क्यानडामा गुञ्जियो नेपथ्य



क्यानडाको क्यालगरी सहरको केन्द्रमा अवस्थित प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सहभावगता बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट सम्पन्न भएको छ।

स्थानिय समयअनुसार आइतबार बेलुकी सम्पन्न कार्यक्रमको शुरुमा नेपथ्यको पहिलो प्रस्तुतिस्वरूप सा कर्णालीको भिडियो देखाइएको थियो। दर्शकको स्वागतका बीच मञ्चमा नेपथ्य टोली देखा परेपछि पहिलो सांगीतिक प्रस्तुतिस्वरूप कोशीको पानी यो जिन्दगानी सुनाइएको थियो। एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाईबाट संकलन गरेको गीतपछि क्रमशः भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, आँगनैभरि र खान्न म त लामपाते सुरतीले कार्यक्रमलाई निरन्तरता दिएको थियो।

गायक अमृत गुरुङले त्यसपछि पनि चरि म¥यो, जोमसोमे बजार, शिरफूल, नैनातालजस्ता गीतहरू सुनाएका थिए। ‘तपाईंहरूले विदेशमा कमाएको सीप, पैसा अनि तपाईंको मेहनतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ’ गीतको बीचमा सन्देश समेत दिँदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितहरूको आवाजलाई साथ दिने र समाजमा मानवता प्रवद्र्धनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले मानवताको लागि संगीत अभियानलाई अघि बढाउँदै आइरहेको छ।’ उनले क्यानाडाको यो श्रृंखलाबद्ध भ्रमण पनि सो उद्देश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी गराए। कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीन हिट गीत रेशम, तालको पानी र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै रातो र चन्द्रसूर्य सुनाइएको थियो। अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रतिक्रिया दिनुहोस्