संगीत शिक्षाबारे अन्तक्र्रिया



राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा राजधानीको कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा संगीत शिक्षाको महत्व विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तक्र्रिया कार्यक्रममा संघका महासचिव संगीतमै स्नातकोत्तर गरेका योगेन्द्र उपाध्यायले संगीत शिक्षाको महत्वबारे सहभागीलाई प्रष्ट पारेका थिए। अनौपचारिक शिक्षा र औपचारिक शिक्षा बीचको भिन्नता केलाउँदै उनले स्कूलबाट नै संगीतको औपचारिक पढाइ हुनुपर्नेमा जोड दिए। भ्वाइस अफ नेपाल किड्स सिजन २ का उपविजेता रिजन डाँगीले सिकेर मात्र संगीतमा लाग्न सुझाव दिए। एकेडेमीका सहायक प्रिन्सिपल दामोदर निरौलाले अतिरिक्त क्रियाकलापअन्तर्गत भए पनि नियमितरूपमा संगीतको अध्यापन गराउँदै आएको जनाए।

विभिन्न कक्षामा अध्ययनरत दुई सयभन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा बाल गायक तथा एकेडेमीका विद्यार्थी जेम्स महराले आफूभित्रको प्रतिभा प्रष्फुटनका लागि यस्ता कार्यक्रमले प्रेरणा प्रदान गर्ने जनाए। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, पिम नेपालका अध्यक्ष माधवराज खरेल, चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष विष्णुप्रसाद सुवेदी, संगीत शिक्षक सुवास चन्द्र जोशी, शिक्षक श्रीधर पौडेललगायतले संगीत शिक्षाको बारेमा आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बालगायकद्वय रिजन डा“गी र जेम्स महराले गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्