बेल्जियमले जित्यो, पोल्यान्ड पराजित



लन्डन, (एजेन्सी) । युरोकप २०२४ को छनोट खेलमा बेल्जियमले सानदार जित निकालेको छ भने पोल्यान्डले स्तब्ध नतिजा बेहोरेको छ ।

बेल्जियमले इस्टोनियामाथि ३–० गोलअन्तरको सहज जित हात पारेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा जोहान बाकायोकोले एक गोल थपेका थिए । इस्टोनियामा मंगलबार राति भएको खेलको ३७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई १–० ले अग्रता दिलाएका थिए । उनले एस्टरको पासमा गोल गर्न सफल भएका थिए । खेलको ४०औं मिनेटमा लुकाकुले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले अर्थर थिटको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ९०औं मिनेटमा जोहान बाकायोकोले गोल गर्दै बेल्जियमको जित पक्का गरे । उनले यान्निक कारास्कोको पासमा गोल गर्न सफल भएका थिए । यस जितसँगै समूह ‘एफ’ मा बेल्जियम तीन खेलबाट सात अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पराजित इस्टोनिया एक अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियाले स्वीडेनलाई २–० ले पराजित गरेको छ । अष्ट्रियाको जितमा दुवै गोल क्रिस्टोफ बोउमगार्टनरले गरे । यस जितले अष्ट्रिया चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित स्वीडेन तीन अंक जोडेर तेस्रो स्थानमा छ । त्यसैगरी समूह ‘ई’ को खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पोल्यान्ड मोल्दोभासँग ३–२ ले स्तब्ध बनेको छ । मोल्दोभाको पूनरागमन जितमा आयन निकोलेस्कुले दुई तथा भ्लाडेस्लाभ बाबोग्लोले एक गोल गरे । स्वीडेनका एर्काडिअस्ज मिलिक र कप्तान रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो । मोल्दोभामा मंगलबार राति भएको खेलको १२औं मिनेटमा मिलिकको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो । ३४औं मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डको अग्रता दोब्बर पारे । तर, त्यो दुई गोलको अग्रतालाई पोल्यान्डले जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

खेलको ४८औं मिनेटमा आयनले गोल गर्दै मोल्दोभालाई खेलमा फर्काउने संकेत दिएका थिए । ७९औं मिनेटमा आयनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा भ्लाडीस्लाभले गोल गर्दै पोल्यान्डलाई ३–२ को हार चखाए । यस जितले मोल्दोभा चार खेलबाट पाँच अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित पोल्यान्ड तीन खेलबाट तीन अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा अल्वानियाले फारोइ आइल्यान्डलाई ३–१ ले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्