वुंगमती प्रहरी प्रभाग भन्छ-  सुरक्षित भएर चाड मनाउनुहोस् 



ललितपुर ।

 महानगरीय प्रहरी प्रभाग बुंगमतीले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ  उपत्यका प्रहरी कार्यालयको निर्देशनमा उपत्यकाका तीन परिसरसहित २५ वृत्त, प्रभाग र चौकीमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्न निर्देशन दिएपछि वुंगमती प्रभागले सो कार्यक्रम आयोजना गरेको हो ।

 कार्यक्रममा स्थानीय क्लब, महिला समूह, नागरिक समाज लगायतका स्थानीयले गुनासो सुनाएका थिए भने गर्नुपर्ने कामको बारेमा  सुझाव दिएका थिए ।

 सुनुवाइ कार्यक्रममा ललितपुर महानगरिपालिका –१८का वडा अध्यक्ष दामोदर खड्काले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ बनाउन  दुवै निकाय एक आपसमा हातेमालो गर्नुपर्ने बताए । भने –यहाँको प्रहरीलाई अभाव नै अभाव छ भन्ने जानकारी पाएको छु । आवश्यकताको आधारमा वडाले सहयोग गर्नेछ । उनले ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, जवातास नियन्त्रण गर्न विशेष पहल गर्नुपर्ने बताए ।

 ‘यो प्रहरी कार्यालयमा बजेट चल्दैन, सबैको सहयोगकै भरमा प्रहरी कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा पनि यो क्षेत्रमा निरन्तर शान्तिसुरक्षा कायम गर्न सफल यो प्रभागलाई धन्यवाद दिनैपर्छ’–वडाध्यक्ष खड्काको भनाई थियो ।  प्रहरीले आवश्यकताको आधारमा सहयोग गर्न वडा कार्यालय तयार रहेको उहाँको भनाई थियो ।

 कार्यक्रममा ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलत खत्रीले प्रशासनिक रुपमा अति संवेदनशील रहेको यस क्षेत्रमा प्रभागले गरेको कामको प्रशंसा गरे । उनले यस क्षेत्रवासीको शान्तिसुरक्षा कायम गर्न थप सुरक्षा व्यवस्थालाई मजबुत पार्नुपर्ने बताए। ट्राफिक व्यवस्थापन, चोरी र लुटपाट नियन्त्रण गर्न यस प्रभागले महत्त्वपूर्ण काम गरेको बताए ।

कार्यक्रममा बोल्दै नागरिक सरोकार समाजका टंक वास्तोलाले यसक्षेत्रमा विकृति र विसङ्गति बढ्दै गएको गुनासो गरे । त्यसलाई नियन्त्रण गर्न प्रहरीले नियमित गस्ती बढाउनुपर्ने ,चेक प्वाइन्ट खडा गर्नुपर्ने उल्लेख गरे । उनले यस क्षेत्रमा सामाजिक चुनौती बढ्दै गएको बताए ।

स्थानीय मिलन थापाले जनताको शान्तिसुरक्षामा कायम गर्न गरेको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले सवारी चेकजाँचको क्रममा ट्राफिक प्रहरीले केही दुःख दिएको गुनासो गरे । प्रहरीले कागजाग चेक गर्दा व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए ।

श्रीवालकुमारी श्रृजना क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी शालिकराम कुँवरले चाडवाडमा हुने आपराधिक गतिविधि रोक्नुपर्ने, सवारी चेकजाचलाई व्यवस्थित गर्नुपर्ने, जुवातास खेल्न नियन्त्रण गर्नुपर्ने, यस बडासँग जोडिएको नाकामा चेकजाँचमा कडाई गर्नुपर्ने बताए ।

 स्थानीय मालती महतले ट्राफिक प्रहरीले चालक अनुमतिपत्र चेकजाँच गर्दा दुःख दिएको गुनासो गरिन्  । उनले सरकारले सञ्चालन गरेको नागरिक एपमा राखिएको अनुमतिपत्रलाई मान्यता दिनुपर्ने बताइन्  । ‘ट्रीपरले दैनिक दुःख दिने गरेको , साघुरोबाटोमा हुइँक्याएर मोटरसाइकल चलाउनेमाथि नियन्त्रण लिनुपर्ने लगायत विषयमा उनको गुनासो थियो ।

 कार्यक्रममा बोल्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले वडा प्रमुख सहित सबै नागरिक अगुवाले दिएको विषयलाई गम्भीरताका साथ कार्यान्वयन गर्ने वचनबद्धता व्यक्त गरे । उनले भने–हामीले यस विषयलाई प्रभागको सुरक्षा योजनामा समावेश गरेर कार्यान्वयन गर्नेछौ ।

 उनले दसैँ तिहार विशेष सुरक्षा योजनाको बारेमा जानकारी गराउँदै घर छाडेर बाहिर जाँदा अनिवार्य रुपमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे । जिल्ला प्रहरी परिसरले दिएको निर्देशन अनुसार आजबाट यो क्षेत्रमा  चाडबाड लक्षित विशेष सुरक्षा योजना लाग्ु भैसकेको बताए । कालो बजार नियन्त्रण, जुवातास, लागु पदार्थ सेवन नियन्त्रण  लगायत  विषयमा विशेष अभियान सुरु गरेको  उनको भनाई थियो । गस्ती बढाएका छौ, यस वडाको सिमानामा रहेका क्षेत्रमा विशेष चेकजाँच सुरु । मोटरसाइकल गस्ती, सादा पोशाकको प्रहरी परिचालन, सपिङमल, गहना पसल, बैक वित्तीय संस्था, बढी भिडभाड हु्ने निकायमा गस्ती बढाएको जानकारी दिए  । उनका अनुसार  भोलीबाट थप प्रहरी परिचालना गरी सुरक्षा  दिने तयारी भइरहेको छ । फरक प्रसङ्गमा उहाले यस क्षेत्रको सुरक्षा व्यवस्था मजबुत भएकोले ढुक्क भएर चाडबाड मनाउन अनुरोध गरे ।

 प्रभागका ट्राफिक प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजु भण्डारीले चाडबाडको समयमा मादब पदार्थ सेवान गरी सवारी  नचलाउन आग्रह गरे । उनले भने–सवारी चलाउँदा  अनिवार्य रुपमा सबै कागजात बोक्नुहोला , समस्या परेमा तत्काल नजिकैको ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोला ।

 उनले आपराधिक गतिविधि नियन्त्रण गर्न विभिन्न क्षेत्रमा पोस्ट खडा गरेर चेकजाचलाई निरन्तराता दिने बताए । उनले चाडबाड लक्षित सुरक्षा योजना लाग्ु भैसकेको अवस्थामा सोही अनुसार सवारी चेकजाँच हुने जानकारी दिए।

 हामी तपाईहरुकै सेवा गर्न बसेका हौ, हामी तपाईका साथी हौ, ट्राफिक व्यवस्थापन बारे कुनैपनि गुनासो आए तत्काल हामीलाई जानकारी गराए समस्या समाधान गर्न तयार छौ–ट्राफिक व्यवस्थापनको विषयमा केही गुनासो आएपछि उनले सुझाव दिए । कार्यक्रममा  प्रभग अन्तर्गत ५ वटा वडाका  जनप्रतिनिधि, व्यवसायी, लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्