नेपाल आर्मी र दिल्लीको बराबरी



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

कोक्राझारको साई सेन्टर रंगशालामा बुधबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य बन्यो । यो बराबरीसँगै समूह ‘इ’ को आर्मीले एक अंक जाडेको छ । दिल्लीको दुई खेलमा दुई अंक छ । दिल्लीले यसअघि हैदराबाद फुटबल क्लबसँग १–१ कै बराबरी खेलेको थियो ।

आसामको कोक्राझारस्थित साइ मैदानमा ८८औं मिनेटमा गोल खाँदा आर्मी र दिल्लीको खेल १–१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा दिनेश हेन्जनले गरेको गोलमा आर्मी अघि बढेको थियो । दोस्रो हाफमा दिल्लीले पुनरागमनको प्रयास गर्दा गोलरक्षक विकेश कुथुलाई बिट गर्न निकै प्रयास गरेको थियो ।

अन्तिम तीन मिनेट सम्हालिन नसक्दा आर्मी अंक बाँड्न बाध्य भयो । पहिलो हाफको ३९औं मिनेटमा दिल्लीका गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै आर्मीले अग्रता लिएको थियो । नवयुग श्रेष्ठको क्रस गोलरक्षक पवन कुमारले फुस्काएपछि कमल थापाले दिएको पास दिनेशले गोलमा परिणत गरेका थिए । खेलको ८८औं मिनेटमा दिल्लीले बराबरी गोल फर्काएको थियो । सुरुवाती प्रहार क्रसबारमा लगेर फर्केपनि रिबाउन्डमा गिरीक घोश्लाले हेडरमार्फत गोल गर्दा दिल्ली खेलमा फर्किएको थियो ।

समूहमा अर्को खेल भोलि चेन्नईयन र हैदरावादबीच हुनेछ । आर्मीले अब दोस्रो खेलमा सोमबार चेन्नईयनसँग खेल्नेछ । अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदरावादसँग हुनेछ । हरेक समूहबाट समूह विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । ६ समूह मध्यबाट उत्कृष्ट दुई दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्