वाल कुमारी वन क्षेत्र सरसफाइ 



 ललितपुर । 

ललितपुर महानगरपालिका–१८ सैबु भन्ज्याङ स्थित श्री वालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वन क्षेत्रको  सर सफाइ कार्यक्रम आयोजना गरेको छ । डिभिजन वन कार्यालय र  मच्छिन्द्र सब डिभिजन वन कार्यालयको सहयोगमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा २ हेक्टर सल्लाको बनक्षेत्रको सफाइ गरिएको थियो ।

सरसफाइ कार्यक्रममा  डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, मच्छिन्द्र सब डिभिजन वन कार्यालयका प्रमुख अनुपा घिमिरे, वडा नं १८ का अध्यक्ष दामोदर खड्काको सहभागिता रहेको सरसफाइ कार्यक्रममा सो क्षेत्रको फोहोर व्यवस्थापन गर्न सहयोग गरिहेको नेप्से म्याकले फोहोर ढुवानी र व्यवस्थापन गरेको थियो ।

सफाइ कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख भण्डारीले महानगर क्षेत्रमा रहेको श्री वालकुमारी वनक्षेत्रको संरक्षण गर्न आव्हान गर्नुभयो । उहाँले पर्यापर्यटन क्षेत्र विकासको लागि कार्यालयले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो । भन्नुभयो– हामीलाई अक्सिजन दिएर बचाउने वनक्षेत्रको संरक्षण गर्नु हामी सबैको  कर्तव्य र दायित्व हो ।

करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वन क्षेत्रमध्य शनिबार २ हेक्टर क्षेत्रको पूर्ण सरसफाइ गरेको थियो । सफाइ कार्यक्रममा बोल्दै वडा अध्यक्ष  दामोदर खड्काले ललितपुर महानगरपालिको गौरवको रुपमा रहेको वन क्षेत्रलाई संरक्षण गर्न वडाको दायित्व भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो–हाम्रो वडाको गौरवको रुपमा रहेको यस क्षेत्रमा पर्याय पर्यटन विकास गर्न वडाले सबै सहयोग गर्नेछ । उहाँले वन क्षेत्रमा पर्यटन भित्र्याउन विभिन्न योजना अघि बढाउने बताउनुभयो ।  भन्नुभयो–वालकुमारी वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न योजना सहित बजेटको व्यवस्था गरिनेछ ।

सफाइ कार्यक्रममा श्री वालकुमारी सृजना क्लब, वालकुमारी आधारभूत विद्यालय, निर्मल , अस्मिता र श्रीकुल बोर्डिङ स्कुलका शिक्षक र  विद्यार्थीको सहभागिता थियो । त्यस्तै स्थानीय सिद्देश्वर र वत्सलादेवी महिला समूह, श्री वालकुमारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी , विभिन्न गुठी, वाल कुमारी क्लबका पूर्व अध्यक्ष लगायतको उपस्थिति थियो ।

सरसफाइ कार्यक्रममा करिब २ ट्रक फोहोर सङ्कलन भएको वन समूहका अध्यक्ष किशोर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार ५ हेक्टर क्षेत्रफलमा रहेको वन क्षेत्रको विकास गर्न डिभिजन वन कार्यालय, मच्छिन्द्र सब डिभिजन वन कार्यालय, वडा कार्यालय, स्थानीय वालकुमारी क्लब, विद्यालयको पूर्ण सहयोग रहेको बताउनुभयो । उहाँले  सर सफाइ कार्यक्रममालाई निरन्तरता दिने जानकारी दिनुभयो ।

भन्नुभयो–वन क्षेत्रलाई पर्यापर्यटनमा विकास र बिस्तार गर्ने योजना अनुसार सरसफाइ कार्यक्रम आयोजना गरेको बताउनुभयो । वालकुमारी  सामुदायिक वन उपभोक्ता समूहले सफाइ भएको क्षेत्रमा साइकल ट्रेल निर्माण सम्पन्न गरेको छ । साइकल ट्रेलको सोमबार उद्घाटन हुने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्