फिल्म पत्रकारलाई सम्मान र पुरस्कार



चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाका दिन जेठ सात गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउने क्रममा आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्ना सदस्य फिल्म पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

संघले २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा फिल्म पत्रकारहरूलाई पत्रकारिता सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान र पुरस्कार प्रदान गरेका थिए। संघका अध्यक्ष समीर बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष शान्ति प्रियलाई नगद ५५ हजार पाँच सय ५५ रुपियाँ सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० प्रदान गरिएको छ।

त्यसैगरी, पत्रकार तुलसी गिरी भावुक र चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० प्रदान गरिएको छ।

त्यस्तै, जनही ५१ हजार रुपियाँ नगदसहित कुबेर डंगोल र दीपज्योति थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०, श्रृष्टि पोखरेललाई ल्यापटपसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० तथा संघको शाखाबाट सिफारिस भएकामध्ये २५ हजार रुपियाँ नगदसहित चितवन शाखाका निवर्तमान अध्यक्ष रवी अधिकारीलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदानगरिएको छ।

कार्यक्रममा ६० वर्ष पार गरेका पत्रकारलाई मासिक चार हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरी विजयरत्न तुलाधरलाई दुई महिनाको आठ हजार रुपियाँ प्रदान गरिएको थियो। त्यस्तै, पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने र कार्यक्रम सम्पन्न गर्न सघाउनेहरूलाई कदर पत्र प्रदान गरिएको थियो।

नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, संस्थापक पदाधिकारी विश्वमणि पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेता तथा निर्माता दीपकराज गिरी लगायतले फिल्म पत्रकारिता तथा फिल्म क्षेत्रका विविध पक्षबारे चर्चा गरेका थिए। कलाकार र पत्रकारबीच सहकार्य हुनुपर्ने चर्चा गर्दै कुनै पनि कलाकारले पार्टीमा लाग्न नहुने र त्यसो भए उ एउटा गुटको कलाकार हुने तथा सबैको नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्