एसईई उत्तीर्ण दलित विद्यार्थी सम्मानित



काभ्रे। 

नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेले २०७९ सालको एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका दलित विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

 पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमबीच सम्मानसहित प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।

 कार्यक्रममा बोल्दै पूर्वमन्त्री बास्कोटाले श्रमसँग जोडिएको सम्पत्तिलाई व्यक्तिले डटेर निरन्तर प्राप्ति गर्नु पर्ने बताउनुभयो । विगतमा जस्तो सामन्ती युग समाप्त भएकाले छुवाछुत समेत हट्दै गएको अवस्थामा परम्परागत सिप तथा क्षमतालाई नयाँ युग सुहाउँदो प्रविधि र पुस्तालाई हस्तान्तरण गर्दै मानव एउटै हो भन्ने आभास हुने गरी शैक्षिक र व्यवहारिक दुवै विषयको अध्ययनका लागि विद्यार्थीहरूलाई पूर्वमन्त्री बास्कोटाले शुभकामना दिनु भयो । एउटा व्यक्तिले अवसर पाउँदैमा र उ मात्रै शिक्षित हुँदैमा सिङ्गो समुदाय परिवर्तन हुन्छ भन्ने कुरा सम्भव नभएको बताउँदै पूर्वमन्त्री बास्कोटाले अध्ययनसँगै जीवन बुझ्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा जिल्लाभरका २ सय भन्दा धेरै विद्यार्थीहरु सहभागी भएका थिए । जिल्ला अध्यक्ष तेज नेपालीले दलित समुदायलाई राज्यले उपलब्ध गराएका विभिन्न प्रकारका अवसरलाई सदुपयोग गर्न विद्यार्थीहरूलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा एमाले काभ्रेका सचिव राजन भुर्तेलले व्यक्तिको सोच परिवर्तन गर्न शिक्षा र चेतनालाई जोड दिनु पर्ने बताउनुभयो । अवसरलाई उपभोग गर्दै थप अवसर सिर्जनाका लागि व्यक्तिको क्षमता अनुसारका सिप तथा शिक्षालाई ब्यवहारमा उर्तान अनुरोध गर्नु भयो । दलित भएकै कारण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था बिस्तारै कम हुँदै गएकाले बदलिँदो प्रविधि र समयलाई आत्मसाथ गर्दै विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्न  सचिव भुर्तेलले अनुरोध गर्नु भयो ।

 एमाले जिल्ला उप सचिव रिता ढकालले राणा, पंचायतकालको जस्तो अवस्था नभएको बताउँदै गणतन्त्र प्राप्तिसम्म आइपुग्दा दलित समुदायलाई राज्यले हेर्ने दृष्टिकोण समेत बदलेको बताउनुभयो ।

कार्यक्रममा एमाले सचिवालय सदस्य तथा क्षेत्र नम्बर २ का संयोजक रामशरण दाहाल, अनेमसंघ जिल्ला अध्यक्ष विमला सापकोटा, मुक्ति समाजका केन्द्रीय सदस्य सम्झना परियार, अनेरास्ववियु केन्द्रीय सदस्य सुमन जैरु, मुक्ति समाज बागमती प्रदेशका अध्यक्ष नविन घतानी, अनेरास्ववियु जिल्ला अध्यक्ष मिलन गौतम, मुक्ति समाजकी जिल्ला सचिव गिता सुनार लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्