चाडवाड लक्षित सुरक्षा योजना- यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने 



काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कुन राजमार्गमा कति संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भन्ने विषयमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिनेछ । महत्वपूर्ण र संवेदनशील मानिएका राजमार्गमा चेक प्वाइन्ट राख्ने व्यवस्था गरेका छौं । कुनै पनि घटना घटेमा तत्काल घटनास्थलमा पुग्नेगरी प्रहरी परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं ।’

‘टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्ने कामलाई निरुत्साहित गर्न प्रहरीले बसपार्क र अन्य स्थानमा विशेष गस्ती शुरू गरेको छ । प्रहरीले प्रत्येक बसपार्कमा प्रहरी बिट स्थापना गरेको छ ।’

उहाँले चाडवाडमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताको आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो । आंकलन गर्दै पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन क्षेत्रमा सुख्खा पहिरो जानसक्ने सम्भावनालाई मध्यनगर गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ ।
सम्भावित घटनालाई रोक्न सडक विभाग, ट्राफिक प्रहरी सडक आयोजना प्रमुख लगायतसँग छलफल गरी मुग्लिन सडकको २४ सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रूपमा आवत जावत गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

यसै गरी दशैं तिहारको विशेष सुरक्षा योजनाअन्तर्गत सबै राजमार्गमा प्रहरी गस्ती बढाइने भएको छ । प्रत्येक बसमा सादा र बढी खतरा रहेको यात्रुवाहक बसमा हतियारसहित प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । राजधानीबाट टिकट लिने यात्रुको लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी सेवा दिन शुरू गरेको छ ।

टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्ने कामलाई निरुत्साहित गर्न प्रहरीले बसपार्क र अन्य स्थानमा विशेष गस्ती शुरू गरेको छ । प्रहरीले प्रत्येक बसपार्कमा प्रहरी बिट स्थापना गरेको जानकारी दिँदै प्रवक्ता डीआईजी कडायतले भन्नुभयो– ‘यात्रुलाई हैरानी नहोस् भनेर यो वर्ष विशेष सुरक्षा व्यवस्था गरेका छौं ।’

यात्रुको सहज यात्राका लागि राजधानीबाट बाहिरिने स्थानमा चेकपोस्ट स्थापना गर्नुका साथै उपत्यका छिर्ने नाकामा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।

उपत्यकाको सुरक्षाको लागि व्यापक प्रहरी परिचालन गर्ने, दशैमा गाउँ जानेहरूको खाली घरको जानकारी लिई सो घरमा प्रहरीले निगरानी बढाउने कार्य शुरू गर्नुका साथै विशेष गरी मानिसको भीडभाड हुने स्थान, सपिङ मल, गहना पसललगायतका स्थानमा सादा र प्रहरी गस्ती शुरू गरिएको प्रहरीले जनाएको छ ।

उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने 

दशै तिहार सुरक्षा योजनाअन्तर्गत उपत्यकामा करिब १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले करिब ११ हजार नेपाल प्रहरी र बाँकी सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी १२ हजार सुरक्षाकर्मी परिचालित हुने जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले चाडवाडमा एकीकृत सुरक्षा योजना बनाएर नियमित ११ र अन्य गरी १२ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो ।

बढी भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाट नियन्त्रण, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, सवारी साधनमा हुने मनपरी भाडा नियन्त्रण गर्न उपत्यकामा ३ जिल्ला प्रहरी परिसरलगायत वृत्त, प्रभाग र चौकीमा ती प्रहरी पचिालन गर्न लागिएको हो । त्यसका लागि राजधानीमा मात्र करिब ४ हजार प्रहरी परिचालन हुनेछन् । दशंै र तिहारको समयमा खाद्यान्नको कृत्रिम अभाव देखिने, मिसावट गर्ने भएकोले ती क्षेत्रहरूमा प्रहरीको संख्या बढाइनेछ ।

एआईजी थापाले उपत्यकाको सुरक्षा अवस्थाबारे जानकारी लिन र योजना तय गर्न तीन जिल्लाका २५ क्षेत्रमा सुनुवाई कार्यक्रम आयोजना गरेको र यो साता पनि उक्त कार्यक्रम जारी रहने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर विशेष सुरक्षा योजनाअन्तर्गत ललितपुर प्रहरीले सबै नगरवासीको घरमा पर्चा वितरण गर्ने, प्रहरी परिचालन गरी घरदैलो अभियान सञ्चालन गरिसकेको छ । ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहले साइकल र मोटरसाइकल गस्ती गर्नुका साथै सपिङ मल, गहना पसल र बसको टिकट काउन्टरमा शनिबारबाटै प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । ललितपुरमा ७ सय प्रहरी परिचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्