दौड संस्कृति प्रवर्द्धनमा एनआरएस स्पोर्टस र इनड्राइभको सहकार्य



काठमाडौँ ।

नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभले सहकार्य गर्ने भएको छ ।

एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्न नयाँ कार्यक्रम ल्याउने भएको छ । जुलाई १२ देखि सुरु हुने उक्त कार्यक्रममा १२ वर्षमुनिका खेलाडीलाई प्रशिक्षण प्रदान गरिनेछ ।

नेपालमा खेलकुदको प्रवर्द्धनका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्य कोशेढुंगा उपलब्धि हुने विश्वास रहेको एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । उहाँले सहकार्यको उद्देश्य खेलकुदप्रति रुचि राख्ने सबै उमेर समूह तथा स्वास्थ्य र तन्दुरुस्तिमा जागरुक व्यक्तिदेखि व्यवसायिक धावक र यो क्षेत्रका नवप्रवेशीलाई एक थलोमा ल्याउने बताउनुभयो । प्रशिक्षण कार्यक्रम काठमाडौ उपत्यकानजिकका सहरमा आयोजना हुनेछ । जसमा काठमाडौँसहित पाटन, भक्तपुर, थिमि, कीर्तिपुर, हेटौँडा, बुटवल र पोखरा रहेका छन् ।

एनआरएस स्पोर्टस पाउन्डेसन अध्यक्ष श्रेष्ठ भन्नु हुन्छ, ‘यो कार्यक्रम सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ र नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी छौँ । प्रशिक्षण र यसका लागि चाहिने सहयोग उपलब्ध गराउन सक्ने हो भने हामीले त्यस्ता नेपाली धावकको खोजी गर्न सक्छौँ, जसलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न योग्य बनाउन सक्छौँ ।’

प्रशिक्षण कार्यक्रम अनुभवी प्रशिक्षकहरूबाट सञ्चालन गरिनेछ । प्रशिक्षकसँग दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउबारे पर्याप्त ज्ञान रहेको हुनेछ । प्रशिक्षार्थीलाई आफ्नो सिप तिखार्न, स्टामिना बढाउन र समग्रमै प्रदर्शन उच्च पार्न मदत मिल्नेछ । यो साझेदारीले नेपालमा खेलकुद विकास र विस्तारमा ठूलो योगदान पुग्ने आशा गरिएको छ । युवा तथा सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवर्द्धन गर्न इनड्राइभले तीन सय धावकलाई काठमाडौँ म्याराथनमा सहभागी हुन मदत गर्नेछ । काठमाडौँ म्याराथन सन् २०२३ को अक्टोबरमा आयोजना हुँदैछ । यो कार्यक्रम विश्वस्तरमै रहेको असमानतालाई चुनौती दिन सामुदायिक रूपमै सशक्तीकरण गर्ने प्रयासको एक उदाहरण बन्नेछ ।

एनआरएस स्पोर्टस फाउन्डेसन प्रालि खेलकुदको इभेन्ट्स म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको छ र यसले नेपालमा खेलकुदका विभिन्न गतिविधिको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । इन ड्राइभ एक ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म रहेको छ । यसको मुख्यालय अमेरिका क्यालिफोर्नियाको माउन्ट भ्युमा रहेको छ । यसको अहिलेसम्म १७ करोड ५० लाख पटक डाउनलोड भइसकेको छ । यसरी इन ड्राइभ विश्वकै सबैभन्दा बढी डाउनलोड हुने दोस्रो मोबिलिटी एप्लिकेसन समेत हो ।

प्रतिक्रिया दिनुहोस्