गलत कर्म, गाली, कलहले गर्दा नरमाइलो देश



विकसित मुलुकहरुमा प्रायः भ्रष्टाचार हुँदैन । त्यस हिसाबले उनीहरुको मुलुक दिन दुगुणा रात चौगुणाको हिसाबले द्रुतगतिमा बिकास भइराखेको हुन्छ । तर यहाँ हाम्रो मुलुकका बुद्धिजीवीहरु तथा देश चलाउनेहरु उनीहरुबाट शिक्षा लिन चाहँदैनन् । यिनीहरुमा शिक्षाको कमी, भिजनको कमी, अहंता, खराब लहलहैमा हिँड्ने भएकै कारण हाम्रो मुलुक पछि परेको मान्न सकिन्छ । जब आफूमा देशलाई दौडाउने क्षमता छैन भने कसरी हुन्छ ? उसले साम, दाम, दण्ड, भेद गरेर पनि मुलुकलाई द्रुत विकासमा लैजानुपर्दछ । तर अफसोस ! अहंकार, स्वार्थ, कलह र कार्यकर्ता मोहले गर्दा नै अझै मुलुक डामाडोल भइराखेको छ । खालि भोट किनी जितेर जबरजस्ती मन्त्री, प्रधानमन्त्रीमात्र बन्ने रहर गरेर हुँदैन । जनतालाई खुशी बनाउने, देशलाई अघि बढाउने आपूmमा शक्ति छैन भने कुर्सीको मात्र बदनाम हुन्छ । त्यो नेताले जिन्दगीभर समाजको गाली खाएर बस्नुपर्ने हुन्छ । फेरि के मजा आयो त अनेक तन्त्रहरु ल्याएर ? अहिलेको परिपे्रक्ष्यमा जनताका राय–सुझाव लिएर अघि बढ्नु नै नेताहरुको हित हुन सक्छ ।

पहिला जग बलियो बनाउनुस् :

सर्वप्रथम प्रधानमन्त्रीले संविधानमा संशोधन गर्नु जरुरी छ कि देश चलाउनेहरुको संख्यामा कमी गर्ने, कार्यकर्ता कमी गर्ने, भत्ता सहुलियत कमी गर्ने आदि कुराहरुमा ध्यान दिनु जरुरी छ । अहिले मुलुकमा विकासका लागि घाँडो नै यिनै कुराहरु हुन् । तर हरेक सरकारले यी कुराहरुलाई बेवास्ता गरिराखेका छन् । यी कुराहरु अहिले नसुध्रिए पनि पछि नयाँ राम्रा सरकारहरुले सुधार्नुपर्ने देखिन्छ । देश सधैँ पछि परिराख्नुको कारण यहाँका नेताहरु विदेशीहरुका कठपुतली भइराख्नु पनि एक हो । छिमेकी राष्ट्रले जतिसुकै हेपे पनि, नाकाबन्दी लगाए पनि, जग्गा मिचे पनि, जलस्रोतमा पेले पनि यस्ता कुरामा हाम्रा देश चलाउने नेताहरु पंगु तथा निकम्माजस्ता भएर बसेको देखिन्छ । यिनीहरुले देश गरिब भएकाले सहेर बसेका हुन् या आफ्नो स्वार्थसिद्धका लागि हो, यी कुराहरु भने बुझ्न गाह्रो छ ।

देशमा लोकतन्त्र, गणतन्त्र आएर पनि अनेक विकृतिको विकास भइराखेको छ । तर अचम्मको कुरा यो छ, प्रायः सब कुकर्महरु पचिनै राखेका छन् । यस्ता अनैतिक कार्यहरुका लागि अख्तियार, पुलिस प्रशासन, न्यायालय आदि पनि उत्तिकै लागिपरिराखेका छन् तर देश चलाउनेहरुको अगाडि केही लाग्दैन । यिनीहरु पनि बिक्न बाध्य हुन्छन् । यी सबका कारणले गर्दा नै राजनीतिक क्षेत्र एउटा जनताको नजरमा खराब नाटक मण्डली पो हो कि भन्ने आभास भइराखेको छ । अहिले देशको अवस्थालाई हेर्दा एउटा पुरानो हिन्दी सिनेमाको याद आउँछ । त्यो चलचित्रको नाम हो ‘हम सब चोर है’ ।

राजनीतिक अत्याचार, सर्वसाधारणका समस्या, कठिनताले गर्दा अहिले आएर केही राम्रा नेताहरु समाजको लागि कराउनेहरु पनि छन् । तर अहिले यस्ताको कम संख्या तथा आर्थिक कमजोरले गर्दा यिनीहरु उति दह्रो हुन सकिराखेका छैनन् । तर राम्रो दिन यिनीहरुको पनि पक्कै आउनेछ । यसका लागि राम्रा–राम्रा मगज भएका बुद्धिजीवीहरुले आउने चुनावको लागि अहिलेदेखि नै कसरत गरेर बस्नुपर्छ । अनिमात्र राम्रो राजनीतिक मिसन सफल हुन सक्छ ।

हाम्रो मुलुकमा सरकारी कर्मचारी, व्यापारीहरु पनि ठीक छैनन् । यिनीहरु पनि आ–आफ्नो ठाउँमा स्वार्थी तथा अवसरवादी हुन्छन् । हाम्रो मुलुक पछि पर्नुमा यिनीहरुको पनि निकै नै ठूलो हात छ, जुन भनिराख्नुपर्ने कुरा होइन । अहिले हाम्रो मुलुकमा द्रुत विकास नहुनुको एउटा कारण धेरै पुच्छर नभएका हनुमानहरु पनि हुन् । यिनीहरुको काम नै गलत राय–सुझाव दिने, आपसमा लड्ने, लडाउने र मुलुकलाई सुस्त गराइराख्ने हो । यस प्रकारका हुनमानहरुमा भीआईपी हुनुमान, मिडिया हुनमान, अल्छी हनुमान, गुण्डा हनुमान, झोले हनुमान, कवि हनुमान, खोले हनुमान आदि ने प्रमुख हुन् । यस प्रकारका हनुमानहरु पनि मुलुकका लागि हानिकारक हुन् । जसले गर्दा दम नभएका नेताहरुका लागि बलियो खम्बा बनेर यिनीहरुले काम गरिराखेका हुन्छन् । देश चलाउनेहरुले सेवा, सहुलियत, सुविधा र सस्तो जीवन जनतालाई दिन नसक्नुको एउटा कारण यो पनि हो । तर हाम्रो राम्रो दिन नआउन्जेल यिनीहरुलाई धेरै गाली पनि नगरौँ । समयले मलहमको काम गर्नेछ ।

वास्तवमा भन्ने हो भने, देश चलाउनेहरुमा राम्रो भिजन नहुनु ने विडम्बना भएको छ । जस्तै– अधुरा राजमार्गको निर्माण खोइ ? तर सानो मुलुकमा रेलको विकास, धेरै फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय एयरपोर्टहरुको विकास, स्मार्ट सिटीको विकासजस्ता कार्यहरुका लागि यिनीहरु आतुर भइराखेको देखिन्छ । यिनीहरुले यस्ता विकासमा ¥याल चुहाइराखेका हुन्छन् । व्यक्तिगत स्वार्थले गर्दा यस्ता विकासप्रति यिनीहरु निकै मोहित भइराखेका हुन्छन् । तर हामी भन्छौँ, देशको जग बलियो बनाऊँ पहिला । यसबाहेक दाताबाट आउने रकम, रेमिट्यान्स, करबाट उठ्ने रकम आदिका लागि पनि यिनीहरुले सधैँ मुख आँ गरिराखेका हुन्छन् । फेरि यस्ता मनुष्यहरुबाट जनताले अपेक्षा गर्नु ?

अन्त्यमा एउटा कुरा पोख्न चाहन्छु, सधैँ एकपक्षलाई मात्र गाली गरेर मजा आउँदैन । केही न केही दोष सबै पक्षमा छ । तर पनि देशमा जबसम्म फटाहा नेताहरु हुन्छन्, अल्छी झोलेहरु धेरै हुन्छन्, यसबाहेक अल्लड मानिसहरु र ममचा बुद्धि भएका मानिसहरु धेरै हुन्छन्, त्यो मुलुक सुध्रन गाह्रो छ । जे होस्, मुलुक बदल्नका लागि सबैजना आ–आफ्ना ठाउँबाट बदलिनु आजको आवश्यकता हो । अन्यथा यो मुलुकमा सधैँ गाली, कलह, अभाव, द्वेष भइरह्यो भने यहाँ अशान्ति भइरहन्छ । यसले गर्दा मुलुक सधैँ नरमाइलो हुन्छ, जुन हामीले नै भोग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्