ओस्कारमा नेपालबाट हल्कारा



अमेरिकामा आगामी हुने ९६औं संस्करणको अस्कर अवार्डको लागि नेपालबाट फिल्म हल्कारा पठाइने भएको छ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमबार विक्रम सापकोटाद्वारा निर्देशित हल्कारालाई सिफारिस गर्ने निर्णय गरेको हो।

समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई फिल्म बुझाउन आग्रह गरअनुसार नेपालबाट डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले सहभागिताका लागि आवेदन दिएका थिए।

समितिले फिल्मको प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकताजस्ता पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

राजु केसीको अध्यक्षताको समितिमा मञ्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामिप्यराज तिमल्सेना र रीतिका भट्टराई सदस्य रहेका छन्। ओस्कार अवार्ड मार्च १० का दिन लस एन्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्