सहायक श्रीमानले जापानबाट पायो १ करोड ३० लाख सहयोग



नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र सहायक श्रीमान (को हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ भने क्यानडामा पनि उत्कृष्ट डकुमेन्टझी अवार्ड जित्न सफल भएको छ।

गणेश पाण्डेद्वारा निर्देशित को–हजबेन्डले जापानको क्युसु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा एक लाख अमेरिकी डलर (एक करोड ३० लाख नेपाली रुपैंया बराबर) को फिल्म फन्डिङ जितेको हो। यसका साथै, एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको पाण्डेले जानकारी गराएका छन्।

मेहोदो महोत्सवमा एक सय २२ देशका ३५ सय ३३ फिल्म प्रतिस्पर्धामा थिए। अन्तिम प्रतिस्पर्धामा को–हजबेन्डले यो पुरस्कार जितेको उनले बताए। अप्रिल १९ बाट शुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहमा को–हजबेन्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट आप्mना कुरा राखेका थिए।

यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु। नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैंमा गर्वको कुरा हो। यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो, निर्देशक पाण्डे भन्छन्। निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो। ञयो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछु उनले भने।

यसैगरी, को–हजबेन्डले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ। क्यानडाको नर्थबे अन्टारियोमा सम्पन्न गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेन्डले उत्कृष्ट पुरस्कार पाएको हो। को–हजबेन्डले यसअघि पनि अमेरिका, भारत, रसिया, स्लोभाकियालगायतका देशमा अवार्ड जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस्