प्रिमियरमा मनपराइयो परस्त्री



बिहीबारबाट आएको फिल्म परस्त्रीको बुधबार राति राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शो गरिएको छ।

प्रिमियरका सहभागीहरुले सस्पेन्स थ्रिलर जनरामा निर्मित फिल्म मनपराएका छन्। सहभागीहरुले कलाकारहरुको अभिनय तथा सुरज पाण्डेको डेब्यु निर्देशन र दीपेन्द्र के खनालको लेखनको प्रशंसा गरेका थिए। निर्मात्री आमा शर्मिला पाण्डेको चाहना पूरा गर्न होम प्रडक्सनको फिल्म लभ लभ लभमा नवनायकको रुपमा काम गरेका सुरज पाण्डेको सपना भने निर्देशक बन्ने थियो। आप्mनो सपना पूरा गर्ने क्रममा निर्देशन गरेको पहिलो फिल्म परस्त्रीबाटै उनले निर्देशनमा बलियो सम्भावना देखाएका छन्।

सस्पेन्स थ्रिलर कथामा निर्मित फिल्मलाई सुरजले २ घण्टाको कसिलो फ्रेमभित्र बाँधेका छन्। यसैले, फिल्मको कथावस्तु र प्रस्तुतिले दुई घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले प्रतिक्रिया दिए। फिल्मबाट सुरजले सस्पेन्स थ्रिलर कथामा कसरी काम गर्नुपर्छ भन्ने गतिलो उदाहरण दिएको लामिछानेको भनाइ छ। अभिनेत्री स्वस्तिमा खड्काले पनि निर्देशक सुरज र कलाकारहरुको कामको खुलेरै तारिफ गरिन्। सुरजले लभ लभ लभमा आफूलाई एउटा राम्रो कलाकारको रुपमा चिनाएको थियो। परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेँ, स्वस्तिमाले सुनाइन्।

श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने प्रीडाको कथामा निर्मित फिल्मका मुख्य तीन कलाकार कोशिस क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामको राम्रो प्रशंसा भएको छ। विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्मित भएको फिल्म नीरज कँडेलले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्