नेपाल यू १६ इस्ट जोन कपको फाइनलमा



काठमाडौं । नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाली टोली फाइनलमा पुगेको हो । नेपालले जितको लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो । सिंगापुरको पुरै टोली ३१.३ ओभरमा ८७ रन बनाएर पभेलियन फर्केको थियो । नेपालले फाइनलमा मलेसियासँग खेल्नेछ । घरेलु टोली मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई हराएको थियो । फाइनल खेल मंगलबार हुनेछ ।

नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरमै प्रमुख ब्याटर श्रेयान चयौंलाई आउट गरेका थिए । तर, दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । रोशन ३७ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । रोशन आउट भएपछि भने सिंगापुरले पुन संघर्ष गरेको थियो ।

राहिल पनि ३१ बल खेल्दै ७ रन बनाएर आउट भए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५–५ रनमा आउट भए । नेपालका कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए । नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालका लागि ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए । नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका थिए । सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । उनले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।

सुर्यांशु आउट भएपछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेन । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट तीन रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भएपछि नेपाल ८६–३ को अवस्थामा पुगेको थियो । हरिहरनले निरज कुमारलाई ४२ रनमा क्याच आउट गराए ।

मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८, प्रतिक भट्टराई १२ र अशोक धामी डक आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १चौका र १ छक्कासहित २५ रनमा आउट भए । दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्