साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक, स्टेजमै भक्कानिए राजेश र कविता



काठमाडौँ ।

सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ ।

भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए । साथै गायक राजेशपायल राईले आफूलाई ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताए । उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए।

कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायाङ्कनको क्रममा आफूछेउ आएको जस्तै भान भएको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका संगीतकार संघ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई सांगीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए । सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको तस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए ।

यस सांगीतिक चलचित्रको गीतमा शब्द रचना बिक्रम साम्पाङको रहेको छ भने संगीत शङ्कर थापा ‘स्माइल’को रहेको छ । यसमा राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ । गीतलाइ विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।

२० मिनेट लम्बाइको यस चलचित्रलाई देव जङ्ग थापाले निर्देशन गरेका छन् । माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको ‘हे दैव’ मा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र विवेक उप्रेतीको सम्पादन रहेको छ । प्रोडक्सन डिजाइन दिपेन गौतम ‘माइकल’ले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्