसिमका साइत निकाल्ने गरेका छन् ।
उहाले समितिले तय गरेको साईत राज्य सञ्चालन गर्नेको लागि मात्र भएको र सर्वसाधारणले आफ्नो अनुकुलमा टीका लगाउन मिल्ने जानकारी दिनुभयो । तर पूर्वराजाका पुरोहितले आफुलाई प्रसिद्ध ज्योतिष बनाउन आफैले साईन निकाल्ने गरेको उहाको आरोप थियो ।

साइतको टीका लगाएपछि पुर्वराजाको परिवार महेन्द्रमञ्जील स्थित आमा रत्नको हातबाट टिका लगाउन जाने कार्यक्रम तय भएको छ । मध्यान्ह १२ बजे महेन्द्र मञ्जिलमा टीकाको कार्यक्रम तय भएको छ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । महेन्द्र मञ्जिलमा टीकाटाला सकिएपछि निर्मल निवासमा फर्किने कार्यक्रम तय भएको स्रोतको भनाई छ ।

कोभिडदेखि सर्वसाधारणको लागि दशैको टीकामा बन्द रहेको निर्मल निवास यो वर्ष खुला हुने भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले दिउँसो ४ बजेदेखि सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम तय भएको छ । त्यसअघि विशिष्ट राजावादी र अन्यलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

यो वर्षको दशैमा पूर्वराजाको शक्तिपिठको दर्शनगर्ने कार्यक्रम रोकिएको छ । यसअघि महाअष्टमीको दिन राजधानीको सबै शक्तिपिठमा पुजा अर्चना गर्ने कार्यक्रम हुने गरेको थियो । लामो समयसम्म निर्मल निवास बाहिर रहदै आउनुभएका पूर्व युवराज पारस शाह यो वर्ष निर्मल निवासमै दशै मनाउनुहुने भएको छ ।

थाईल्याण्ड रहनुभएकी पुर्वयुवराज्ञी हिमानी शाह दशै मनाउन आज बुधबार नेपाल फर्किने कार्यक्रम रहेको छ । पुर्वराजा ज्ञानेन्द्रका नातिनीद्धय पुर्णिका र किर्तिका थाईल्याण्डमै रहनेछन । उच्च शिक्षाका अध्ययन गर्न लागि अमेरिका पुग्नुभएका नाति ह्ृदयन्द्र यो दशैमा नेपाल नआउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्