बालविवाहविरुद्ध बालबालिकाकै नाटक



धादिङ । एउटा परिवारको घरमूलीले १६ वर्षको एक बालिकाको विवाह गरिदिने निर्णय गर्दछन्। बालिका मान्दिनन्, तर हजुरआमाले आफूले १५ वर्षमा बच्चा पाइसकेको बताउँदै बिहेको लागि दबाब दिएपछि बालिका विवाह गर्न बाध्य भएको अवस्थामा गाउँमा गठित बाल समूहले स्थानीय तहको सरकार र नेपाल प्रहरीको सहयोगमा हतार हतार गरिएको विवाह रोकिन पुग्छ। बालविवाह गर्न नपाइने कानुनी व्यवस्था रहेको र त्यसो गरे विवाह गर्ने गराउने दुवैलाई सजाय हुने नाटकले दर्शाउँछ, दर्शक ताली बजाउँछन्।

एउटा बालविवाह हुँदा समाज पछि पर्ने भएकोले बालविवाह गर्न नहुने सन्देशमूलक नाटक बालबालिका आफैंले तयार गरी प्रस्तुत गरेका हुन्। गल्छी गाउँपालिका वडा नम्बर ६ मा गठित बाल समूहहरुले प्रस्तत गरेको बालविवाह विरोधी चेतनामूलक नाटक हरेकले बालविवाह गरेपछि दुःख पाइने, कानुनी अप्ठेरो पर्ने र बालविवाह भएको अवस्थामा विवाह दर्ता नभई सम्पत्तिको अधिकारसमेत नपाउने अवस्था आउने सन्देश सडक नाटकले दिएको थियो। गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, ६ नम्बर वडा अध्यक्ष दीपक कार्कीलगायतको आतिथ्यतामा सम्पन्न नाटक मञ्चन कार्यक्रमको सञ्चालनसमेत बालबालिकाले नै गरेका थिए।

नाटक तथा नृत्य प्रतियोगिताको आयोजना गाउँपालिकाको सहयोगमा बालसञ्जालले आयोजना गरेको थियो। नाटकतर्फ वागेश्वरी बालसमूह प्रथम, जिन्टेटार बालसमूह द्वितीय र स्वास्थ्य बाल समूह तृतीय भएको छ। यसैगरी, नृत्यतर्फ बाँझागाउँ बाल समूह प्रथम, राइजिङ बाल समूह द्वितीय, प्रगतिशील बाल समूह तृतीय र अमलेश्वर बाल समूह सान्त्वना भएको छ।

प्रतिक्रिया दिनुहोस्