भारत कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैया



भारतको कर्नाटक राज्यमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन् ।

सुरूमा मुख्यमन्त्रीमा दाबी गरेका शिवकुमारलाई उपमुख्यमन्त्रीमा मनाउन पार्टीले उनलाई अन्य महत्वपूर्ण पद दिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

सिद्धारमैया र शिवकुमारलाई आधा-आधा कार्यकाल मुख्यमन्त्री बनाउनेबारे छलफल भए पनि निर्णय नभएको बताइएको छ ।

कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्वपूर्ण भूमिका खेलेका छन् । सिद्धारमैया भने आम मतदातामा निकै लोकप्रिय छन् ।

मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ शनिबार मध्याह्न साढे १२ बजे हुने बताइएको छ । त्यसका लागि कंग्रेस विधायक दल (सिएलपी)को बैठक आज साँझ ७ बजे बोलाइएको छ ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । २२४ सदस्यीय  विधानसभाको  १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्