नेपालको पदक जित्ने सम्भावना बढ्यो 



हाङझाउ ।

हाङझाउ एसियाडको महिला कबड्डीमा नेपालले सोमबार विजयी सुरुआत गरेसँगै पदक जित्ने सम्भावना पनि प्रबल बनाएको छ ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएपछि जारी एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना मजबुत बनाएको हो । तीन राष्ट्र सम्मिलित रहेको यस समूहमा नेपाल र बंगलादेशसहित इरान रहेको छ । मंगलबार नेपालले इरानसँग खेल्दैछ।

 उक्त खेलमा नेपाल विजयी बनेमा सेमिफाइनल पुग्ने सुनिश्चित हुनेछ। यदि इरानसँग पराजित भएमा भने आगामी बुधबार यसै समूहको अर्को खेलमा इरानविरुद्ध बंगलादेशको खेलले नेपालको अघिल्लो चरणको यात्रा निर्धारण गर्नेछ। यदि उक्त खेलमा इरानले बंगलादेशलाई हराएमा भने नेपालले सेमिफाइनलमा पुग्दै कम्तीमा पनि कांस्य पदक सुनिश्चित गर्नेछ । इरानी महिला कबड्डी टोली गत १८औं संस्करणको एसियाली खेलकुदको स्वर्ण पदक विजेता समेत हो ।

यसपटक महिला कबड्डीमा जम्मा सात राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् । मेणुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो ।

त्यसैगरी ब्याडमिन्टनको पुरुष डबल्समा जीवन आचार्य र विष्णुको जोडी अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम-३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र  रसिद मोहम्मद अज्फानको जोडीलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।

बिजे जिमन्यासियम कोर्टमा भएको खेलमा नेपाललाई जित हासिल गर्न ३५ मिनेट लाग्यो । १७ मिनेट चलेको पहिलो सेटमा नेपालले २१-१८ को जित हासिल गर्यो । दोस्रो सेट १९ मिनेटसम्म चल्यो । जसमा नेपालले २१-१७ को जित हासिल गर्यो । यसअघि आजै भएको अन्य खेलमा नेपालले मिक्स्ड डबल्स बाहेक सबै प्रतिस्पर्धामा हार ब्यहोर्यो ।

मिक्स डबल्समा विष्णु र नंसला देवी तामाङको जोडीले २४ मिनेटसम्म चलेको खेलमा मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-७ ले पराजित गरे । यसबाहेक पुरुष एकलमा जापानका केन्टा निश्हिममोटोसँग २-० को सोझो सेटमा पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सिमित भयो । प्रिन्सले खेल १२-२१, ७-२१ ले गुमाए ।

पुरुष एकलमै सुनील जोशी पनि थाइल्यान्डका कान्ताफोन वाङ्चारोएनसँग सोझो सेटमै पराजित भए । सुनील ७-२१, ९-२१ को हार ब्यहोर्दै पहिलो चरणबाटै बाहिरिए । मिक्स्ड डबल्सको अन्तिम ३२ मा जीवन आचार्य र निता लम्सालको जोडी सिंगापुरका जेसिका टाङ र टेरी हिको जोडीसँग ४-२१, ३-२१ ले निराश भयो ।

यसैगरी पुरुष डबल्समा प्रिन्स र सुनीलको जोडी थाइल्यान्डका पिरताछाइ सुखफुन र पक्कापोन तेरारत्सकुलको जोडीसँग ८-२१, ५-२१ ले स्तब्ध बन्दा अन्तिम-३२ बाटै बाहिरियो । नेपालले महिला सिंगल्स र महिला डबल्समा भने प्रतिस्पर्धा गर्न बाँकी छ ।

त्यसैगरी भारोत्तोलनअन्तर्गत समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १ सय ५८ केजी भार वहन गरिन् । आफ्नो समूहमा सारदा पाँचौं स्थानमा रहिन् । स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् । सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो ।

 सारदाले क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भएन । यसैसंगै भारतोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन् । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।

त्यसैगरी महिला भलिबलमा नेपाल दक्षिण कोरियासंग ३–० को सोझो सेटमा पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा १ घण्टा १२ मिनेट चेलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो । समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसंग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्