जिल्लामा पनि रोकियो आदिपुरुष



जानकी भारतीय छोरी हुन्ु भन्ने आपत्तिजनक संवादलाई लिएर केही दिनयता विवादित बनिरहेको भारतीय फिल्म आदिपुरुषको प्रदर्शन अन्ततः काठमाडौंसँगै देशका विभिन्न भागमा रोकिएका छन्।

भारतमै पनि विभिन्न ओराप र आलोचनाको शिकार भइरहेको दक्षिण भारतीय फिल्म धरानमा पनि प्रदर्शन रोक लगाइएको छ। सोमबार सुनसरीको धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत धरानमा आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका छन्। ञधरानमा आदिपुरुष नचलाउनु होला, जय देश सामाजिक सञ्जालमा उनले लेखेका छन्। त्यस्तै, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि एक पत्र लेख्दै पोखराका हलमा कुनै पनि भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएका छन्। ञदक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगर क्षेत्रभित्रका चलचित्र घरमा कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाएको व्यहोरा जानकारी गराइन्छ, पत्रमा लेखिएको छ।

बिहीबारबाट शुरु भएको फिल्मसम्बन्धी विवाद सोमबारबाट थप चर्किन पुगेको हो। गत बिहीबार फिल्ममा विवादित संवाद भएको भन्दै नेपाली सेन्सर बोर्डले आदिपुरुषलाई प्रदर्शनको सर्टिफिकेट दिएको थिएन। भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तको हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिइएको थियो। काठमाडौं महानगरपािलकाका प्रमुख बालेन्द्र शाहले फिल्ममा समावेश संवादलाई नेपाल तथा भारतमा सच्याउन फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएका थिए। आइतबारसम्म पनि संसारभर प्रदर्शनरत उक्त फिल्मको विवादित संवाद नसच्याइएको भन्दै बालेनले सोमबारबाट काठमाडौं महानगर पालिकाभित्र सबै भारतीय फिल्म रोक्न निर्देशन दिएका थिए। शाहको निर्देशनपछि आइतबार बेलुकी नै नगर प्रहरीलाई हलमा खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइएको थियो।

यसैबीच, आइतवार बेलुकी आदिपुरुषको निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई इमेलमार्फत एक पत्र पठाएर फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ। यदि हामीले नेपाली नागरिकको संवेदनामा असर पारेको भए माफी माग्छौ। फिल्ममा राघव पात्रको रुपमा रहेका अभिनेता प्रभासले बोलेको संवाद सीता माताको जन्मथलोलाई इंगित नगरी समग्र भारतीय महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा प्रस्तुत गर्न खोजिएको हो, कम्पनीकी राधिका दासले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ। पत्रमा उक्त संवादलाई बृहत् जनसमुदायमा इतिहासप्रति रुचि जगाउने क्रममा प्रस्तुत गरिएका कारण कलात्मक शैलीबाट मात्र बुझ्न भनिएको छ। यस पत्रले घुमाउरो शैलीमा फिल्मको संवादमा गलत नरहेको दाबी गरिएका छ। अर्कातिर देशका विभिन्न स्थानमा फिल्म आदिपुरुष नचलाउने निर्णय भएपछि सो फिल्मको नेपाल वितरक संस्था ब्यकटेस इन्टरटेन्मेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै देशभरि फिल्म बन्द गरेको घोषणा गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्ट्याटस लेखेकै भरमा सिनेमा घरले फिल्मको प्रदर्शन रोकेको र देशका विभिन्न स्थानमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेकोले आफूहरुले नै फिल्म रोकेको विज्ञप्तिमा जनाएको छ।

प्रतिक्रिया दिनुहोस्