समयसँगै फेरियो तीज भाका अधिकांशको ध्याउन्न भ्युज कमाउनेमै



यसपालि अधिकमासले हिन्दू महिलाको पर्व तीजलाई केही पर धकेलिदिएको छ। सधैं भदौमा पर्ने तीजले यसपालि भने असोज छोएको छ।

ढिलो शुरु भए पनि तीज लक्षित गीत भने असारदेखि नै बजारमा आइरहेका छन्। सयौंको संख्यामा तीज गीत बजारमा आए पनि लोकप्रियता भने औँलामै गन्न सकिने तीज गीतले मात्र पाए। बजारमा आएका थोरै गीत मात्र दर्शक स्रोतासामु लोकप्रिय भए भने अन्यले सफलताको स्वाद चाख्न पाएनन्।

पहिले विवाहित महिलाले तीजका बेला माइत गएर आफ्ना साथीसंगीका साथ सुख दुःख साटेर गाउने तीज भाकाको दायरा पछिल्लो समय फेरिएको छ। अहिले महिलाहरू पहिलेजस्तो घर धन्दा र चूलो चौकामा मात्र सीमित छैनन्। उनीहरू समाजका हरेक क्षेत्रमा पुरुषसरह भूमिका निर्वाह गरिरहेका छन्। अहिले साथी संगीका साथ मनको सुुख दुःख साट्न र माइत जान तीज नै कुर्नुपर्ने अवस्था पनि छैन।

सञ्चार र प्रविधिले मारेको फ्डकोले महिलालाई आफ्ना सुख दुःख बाँड्न तिज कुर्नपर्ने बाध्यता हटाइदिएको छ। यातायातको चरम विकासले चेली र माइतीबीचको भौतिक दूरी पनि घटाइदिएको छ। यो समयमा पनि पहिलेझैं माइत जान नपाएको र वर्षभरिका दुःख गीतमा समेट्नु तर्कसंगत नरहला। त्यसैले, तीज गीतका शब्द र भावमा फरकपन आउनु स्वाभाविकै नै मान्न सकिन्छ। तर, अधिकांश गीतमा लाइक र भ्युज कमाउने ध्याउन्नमा असम्बन्धित टुक्का र शब्द प्रयोग भएको पाइएको छ। बजारमा आएका अधिकांश गीत मौलिकता र सांस्कृतिक पक्षमा ध्यान दिनेभन्दा पनि बजारमुखी भएको पाइन्छ।

पछिल्लो समयमा आएका अधिकाशं गीतले भाइरल हुने तरिका र शैलीलाई पछ्याइरहेका छन्। गायक गायिकाको ध्यान कसरी गीतलाई स्तरीय र मौलिक बनाउने भन्दा पनि कस्ता शब्द र शैली प्रयोग गर्दा गीत हिट, अझ भनौं भाइरल हुन्छ भन्ने ध्यानमा राखेर गाएको र त्यहीअनुसार शब्द र भाका चयन गरेको पाइन्छ।

बजारमा आएकामध्ये केही गीतले महिलाको दुःख, पीडा, भावना र सन्देश बोकेका पनि छन्। यसपालि पुराना तथा नया“ गायक गायिकाले तीजलक्षित गीत ल्याउने क्रममा गायिका विष्णु माझीले पुतलीको भट्टी (भाग १९) बलमा बोलको गीत ल्याइन्। सार्वजनिक भएको छोटो समयमै यस गीतले लोकप्रियता हासिल गरेको छ। बुट्टे चोली धोइछु छुन्न नभन, माइत जान्छु राजा हुन्न नभन, आहै मेरो बलमा। यस्ता शब्दका साथमा गीतमा माइत जाने बेला पत्नीले पति सामु आफ्ना कुरा राखिरहेकी छन्।

गायिका शान्तिश्री परियारको अरेली काँडैले बोलको गीतले युट्युबमा सर्वाधिक भ्युज कमाएको छ। सार्वजनिक स्थलदेखि सामाजिक सञ्जालसम्म जताततै बजिरहेको सुनिने यो गीतले तहल्का मचाएको छ। छैनन् नि साइँली हाम्रा नि कमको घुमाउरो जुंगा मेरा प्रियतमको, आहै मेरी बास्सै…अरेली काँडैले मलाई च्वास्सै। यस्ता शब्दका साथ यस गीतमा पत्नीले पतिको बयान गरेको छ।

गायिका एलिना चौहानको स्वर, दीपक शमर्“को शब्द र संगीत रहेको कल्ले देख्यो र बोलको गीतले पनि उस्तै चर्चा कमाएको छ। बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले बुझ्यो र बाँकी यो जिन्दगी अर्कैलाई दिएको कल्ले बुझ्यो र? भन्दै गीतमा एक महिलाले आफ्नो वेदना पोखेकी छन्। त्यस्तै, तीज गीत गायनमा प्रख्यात गायिका सिन्धु मल्लले पनि ऐना हेरी भुतुक्कै बोलको गीत ल्याएकी छिन्। आँखैमा लाउने गाजल मन परेको टिकिया असनैमा किन्देको राजैले,कति राम्रो सुहाको निधारैमा बिन्दिया ऐना हेरि भुतुक्कै लाजैले। उनको गीतमा भनिएको छ।

यस वर्ष गायिका सिर्जना खत्री (हाउडे माया) ले अविवाहित युवतीले झेल्ने गरेको बिहे कहिले गर्ने भन्ने प्रश्नलाई आफ्नो गीतको विषय बनाएकी छिन्। चट्ट कपाल खाली सिउँदो राता राता पहिरन बिहे कहिले गर्ने भन्ने प्रश्नले छु हैरान। गीतमार्फत सिर्जनाले विवाहभन्दा पनि महिला आत्मनिर्भर बन्नुपर्छ भन्नेमा जोड दिएकी छन्।

अभिनेत्री गौरी मल्लले पनि आफ्नै शब्द, स्वर र संगीतमा तीज गीत धिन ताका नाका धिन ल्याइन्। गौरीका साथ अभिनेत्री मिथिला शर्माको जोडदार नृत्य रहेको गीतले भन्छ भेला भएका छौं आज फुकाई धक, साथी संगी छिमेकी एकै ठाउँमा भेट लाज सरम पन्छइदेउ, घिनघिन मादल घन्काइदेउ। गौरीले नै कोरेको गीतमा तीजको बेला भेट भएका साथी संगी तथा आफन्तबीच रमाइलो गर्दै दुःख पीडा भुलाउने पर्वको रूपमा तीजलाई चित्रित गरिएको छ। यस वर्ष अभिनेत्री प्रिंयका कार्की, नीता ढुंगाना, स्वेता खड्का, दीपाश्री निरौलालगायतलाई पनि तीज गीतका भिडियोमा धेरै देखियो।

उता बिनु ढकाल पौडेलले कमेडी शैलीको गीत ल्याइन्। बस्यो माया झ्याप्पै हजुर बिर्सनलाई गाह्राे छ टिकटकको यो सम्बन्ध नि साह्रै प्यारो छ। हल्का टुच्च लाएपछि एक पाइलो नि हिन्दिन, ढोकासम्म लिन आऊ है बाटो चिन्दिन, साथी संगी मिलेर दर खान जानी हो, दरसँग हल्का टुच्च पानी लाउनी हो। सामाजिक सञ्जालको लोकप्रियता र प्रयोगसँगै महिलाको परिवर्तित जीवनशैलीलाई गीतमा यसरी प्रस्तुत गरिएको छ। यस वर्ष केही मौलिक तीज भाका पनि बजारमा आएका छन्। गायिका पवित्रा रसाइलीले बीबी अनुरागीको शब्दमा पुरानो शैलीको तीज गीत ल्याएकी छन्। सोह्र पुगी सत्रमा पुगेकी थिए भर्खर घरमा पनि बिहे गर्दिने गरे तरखर। उनको यो गीतले यसरी पहिलेका समयका नारीको जीवन शैली र दुःख सुखलाई सम्झाएको छ।

पहिले विवाहितले महिलाले गाउने भनिएको तीज गीत अहिले अविवाहित र पुरुषले पनि गाउन थालेको धेरै भइसकेको छ। केही गायकले यसपालि पनि तीज गीत गायनमा निरन्तरता दिएका छन्। गायक पशुपति शर्मा, भागिरथ चलाउने, प्रकाश सपूत, रामजी खाँडलगायतले तीज गीत गाएका छन्। प्रकाश सपूत, खेम सेन्चुरी, सुनीता बुढालगायतले गाएको कमाउने नि हो रमाउने नि हो बोलको गीतले कामकाजी महिला आफ्नै कमाइमा रमाउने भएसँगै फराकिलो भएको महिलाको सामाजिक दायरालाई प्रस्तुत गरेको छ। चौधरी हैन अम्बानी हैन तै पनि मनमा पीर चिन्ता छैन, बेला मौकाले हुने हो खर्च उमेरै छँदा रमाउनुपर्छ कमाउने नि हो रमाउने नि हो।

गायक दुर्गेश थापाले पनि दुर्गा नाच्छे बिच्च बिच्चमा बोलको गीत ल्याएका छन्। सुमित्रा कोइरालासँग गाएको गीतमा दुर्गेशले महिलाको भेषमा नाचेर भ्युज बटुल्ने नयाँ शैली अपनाएका छन्। मुर्रा भैसी दूध किनी ल्याको छु आयो तीज चेलीलाई डाक्या छु। पुष्कर सुनुवार र अनु चौधरीले गाएको यो गीतमा सामाजिक सञ्जालमा चर्चामा रहेको मुर्रा भैसीको सन्दर्भलाई गीतमा जोडिएको छ। समयसँगै गीत संगीतमा परिवर्तन भए पनि तीजको सांस्कृतिक महत्वका पक्षलाई पनि ध्यानमा राखेर लवाइखवाइको प्रतिस्पर्धाको भन्दा पनि खुसीको पर्व हो भन्ने सन्देश तीज गीतको प्रस्तुतीकरण र शैलीले दिन सक्छन्।

तर, अधिकांश गीत यसमै चुकेका छन्। पहिलेको तुलनामा हालका महिलाको अवस्था उस्तै नभए पनि दूरदराजका महिलाका अवस्था र सुगमका महिलाका पेशागत तथा सामाजिक जीवनका कठिनाइ तथा सफलताको कथालाई पनि गाउन सके महिलाको पर्वमा आधारित तीज गीतको दयरा फरक भएजस्तै प्रभावकारिता पनि बढ्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्