कैदीको पत्रबाट दंग कुनाल र सलिना



काठमाडौं ।

शुक्रबारबाट रिलिज फिल्म ‘कैदीको पत्र’ले शुक्रबार बिहान काठमाडाैँमा विशेष शो गरेको छ । फिल्म हेरेपछि दर्शक तथा फिल्मकर्मीले फिल्म मनपराएको बताएका छन् । नयाँ कलाकारको काम, नेपाली फिल्ममा विदेशी कलाकार साथै स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा र प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो फिल्मलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । निर्देशक बैरागले आफुले लामो समय लगाएर बनाएको फिल्ममा दर्शकको रुचि राखेकोमा खुशी व्यक्त गरे । बिशेष शो हेरेपछि प्रमुख कलाकारद्वय कुनाल विश्व र सलिना थापा दंग देखिए ।
यस फिल्ममा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ ।

प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ । यो फिल्ममा समावेश सबै गीतमा शब्द, फिल्मको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन् । साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो फिल्म बनाइएको हो ।

यस फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।

रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको फिल्ममा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्