चलचित्र पत्रकारिता सम्मान र पुरस्कारको घोषणा



चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिकोत्सवका अवसरमा सात जनालई पत्रकारिता सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।

आगामी जेठ ७ गते राजधानीमा हुने कार्यक्रममा संघका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष शान्तिप्रियलाई नगद ५५ हजार पाँच सय ५५ रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० प्रदान गर्ने आइतबार बसेको बैठकले निर्णय गरेको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी गराए। त्यसैगरी, पत्रकार तुलसी गिरी भावुक र चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० प्रदान गरिने भएको छ। त्यस्तै, जनही ५१ हजार रुपियाँ नगदसहित कुबेर डंगोल र दीपज्योति थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०, श्रृष्टि पोखरेललाई एउटा ल्यापटपसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० तथा संघको शाखाबाट सिफारिस भएकामध्ये २५ हजार रुपियाँ नगदसहित चितवन शाखाका निवर्तमान अध्यक्ष रवी अधिकारीलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्