ट्रेलरमा नीरफूल



आगामी जेठ २६ गते देशभर रिलिज हुन फिल्म नीरफूलको ट्रेलर सार्वजनिक गरिएको छ।

युट्युबमार्फत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा महाभूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्केको एक दम्पतीको संघर्षको कथा व्यथा देखाइएको छ। २०७२ सालको महाभूकम्प र प्mयामिली मिसिङको कथावस्तु समेटिएको फिल्म कोरोनाका कारण लकडाउन भएकाले हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा र जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा पत्रकार फूलमान बलले गरेका छन्।

फिल्मको पटकथा लेखकसमेत रहेका निर्देशक बलले भुकम्पले भत्काएका मनलाई फिल्म नीरफूलमार्फत जोड्ने प्रयास गरिएको बताए। ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धको पुनर्निर्माण अझै बाँकी छ’ पूmलमानको भनाइ छ ‘नीरफूल तिनै भत्किएका सम्बन्धको सानो कथा हो।’ अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभलाग्दो भएकै कारण अरु फिल्मको व्यस्तताको बीच नीरफूललाई समय निकालेर रुबी भ्याली पुगेर काम गरेको बताए।

‘यो फिल्ममा अन्य फिल्ममा भन्दा निकै फरक भूमिका गरेको छु’, उनले भने। फिल्ममा समाज आएन, कन्टेन्ट आएन भन्ने आरोप लागिरहेको बेला नीरफूलले त्यो अभाव पूर्ति गर्ने दाबी अभिनेता राईको छ। धादिङको रुबीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्। सचिन घिमिरे एसोसियट निर्देशक रहेको फिल्ममा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्