चल्नै छोडे फिल्म, नाम चलेकैलाई लगानी उठाउन धौधौ



पछिल्लो समयमा आएर नेपाली फिल्मको व्यवसाय संकटमा परेको छ। नवनिर्माणमा आएकादेखि नाम चलेका एकसे एक फिल्म तथा ठूला ब्यानरका फिल्मसमेतले बक्स अफिसमा निराशाजनक परिणाम दिएको पाइएको छ। नाम चलेका फिल्मलाई नै लगानी उठाउनसमेत धौधौ परेको देखिएको छ।

फिल्म लेखक तथा साहित्यकार उपेन्द्र सुब्बाको डेब्यु निर्देशनमा बनेको फिल्म जारीले उत्साहजनक र नपत्याउँदो व्यापार गरेर चमत्कार प्रदर्शन गरिरहेका बेला त्यसपछि बजारमा आएका फिल्मले भने असोचनिय रुपमा निराशाजनक व्यापारको रेकर्ड देखाएको होे। नाम र ब्रँन्डकै कारण अघिल्ला सिरिजमा मन पराइएको नाईं नभन्नु लको पछिल्लो संस्करण नाईं नभन्नु ल ६ ले यतिसम्म निराशाजनक व्यापार गरेको छ कि यसको अर्को सिरिज नाईं नभन्नु ल ७ बनाउने तयारीलाई नै प्रभावित पार्ने सम्भावना देखिएको छ।

त्यसैगरी, अघिल्लोपटक शानदार व्यापार गरेर देखाएको प्रसादको पछिल्लो संस्करण प्रसाद २ ले पनि सोचेजस्तो व्यापार त गरेन नै, निर्माण आरम्भ भएदेखि नै लेनदेनको कारण विवादमा परेको यसका निर्मातालाई बजारमा तिर्न बाँकी करोडौं रुपियाँ कसरी तिर्ने भन्ने चुनौती थपिएको छ। उपन्यसाकार स्व. ईश्वर मानन्धरको कृतिमा आधारित कैदीको पत्र त झन् हलमा आएको केही समयमै उत्रिएको छ। पछिल्लो समयमा बजारमा आएर निराशा दिएका यी फिल्म कथावस्तु र प्रस्तुतिसँगै प्रचार प्रसारमा गरिएको बेवास्ता र लापरवाहीका कारण औसत व्यापार गर्नसमेत असमर्थ भएको पाइएको छ। कुनै पनि फिल्मले दर्शकलाई हलसम्म तान्नका लागि कम्तीमा दर्शकलाई त्यो फिल्म कुन मितिमा लाग्दैछ भन्ने बारे जानकारी हुनुपर्दछ। तर, पछिल्लो समयमा आएका प्रायः फिल्मले यसमा गरेको चरम लापरवाही सम्बन्धित फिल्मका लागि मह∫गो सावित भएको छ। प्रचार+प्रसारकै कारण दर्शक हलसम्म नपुग्दा निर्माताहरु लगानी उठाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् भने यिनैमध्ये धेरैजसो फिल्म नेपाली दर्शकलाई यतिसम्मको भए पुग्छ भन्ने हेपाहा प्रवृत्तिबाट फिल्म निर्माण गरेका कारण दर्शकको रोजाइमा नपरेको देखिएको छ।

किशोर किशोरी पुस्ताको प्रेम र परिवारको कथावस्तुमा बनेको नाईं नभन्नु ल यसैको शिकार भएको छ। जसका कारण आशिर्वाद बराल र आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्मलाई प्रियंका कार्की, केकी अधिकारी, सरोज खनालजस्ता कलाकारको उपस्थितिले पनि जोगाउन सकेन। उता अघिल्लोपटक दिनेश राउतले वाहवाही बटुलेको प्रसादको नयाँ संस्करण प्रसाद २ लाई सुदर्शन थापाले अघिल्लो संस्करणजस्तो चुस्त र लोभलाग्दो बनाउन सकेनन् भने विपिन कार्की, केकी अधिकारी, अर्पण थापाजस्ता कलाकारको उपस्थितिले पनि अन्तरजातीय विवाह गरेर गाउँबाट भागेको जोडीले राजनीति र समाजका अवरोधसँग गर्नुपरेको संघर्षको कथाको फिल्मलाई बलियो रुप दिन नसकेपछि दर्शकले रुचाएनन्। त्यसैगरी, बेलायतको नेपाली समुदायमा हुने त्रिकोणात्मक सम्बन्धमा आउने उतारचढावको कथा बोकेको कैदीको पत्रलाई निर्देशक सनमकुमार बैरागले दर्शकको रुचिको फिल्मका रुमा पेश गर्न सकेनन्। प्रचार प्रसारको कमी र कमजोर प्रस्तुतिका कारण नाईं नभन्नु ल ६ हलमा लागेको पहिलो सातामै उत्रिन पुगेको छ। बक्स अफिसको तथ्यांकअनुसार फिल्मले साता भरिमा केवल पाँच लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। त्यस्तै प्रसाद–२ को पहिलो साताको कमाइ ७० लाख रुपैयाँ ग्रस कलेक्सन देखिएको छ। दोस्रो सातामा समेत यसले एक करोड रुपैयाँ पनि कमाइ गर्न सकेको देखिएन। बक्स अफिस रेकर्डअनुसार फिल्मले गत शनिबारसम्म केवल ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

अघिल्लो शुक्रबार मात्र बजारमा आएको डान्स डझामामा आधारित धिरज मगर र जसिता गुरुङ स्टारर ज्याकी ः आई एम ट्वान्टी वानले पनि सोचेजस्तो व्यापार गर्न सकेन। फिल्मले नयाँपनको स्वाद दिने कोशिष गरे पनि दर्शकका लागि भने यो रुचिकर सावित हुन सकेन। बक्स अफिस रेकर्डअनुसार फिल्मले तीन दिनमा केवल ३५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पछिल्लो समयमा बजारमा आएका यी फिल्मले गरेको निराशाजनक व्यापारलाई हेरेर फिल्म व्यवसायीले निर्माणमा थप मेहनत गनुपर्ने तथा प्रचार प्रसारमा लापरवाही गर्न नहुने निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्