खडक वारियर्स र रुपनी राइडर्स विजयी



सप्तरी । राजविराजमा जारि सप्तरी प्रिमियर लिगको चौंथो दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन् ।

पहिलो खेलमा खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गर्यो । राजविराजले दिएको ८८ रनको लक्ष्य खडकले ६.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । खडकको यो लगातार दोश्रो जित हो । खडकको ब्याटिंगमा कप्तान बिबेक यादवले विस्फोटक पारि खेले। उनले मात्र १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाए । साहिल पटेलले १२ तथा राज्वार्मा र सन्दिप रजालीले समान ११ रन बनाए। राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि शंकर रानाले सर्वाधिक २६ तथा तृत राज दासले १७ रन बनाए। खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ४ ओभर बलिंग गर्दिया १ मेडन ओभर सहित १७ रन मात्र खर्चिए। यस्तै अनिल यादवले ३, बिबेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए।

दोश्रो खेलमा रुपनी राइडर्सले लिगमा दोश्रो जित दर्ता गर्ने क्रममा कन्चनरुप राइनोजलाई ७ विकेटले पराजित गर्यो। कन्चनरुपले दिएको १३८ रनको लक्ष्य रुपनी राइडर्सले १३.४ ओभरमै पुरा गर्यो। रुपनीको ब्याटिंगमा रोहन बिकले सर्वाधिक ५५ रन बनाए । अविजित रहेका उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

रोहन प्लेयर अफ द म्याच समेत चुनिए। यस्तै भोला शाहले ३७ बलमा ७ चौका र १ छक्का मद्दतले ४५ रन तथा अरनिको यादवले १४ बलमा १ चौका र ४ छक्का मद्दतले अविजित ३६ रन बनाए। रोहन र भोलाले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। उसको लागि नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए जुन क्रममा २ चौका र ५ छक्का प्रहार गरे। अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए। रुपनीका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २÷२ तथा मुकुन्द यादवले १ विकेट लिए।

खडक वारियर्स दुवै खेलमा जितको साथ ४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलान बिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ। तिन वटै खेलमा पराजित राजविराज द किंग छैठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्