सेन्सर सर्टिफिकेट पायो काँडेतारले



केही दृश्य र संवादका कारण सेन्सर पास हुन नसकको फिल्म काँडेतारले ती दृश्य र संवाद हटाएपछि सेन्सर सर्टिफिकट पाएको छ।

सेन्सर बोर्डले बिहीबार पुनः फिल्म हेरी ती दृश्य र संवाद हटाएपछि सेन्सर सर्टिफिकेट दिएको हो। फिल्मका निर्माता, अभिनेता तथा निर्देशक नवल खड्काले फिल्म सेन्सर फुकुवा भएको जानकारी गराए। सेन्सर बोर्डले बाल दर्शकले अभिभावकको निगरानीमा हेर्न मिल्ने गरी फिल्मलाई पीजी प्रमाणपत्र प्रदान गरेको छ। बिहीबार सेन्सर गर्नुअघि निर्माता र सेन्सर बोर्डका पदाधिकारीबीच फिल्ममा समावेश गृह मन्त्रालयका दृश्य र भ्रटानबारेको संवाद हटाउनेलगायत विषयमा सहमति भएको थियो। भारतले सीमा अतिक्रमण गरेको भन्ने कतिपय प्रसंगमा सेन्सर बोर्ड लचिलो बनेको खड्काले जानकारी दिए।

सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्मित काँडेतार खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित फिल्म भएको खड्काले जानकारी गराए। शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे फिल्ममा नवल खडका, गौरव पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम विश्वास, बालकलाकार नादिया खड्का र सनया खड्कालगायतले अभिनय गरेका छन् भने मणि थापा र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन तथा बन्दे प्रसाद र तारा थापा (किम्भे) को सम्पादन रहेको छ। फिल्ममा माकिको राई र अञ्जु केसी निर्माता तथा गायिका सत्यकला राई कार्यकारी निर्मात्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्